चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी रत्ननगर नगरसमितिले पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सवका अवसरमा केक काटेर चिरायुको कामना गरेको छ । बिहीबार बेलुकी ७ बजे रत्ननगर–१, गैँडाचोक (सौराहाचोक)मा राप्रपाले जन्मदिन विशेष कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा राप्रपा बागमती प्रदेश सहसचिव मधुपकुमार भट्टराई (माधव), राप्रपा केन्द्रीय वाणिज्य समन्वय विभागका सदस्य हरि अधिकारी, चितवन क्षेत्र नं १ का अध्यक्ष बलराम खनाल, जिल्ला अध्यक्ष रुद्र ढकाल, नगरअध्यक्ष गोविन्दप्रसाद अधिकारी, नगरप्रवक्ता सन्तोष तामाङलगायतको उपस्थिति रहेको थियो ।

दलका नेताहरुको अकर्मण्यताका कारण मुलुकले संकट बेहोर्नुपरेको र व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा परिवर्तन नभएकोले देशमा राजा ज्ञानेन्द्रको आवश्यकता पछिल्ला दिनहरुमा जनताले अनुभूति गर्न थालेको क्षेत्र नं १ का अध्यक्ष बलराम खनालले बताए ।

राजा ज्ञानेन्द्र जनताको मनमनमा रहेको अनुभूति जनअभिमतबाट पुष्टि हुँदै गएको भन्दै उनले खर्चिलो व्यवस्था धेरै वर्ष नटिक्ने ठोकुवासमेत गरे ।

राप्रपा नगरसमितिले यसअघि पेट्रोलियम पदार्थ, खाद्यान्नलगायतको मूल्य वृद्धिविरुद्ध विरोध प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !