काठमाडौँ  ।  नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धन टुटे देश दुर्घटनातर्फ जाने दाबी गरेका छन् । मंगलबार काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण कार्यक्रममा नेता गुरुङले यस्तो बताएका हुन् ।

पाँच दलीय सत्ता गठन्धनलाई आकाशमा उडिरहेको विमानसँग तुलना गर्दै गुरुङले गठबन्धनरुपी विमान सुरक्षित अवतरण नगरे दुर्घटनातर्फ जाने बताएका थिए । साथै आगामी मंसिरपछि मात्रै उक्त ‘विमान’ले सुरक्षित अवतरण गर्नसक्ने उनको आकलन थियो ।

संविधानको रक्षा गर्नका लागि गठबन्धन सरकार बनेको र बीच बाटोमा पुगेर दलहरूले एकअर्काप्रति आरोप, प्रत्यारोप गर्न नहुने उनको तर्क थियो । ‘स्थानीय निर्वाचनमा हामी पाँच दल एउटै जहाज चढ्यौं । जहाज उडिसकेको छ । आकाशामा छ । तर ल्याण्डिङ भएको छैन । अब हामीले त्यो जहाजलाई सेफ ल्याण्डिङ कसरी गर्ने भनेर चिन्तन र चिन्ता गरिरहेको बेलामा त्यही जहाजभित्र बसेर साथीहरूले ङ्यारङ्यार ङुरङुर गर्न हुन्न भन्ने मेरो ठहर छ । जहाजलाई सेफ ल्याण्डिङ गर्नुपर्ने हाम्रो दायित्व छ । वा त हामीले जहाजबाट प्यारासुट जम्प गर्नुपर्छ । तर खुट्टा भाँचिन्छ कि भन्ने पनि हामीलाई त्रास छ,’ उपसभापति गुरुङले भनेका छन् ।

यस्तै आफूहरूको लक्ष्य संविधान जोगाउने भएकाले ‘जहाज ल्याण्डिङ’ नगर्दै आरोप प्रत्यारोप लगाउँदा अपरिपक्व राजनीतिज्ञ भएको प्रमाणित हुने उनको भनाइ थियो । उनले भने, ‘आउने मंसिरतिर, सायद मलाई लाग्छ हामी जहाज सेफ ल्याण्डिङ गर्नसक्छौं ।’

 

प्रतिक्रिया दिनुहोस !