काठमाण्डाै ।  प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको सरकार बनेपछि कुर्सीको समस्यालाई सामान्यरुपमा लिनुपर्ने बताउनुभएको छ ।

मङ्गलवार काठमाण्डौमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको स्व.नेता गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनमा भएका राजनीतिक समस्यालाई सामान्यरुपमा लिनुपर्ने बताउनुभएको हो ।

उहाँले एउटै पार्टीमा पनि समस्या हुने गरेको भन्दै गठबन्धनमा आएका कुर्सीका समस्याहरुलाई सामान्य रुपमा लिन आवश्यक रहेको बताउनु भयो । प्रधानमन्त्री देउवाले मोरङको विराटनगरमा रहेको भवनलाई स्व. नेता गिरिजाप्रसाद कोइरालाको नाममा सङ्ग्रहालय बनाउने कुरा स्वागतयोग्य रहेको बताउनु भयो । उहाँले सङ्ग्रहालय बनाउने कुरामा सरकारले सहयोग गर्ने पनि प्रतिबद्धता जनाउनु भयो ।

प्रधानमन्त्री देउवाले गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण गर्न पाउँदा खुशी लागेको बताउनु भयो । उहाँले स्व. नेता कोइरालाले दलहरुबीच सहकार्य र सहमति गरेर अघि बढ्नुपर्ने कुरा बारम्बार भनिरहने उल्लेख गर्दै आज पनि सहमति र सहकार्यको कुरा सान्दर्भिक रहेको बताउनु भयो ।

प्रधानमन्त्री देउवाले नेपाल ट्रेड युनियन कांग्रेसको कार्यालयमा ट्रेड युनियन कांग्रेसका संस्थापक अध्यक्ष स्व. नेता गिरिजाप्रसाद कोइरालाको अर्धकदको शालिक अनावरण गर्नु भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस !