काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज अन्तर पार्टी निर्देशन (अपानि)–४ जारी गर्नुभएको छ । सचिवालय र केन्द्रीय कमिटी बैठकको निर्णयका आधारमा अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनको समिक्षादेखि आगामी निर्वाचनमा खेल्नुपर्ने समग्र भूमिकालाई बुँदागत रुपमा राख्दै आज अपानि–४ जारी गर्नुभएको हो ।

अध्यक्ष ओलीले जारी गर्नुभएको अपानिमा स्थानीय निर्वाचनको समग्र मतपरिणामको बिश्लेषण गर्दै महागठबन्धनका बावजुद एमालेले प्राप्त गरेको सफलता उत्साहजनक रहेको र आगामी निर्वाचनमा बिजयी हुने आधार प्रष्ट पारेको उल्लेख गर्नुभएको छ ।

‘ हाम्रो पार्टी विरुद्धको चौतर्फी घेराबन्दी, सत्तापक्षीय पाँच दलको गठबन्धनमात्रै होइन, कतिपय ठाउँमा खडा गरिएको कथित महागठबन्धन अर्थात हाम्राविरुद्ध भएभरका सबै दलहरु एक ठाउँमा उभिएको परिस्थिति, राज्यसत्ताको चरम दुरुपयोग, अदृश्य स्रोतबाट बगाइएको रकमको खोलो र पार्टीविरुद्ध चलाइएको गलत र भ्रामक सूचना (मिस इन्फर्मेशन र डिसइन्फर्मेशनको) को बाढीका बीचमा पनि नेकपा (एमाले) मुलुकको सर्वाधिक लोकप्रिय र जनाधारयुक्त पार्टीका रुपमा स्थापित हुनु हाम्रो महत्वपूर्ण सफलता हो,’ अपानिमा भनिएको छ ।

यस्तो छ निर्वाचन परिणामबारे अपानिमा ब्याख्या

स्थानीय निर्वाचन सम्पन्न भएसँगै संविधानको अपव्याख्या गर्दै स्थानीय तहलाई रिक्त राख्ने, संविधान र लोकतन्त्रलाई जगैदेखि कमजोर बनाउने र साधनस्रोतको दोहन गरेर सत्ता गठबन्धनलाई लाभ पुर्याउने षड्यन्त्र परास्त भएको छ ।

निर्वाचित जनप्रतिनिधिहरुले पद बहाल गरेर काम सुरु गरेसँगै स्थानीय तहबाटै राज्यको सेवासुविधा प्राप्त गर्ने जनताको अधिकार पुनस्र्थापित भएको छ र आधारभूत लोकतन्त्र बलियो भएको छ । निर्वाचन सम्पन्न गराउन नेकपा (एमाले) ले खेलेको हस्तक्षेपकारी र दबाबमूलक भूमिकाले सकारात्मक परिणाम दिएको छ ।

हाम्रो पार्टी विरुद्धको चौतर्फी घेराबन्दी, सत्तापक्षीय पाँच दलको गठबन्धनमात्रै होइन, कतिपय ठाउँमा खडा गरिएको कथित महागठबन्धन अर्थात हाम्राविरुद्ध भएभरका सबै दलहरु एक ठाउँमा उभिएको परिस्थिति, राज्यसत्ताको चरम दुरुपयोग, अदृश्य स्रोतबाट बगाइएको रकमको खोलो र पार्टीविरुद्ध चलाइएको गलत र भ्रामक सूचना (मिस इन्फर्मेशन र डिसइन्फर्मेशनको) को बाढीका बीचमा पनि नेकपा (एमाले) मुलुकको सर्वाधिक लोकप्रिय र जनाधारयुक्त पार्टीका रुपमा स्थापित हुनु हाम्रो महत्वपूर्ण सफलता हो ।

निर्वाचनमा काङ्ग्रेसले आफू बलियो भएको पालिका (१३५) मा एक्लै लड्ने, एमालेसँग आफू प्रतिस्पर्धी रहेको पालिका (३०७) मा आफूलाई सहज हुने एक या एकभन्दा बढी दलसँग आंशिक गठबन्धन बनाउने र नेकपा (एमाले) बलियो भएका ३११ पालिकामा एमालेबाहेकका सबै दलको पूर्ण या ‘महागठबन्धन’ गर्यो । यस नीतिबाट उसले अधिकतम लाभ लिएको पनि देखियो । कुल विजयी सिटमध्ये २० प्रतिशतमात्रै एक्लै प्रतिस्पर्धाबाट जीत हासिल गरेको काङ्ग्रेसले गठबन्धनबाट अधिकतम लाभ लिन सफल भयो । गठबन्धनका अरु दलहरुलाई कुनै पनि हालतमा एमालेसँग तालमेल हुन नदिने नीति लिएको काङ्ग्रेसले कतिपय ठाउँमा एमालेसँग पनि तालमेल गर्न अग्रसर भयो । सारमा, काङ्ग्रेस जसरी पनि आफूले जित्ने कुरामा केन्द्रित भयो ।

४१ प्रतिशतभन्दा बढी स्थानमा भएको महागठबन्धनका विरुद्धको प्रतिस्पर्धामा हाम्रो पार्टी एक्लैले ४१ प्रतिशत मत हासिल गरेको छ । ४० प्रतिशतभन्दा बढी स्थानमा भएको आंशिक गठबन्धनविरुद्धको प्रतिस्पर्धामा हाम्रो पार्टीलाई ३१ प्रतिशतभन्दा बढी लोकप्रिय मत प्राप्त भएको छ । तुलनात्मक रुपमा हाम्रो जनाधार कम रहेको १८ प्रतिशत स्थानीय तहमा समेत हाम्रो जनमत २४ प्रतिशतभन्दा माथि छ । मधेस प्रदेशमा दुईभन्दा बढी दलका बीचमा मत विभाजन भएको कारणले पनि हाम्रो मत त्यहाँ केही कम देखिएको हो ।

तर माओवादी केन्द्र र माधव नेपाल समूह भने एमालेलाई हराउने मुख्य उद्देश्यमा केन्द्रित भए । माओवादी केन्द्रको यस निर्वाचनमा अघिल्लोको तुलनामा प्रमुख/अध्यक्ष पदको सिट सङ्ख्यामा केही (१५) बृद्धि गरे पनि लोकप्रिय मतमा भने ५ प्रतिशतभन्दा बढी घटेको छ । झण्डै २० प्रतिशत सांसद र करिब १० प्रतिशत स्थानीय जनप्रतिनिधि लिएर चोइटिएको माधव नेपाल समूह यस निर्वाचनमा ४ प्रतिशतको हाराहारीको लोकप्रिय मत र कूल निर्वाचित जनप्रतिनिधिको सङ्ख्या ९८७ मा सीमित हुन पुगेको छ । तर यस असफलताका बाबजुद निर्वाचनमा आफू सफल भएको दाबी गर्ने यी दुवै समूह बस्तुतः नेपाली कम्युनिष्ट आन्दोलनलाई कमजोर र समाप्त पार्ने दक्षिणपन्थी शक्तिहरुको औजारमा स्खलित हुन पुगेको स्पष्ट भएको छ ।

निर्वाचनमा केही सिट प्राप्तिका लागि यी दुवै समूहका उमेद्वारहरु नेपाली काङ्ग्रेसको चुनाव चिन्हमा समेत लड्न तयार हुनुले उनीहरुको राजनीतिक विचलनलाई स्पष्ट पारेको छ । त्यसमाथि यतिबेला कम्युनिस्ट आन्दोलनको प्रमुख उद्देश्य समाजवादको आधार निर्माण गर्नु रहेको बेला त्यसका विरुद्धको प्रमुख शक्ति नेपाली काङ्ग्रेससँग घाँटी जोडिन पुग्नु आन्दोलनप्रतिको गद्दारी हो भन्ने कुरा पनि यस निर्वाचनबाट प्रमाणित भएको छ ।

विगत निर्वाचनमा मधेस प्रदेशमा सबैभन्दा ठूलो दलका रुपमा देखापरेका जसपा र लोसपा दुवैका प्रभाव खस्किएको छ । मधेस प्रदेशमा यी दुवै दललाई पछाडि पारेर नेकपा (एमाले) दोस्रो ठूलो दलको रुपमा उदय हुनु तराई–मधेसमा बदलिएको शक्ति सन्तुलनको द्योतक र क्षेत्रीयतावादी सङ्कीर्ण राजनीति कमजोर बन्दै गरेको सङ्केत पनि हो ।

निर्वाचनमा काठमाडौं महानगरपालिका र धरान तथा धनगढी उपमहानगरमा स्वतन्त्र उमेद्वारहरुले नगर प्रमुखमा विजय हासिल गरेका छन । स्वतन्त्र उमेद्वारहरुको यस विजयका पछाडी चलायमान सहरी जनमत, मुख्य पार्टीहरुका कतिपय कमजोरी र नयाँ प्रयोगमा रमाउने युवाहरुको मनोविज्ञानलगायत विषयहरु देखिन्छन । कतिपयले यसलाई लोकतन्त्रकै असफलताको रुपमा अपव्याख्या गर्न खोजेका छन् र कतिपयले मुख्य राजनीतिक पार्टीहरुलाई कमजोर गर्ने अस्त्रको रुपमा प्रयोग गर्न पनि प्रयास गरिरहेका छन् । हामीले मतदाताको छनोटको स्वतन्त्रतालाई सम्मान गर्नुपर्छ, विजयी जनप्रतिनिधिहरुको कामलाई नजिकबाट नियाल्नुपर्छ र यसबाट कतिपय पाठ सिक्नु पनि पर्छ । तर स्वतन्त्रलाई दलीय प्रणालीको विकल्पका रुपमा प्रस्तुत गर्ने कुरालाई भने खण्डन र आलोचना गर्नुपर्छ ।

निर्वाचन परिणाम
७ सय ५२ स्थानीय तहको अन्तिम नतिजासँगै नेपाली काङ्ग्रेसले ३ सय २९ पालिकाका प्रमुख/अध्यक्ष जितेको छ । नेकपा (एमाले) ले २ सय ५, नेकपा माओवादी केन्द्रले १ सय २१, जनता समाजवादी पार्टी (जसपा)ले ३०, नेकपा एकीकृत समाजवादी (एस) ले २०, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले १६ र अन्य पार्टी तथा स्वतन्त्र उमेद्वारले ३१ पलिकामा प्रमुख/अध्यक्ष जितेका छन् ।

सिट सङ्ख्याको आधारमा २०७४ को निर्वाचनमा नेकपा (एमाले) ले प्रमुख/अध्यक्ष पदको ३९ प्रतिशत सिट जितेको थियो भने नेपाली काङ्ग्रेसले ३५ प्रतिशत जितेको थियो । २०७९ को निर्वाचनमा भने काङ्ग्रेसले ४३.७ प्रतिशत सिट र एमालेले२७.३ प्रतिशत सिट जितेको छ ।
उपप्रमुख/उपाध्यक्षमा नेपाली काङ्ग्रेसका ३००, नेकपा (एमाले) का २४० र माओवादी केन्द्रका १२८ जना प्रतिनिधि विजयी भएका छन् ।
कुल ६ हजार ७४३ वडा अध्यक्षमध्ये निर्वाचित भएका ६ हजार ७३३ वडा अध्यक्ष पदमा नेपाली काङ्ग्रेसका २ हजार ६६५, नेकपा (एमाले) का २ हजार १३० र माओवादी केन्द्रका १ हजार ५३ वडा अध्यक्ष निर्वाचित भएका छन् ।

कुल ३५ हजार ४५ निर्वाचित जनप्रतिनिधिमध्ये नेपाली कांग्रेसले कुल १३ हजार ७५८, नेकपा एमालेले ११ हजार ८९३ र माओवादी केन्द्रले ५ हजार ४५ पदमा जित हासिल गरेका छन् । देशभर कूल निर्वाचित जनप्रतिनिधि सङ्ख्याको काङ्ग्रेसले ४० प्रतिशत, एमालेले ३४ प्रतिशत र माकेले १४ प्रतिशत पदमा जित हासिल गरेका छन् । जसपा ४, एस ३, लोसपा २, राप्रपा १ र स्वतन्त्रसहित अन्यको निर्वाचित जनप्रतिनिधिहरुको २ प्रतिशत छ ।

यो निर्वाचनमा प्रतिस्पर्धा गर्ने पार्टीमध्ये २४ वटा पार्टीका उमेद्वारले कुनै न कुनै पदमा जितेका छन् । पार्टीहरुले प्राप्त गरेको लोकप्रिय मतको विश्लेषणबाट निस्कने निष्कर्ष भने विजयी जनप्रतिनिधिको (सिट) सङ्ख्या भन्दा पृथक खालको छ । अघिल्लो निर्वाचनमा पहिलो स्थानमा रहेको नेकपा (एमाले) पालिकाका प्रमुख/अध्यक्षले प्राप्त गरेका समग्र मतको विश्लेषण गर्दा यस निर्वाचनमा पनि पहिलो स्थानमा कायमै छ ।
एमालेले अघिल्लो निर्वाचनमा सदर कूल मतको एक तिहाई मत (३३%) हासिल गरेको थियो भने यस निर्वाचनमा लोकप्रिय मतमा एक प्रतिशत (३४%) वृद्धि गरेको छ । मत सङ्ख्याका हिसाबले अघिल्लो निर्वाचनको तुलनामा ६ लाख ८१ हजार २५४ र प्रतिशतमा २१.८ प्रतिशतले जनमत बृद्धि भएको छ ।

दुवै निर्वाचनमा नेपाली काङ्ग्रेस दोस्रो स्थानमा रहिआएको छ । २०७४ को निर्वाचनमा ३२.९ प्रतिशत मत पाएको काङ्ग्रेसले यस निर्वाचनमा ३३.३ प्रतिशत मत पाएको छ । यो मत अघिल्लो निर्वाचनमा पाएको मतभन्दा ६ लाख १९ हजार १०५ अर्थात् १९.९ प्रतिशतले बढी हो ।

नेकपा माओवादी–केन्द्र दुवै निर्वाचनमा तेस्रो स्थानमा छ । तर उसको मत एमाले र काङ्ग्रेसभन्दा निकैकम छ । अघिल्लो निर्वाचनमा पाएको १७ प्रतिशत लोकप्रिय मत खस्किएर यस निर्वाचनमा करिब १२% मा सीमित भएको छ । माओवादी केन्द्रको लोकप्रिय मत अघिल्लो पटक पाएको मतभन्दा (२ लाख ६९ हजार ८५३) झन्डै १७% ले घटेको छ ।

नेकपा (एमाले)बाट चोइटिएर बनेको नयाँ दल नेकपा (एस) ले ४% मात्र मत पाएको छ । जनता समाजवादी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने अघिल्लो निर्वाचनको तुलनामा प्रगति गरेको देखिए पनि अन्य साना दल भने खुम्चिँदै गएका देखिन्छन ।

प्रतिक्रिया दिनुहोस !