काठमाडौँ ।  सरकारले शिक्षा क्षेत्रमा ठूलो रकम खर्च गरे पनि अपेक्षित परिणाम हासिल हुन सकेको छैन । सार्वजनिक शिक्षामा गरिएको लगानी ‘बालुवामा पानी’ जस्तै भएको भन्ने गुनासो पनि यत्रतत्र सुनिन्छ । पछिल्ला दिनमा त सरकारी विद्यालयमा अध्ययन गर्नेलाई उपेक्षित भावले हेर्ने प्रवृत्ति पनि रहेको छ । अर्कोतर्फ निजी विद्यालयमा बढेको चर्को व्यापारीकरणका कारण शिक्षामा असमानता पनि उत्तिकै हुर्कंदै गएको छ ।

यस्तो विषम अवस्थामा पनि केही सरकारी लगानीका विद्यालयले गरेको प्रगति भने लोभलाग्दो छ । अधिकांश सरकारी विद्यालयका शिक्षक पढाउने कामबाहेक अरु काममा बढी समय दिन्छन् भन्ने गुनासोका बीच केही विद्यालयले स्थापित गरेको मानक भने प्रशंसा योग्य नै रहेको छ । त्यस्तै मानक कायम गरेको विद्यालयको नाम हो भक्तपुरको नगदेशमा रहेको गणेश मावि ।

नेपाली समाजमा कुनै पनि काम गर्नुभन्दा पहिले शुभ रहोस् भनेर गणेशको पूजाअर्चना गरिन्छ । हो, सोही शुभकार्यको प्रेरकका नाममा स्थापना भएको गणेश मावि यतिबेला देशकै केही अब्बल विद्यालयमध्येमा पर्छ । सो विद्यालयमा पढाउनका लागि अभिभावकले रोइकराइ गर्नुपर्ने बाध्यता रहेको छ ।

सरकारी लगानीको विद्यालय भए पनि अभिभावक आफ्ना छोराछोरीलाई सोही विद्यालयमा पढाउनका लागि राजनीतिक नेतृत्वलाई सोर्सफोर्स लगाउन बाध्य छन् । तर त्यसले पनि काम गर्दैन । प्रवेश परीक्षामा उत्तीर्ण भएका विद्यार्थीले मात्रै सो विद्यालयमा प्रवेश पाउँछन् । कक्षाकोठाको अभाव छ । अन्य भौतिक संरचना समेत साघुँरो बन्दै गएको छ । तर हरेक वर्ष विद्यार्थी थपिनेक्रम बढ्दै गएको छ । हरेक कक्षाकोठा भरिभराउ छन् । त्यसको तुलनामा शिक्षक कम भए पनि स्थानीय अभिभावक सोही विद्यालयमा नै आफ्ना सन्ततिले भर्ना पाएहुन्थ्यो भन्ने चाहना राख्छन् ।

विसं २००८ मा स्थापना भएको सो विद्यालयले यसबीचमा हजारौँ विद्यार्थी उत्पादन ग¥यो । धेरैलाई शिक्षाको उज्यालो ज्योति दियो । भक्तपुरको नाम राख्यो र नगदेश भनेर चिनायो । गणेश माविले दिएको परिचयलाई धेरैले सिँगार्ने मौका पाए । आज सोही विद्यालय भक्तपुरकै अब्बल विद्यालयका रुपमा दर्ज हुँदा ती सबैलाई फेरि एकपटक आल्लादित बनाइदिएको छ ।

विद्यालयमा कूल एक हजार १२ जना विद्यार्थी छन् । त्यसमा पनि कक्षा १० सम्म विद्यार्थीको सङ्ख्या मात्रै ८०० छन् । वरिपरिका अभिभावकले निजी विद्यालयमा राखेका आफ्ना सन्तति धमाधम निकाल्दै गणेश माविमा ल्याउन थाले । सीमित साधन र स्रोतमा चलेको विद्यालयले थामीसक्ने अवस्था नै भएन । अत्यधिक चाप परेपछि विद्यालयले प्रवेश परीक्षा लिएर भर्ना लिएको विद्यालयका प्रधानाध्यापक केशवचरण श्रेष्ठको भनाइ छ ।

केशवचरणले सो विद्यालयमा अध्यापन गर्न थाल्नुभएको तीन दशक पूरा भयो । सुरुसुरुमा सरकारी विद्यालय बिग्रेकै होला त भने जस्तो लाग्थ्यो उहाँलाई पनि । ‘सरकारी काम कहिले जाला घाम’ भन्ने शैलीमा धेरैजसो विद्यालय अहिले पनि अधोगतितिर नै लागेको उहाँले पनि देख्नुभएको छ । “तर विद्यालय सुधार्ने जिम्मा हाम्रो हो, हामीले केही प्रयास ग¥याँै भने धेरै सुधार गर्न सकिन्छ र नाम राख्न सकिन्छ भन्ने मान्यताका साथ काम ग¥यौँ भने त्यसै दिनदेखि विद्यालयको गुणस्तर सुधार हुन्छ”, उहाँले भन्नुभयो, “यो मेरो दायित्व हो । हामी सरकारी कर्मचारी मात्रै होइनाँै, समाज सुधारक पनि हौँ भन्ने ठान्यौँ भने सुधार त्यहीँबाट सुरु हुन्छ ।”

यस विद्यालयले अङ्ग्रेजी माध्यममा कक्षा सञ्चालन गरिरहेको छ । सरकारले दिएको रकमबाट अपुग भए पनि विद्यालयले व्यवस्थापन गरेरै दिवा खाजाको कार्यक्रम निरन्तर चलाइरहेको छ । कूल ४३७ जना विद्यार्थीले दिवा खाजा खान्छन् । आगामी आवका लागि कक्षा ६ का विद्यार्थीलाई समेत खाजा खुवाउने सरकारको नीति आएकाले अब त्यो सङ्ख्या बढेर ५०० जना बराबर पुग्नेछ ।

कक्षामा पढाउनु छैन भने शिक्षक आफैँ भान्छामा पुग्छन् । कोही तरकारी काट्न थाल्छन् । कोही ग्यास बाल्न । कोही भाँडा पखाल्न थाल्छन् भने कोही पकाउन । विद्यार्थीले खाजा नखाइकन शिक्षकले खाजा पनि खाँदैनन् । रासस प्रतिनिधि विद्यालय परिसर पुग्दा शिक्षक र विद्यालयका कर्मचारी मिलेर विद्यार्थीलाई खाजा खुवाइरहेका थिए ।

विद्यार्थीको स्वास्थ्य परीक्षणका लागि नर्स उपलब्ध छ । विद्यालयको नियमित प्राथना हुने समयभन्दा ढिला आउने विद्यार्थीलाई मात्रै होइन, शिक्षकले समेत प्रवेश पाउँदैनन् । दिनभर सबैले देख्ने सार्वजनिक सूचना पाटीमा त्यस्ता शिक्षकको नाम राखिन्छ । यस्तो व्यवस्था गरिएपछि शिक्षकलाई समेत अनुशासनमा राख्न सहयोग पुगेको प्रअ केशवचरणको अनुभव छ । “मानिसलाई नैतिक अनुशासनमा राख्न सकियो भने धेरै काम गर्न सकिँदोरहेछ, लज्जित हुनुभन्दा तोकिएको समयभन्दाअगावै विद्यालय हातामा प्रवेश गर्नु राम्रो हो भन्ने भावनाको विकास भएको छ”, उहाँले भन्नुभयो ।

विद्यालय हातामा प्रवेश गरेपछि अङ्ग्रेजी माध्यममा पढाउने शिक्षकले विद्यार्थी, सहकर्मीसँग पनि अङ्ग्रेजीमा नै संवाद गर्नुपर्छ । विद्यार्थीलाई अनुशासित र मर्यादित बनाउन विद्यालयले दण्डरहित प्रणालीको विकास गरेको छ । विद्यार्थीलाई दण्ड दिएरभन्दा पनि गलत काम गर्नु हुँदैन भन्ने चेतनाको विकास गराउन अधिकतम प्रयास गरिन्छ । दण्डले विद्यार्थीमा नकारात्मक सोच विकास हुने र त्यसले झनै गलत मनोवृत्तिको विकास गर्ने भएकाले सकारात्मक ढङ्गबाटै सुधारमा जोड दिइएको छ ।

दश वर्ष पहिले अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्दा ठूलै पापड पेल्नुपरेको थियो । “एक निजी इस्टिच्युटबाट प्रशिक्षक ल्याएर भाषा कक्षा सञ्चालन गरियो । केही शिक्षकले सकिन्छ र ! भनिरहेका थिए तर हामीले सकिन्छ, गर्नैपर्छ भनेर सुरु ग¥र्यौ । आज हामी सफल भएका छौँ”, प्रअ श्रेष्ठको भनाइ छ ।

कोरोनाका कारण पछिल्ला दुई वर्ष शिक्षा क्षेत्र नराम्ररी प्रभावित भयो । गणेश मावि कहिल्यै पनि प्रभावित भएन । कुनै पनि दिन विद्यार्थीले पढन पाएनन् भन्ने गुनासो अभिभावकले सुन्नु परेन । अनलाइन माध्यमबाट हरेक दिन कक्षा चले । मोबाइल भएकाले सहजै पढ्न पाए । नभएकालाई समेत विद्यालयले वैकिल्पिक व्यवस्था ग¥यो । कोही समूहमा बसेर पढे भने कोही सामाजिक र व्यक्तिगत दुरी कायमै राखेर पढे । वरपरका निजी विद्यालयसमेत जुमबाट कसरी कक्षा सञ्चालन गर्ने भनेर गणेश माविका शिक्षकसँग सिक्न आएका थिए ।

एक निजी विद्यालयमा १५ वर्ष अध्यापन गराएका विजयचरण श्रेष्ठ यतिबेला सोही विद्यालयको सहायक प्रधानाध्यापक हुनुहुन्छ । नातामा केशवचरणको भाइ विजयचरण गरे हरेक कुरा सम्भव हुने रहेछ भन्ने कुरा आफूले गणेश माविमा आएपछि थाहा पाएको बताउनुहुन्छ । निजी विद्यालयलेभन्दा राम्रो र गुणतस्तरीय शिक्षा सरकारी विद्यालयले दिएको उहाँको दाबी छ ।

विद्यालयमा हरेक दिन प्राथना हुन्छ । प्रारम्भिक बाल शिक्षा र कक्षा १ का विद्यार्थीलाई कक्षामा नै सो कार्य गराइन्छ । विद्यार्थी घरबाट आयो कि आएन, कहाँ गयो, गृहकार्य समयमा ग¥यो कि गरेन वा उसलाई केही समस्या छ कि भनेर शिक्षकले मसिनो गरी हेर्छन् । विद्यालयमा नै ४८ वटा कम्प्युटर उपलब्ध छ । विज्ञान शिक्षाका लागि प्रयोगशाला छ । विद्यार्थीले सहजैरुपमा आफूले सिक्न मन लागेका कुरा सिक्न पाउँछन् ।

सरकारले विद्यालयलाई २२ जना शिक्षकको दरबन्दी दिएको छ । विद्यालयमा नर्स, सहयोगी कर्मचारीसहित २९ जना कार्यरत छन् । स्थान अभावले गर्दा कक्षा विभाजन गर्न सकिएको छैन । कूल ९० जनासम्म विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउनु परेका बाध्यता सुनाउनुहुन्छ विजयचरण । सरकारी विद्यालयलाई सबल र सक्षम बनाउन सकिए, निजी विद्यालय आफैँ व्यवस्थित हुने उहाँको तर्क छ ।

प्रारम्भिक बाल कक्षा र कक्षा १ का विद्यार्थीले घरबाट सिसाकलम, कापी ल्याउनु पर्दैन । अभिभावकसँग सामान्य शुल्क लिएर विद्यालय आफैँले उपलब्ध गराउँछ । विद्यार्थीलाई बोझ नपर्ने गरी खैल्दै पढ्दैको नीति लागू गरिएको छ । तल्ला र माथिल्ला कक्षा सबैमा उत्तिकै विद्यार्थीको चाप छ । विसं २०७० को प्रवेशिका परीक्षामा विद्यालयले सर्वोत्कृष्ट नतीजा ल्यायो । संगीता प्रजापतिले नेपालकै सर्वोत्कृष्ट नतिजा ल्याइन् । संगीता मणिपालबाट एमबिबिएस उत्तीर्ण भइसकेकी छिन् । अन्य वर्षको नतीजा पनि उत्कृष्ट छ, कोही विद्यार्थी अनुत्तीर्ण छैनन् ।

नजिकका सरकारी विद्यालय विद्यार्थी नभएर हैरान छन् । तर गणेश माविमा पाइला हाल्ने ठाँउसमेत नहुँदा पनि भर्ना पाउँ भन्दै रोइकराइ गर्दै आउने अभिभावकको सङ्ख्या उल्लेख्य छ । “हामीलाई त आएका जति सबै विद्यार्थी भर्ना गरौँ भन्ने नै छ तर कक्षा कोठा छैन, कहाँ राखेर पढाउने ?” केशवचरणले भन्नुभयो “विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई पनि त्यस्तै दबाब छ । तर हामीले अब नसक्ने नै भएका छौँ ।”

भक्तपुरको मध्यपुरथिमि नगरपालिकामा मात्रै १८ वटा सरकारी विद्यालय छन् । गणेश मावि नजिकै सिद्धिकाली, बोडे माविलगायतका छन् । उनीहरु औसत मात्रै छन् । सिद्धिकालीमा त विद्यार्थी सङ्ख्या नै कम छ । नेपालको संविधान जारी भएपछि हाल विद्यालय सञ्चालनको अधिकार स्थानीय तहलाई दिइएको छ । स्थानीय सरकारले अपेक्षाकृतरुपमा आफूलाई सहयोग नगरेको गुनासो सो विद्यालयको छ ।

कूल दुई रोपनी क्षेत्रफलमा फैलिएको विद्यालयलाई विस्तार गर्नुपर्ने र विद्यार्थीको चापअनुसार थप शिक्षक र कर्मचारी उपलब्ध गराउनुपर्ने आवश्यकता छ । पटकपटक माग गर्दासमेत अघिल्लो स्थानीय सरकारले सुनुवाइ नगरेको प्रअ केशवचरणको गुनासो छ । यसपटक स्थानीय सरकारले सहयोग गर्छु भनेकाले केही आशा पलाएको उहाँ सुनाउनुहुन्छ ।

विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसद घनश्याम खतिवडाले गणेश माविमा विद्यार्थीको चापका बारेमा प्रतिनिधिसभाको बैठकमा नै शिक्षामन्त्री देवेन्द्र पौडेलको ध्यानाकर्षण गराइदिनुभएको थियो । शिक्षामन्त्री पौडेलले पनि सो विद्यालयका बारेमा चासो राख्नुभएको छ । प्रतिनिधिसभाको बैठकमा समेत आफ्नो विद्यालयका बारेमा कुरा उठ्नुलाई सकारात्मकरुपमा लिएको सहायक प्रअ विजयचरणको भनाइ छ ।

यस विद्यालयमा कुनै पनि शिक्षकले राजनीति गर्न पाउँदैन । यहाँ आउने भनेको पढाउन आउने हो, अरु कुनै पनि विषयमा छुट छैन । कोही कसैले पनि ठगठाग गर्न पाउँदैन र बाहना निकालेर हिड्न पाउँदैन । प्रअ केशवचरण भन्नुहुन्छ, “हामीले शिक्षकसँग सम्झौता नै गरेका छौँ ।” कुन विद्यार्थी कक्षाकोठामा चल्यो, कुन शिक्षकले के पढायो, कसरी पढायो, सबै कुराको अनुगमन सिसीटिभी क्यामेरामार्फत प्रअले गरिरहेका हुन्छन् । “विद्यार्थी किन विद्यालय आएन, समस्या के हो भन्ने पनि निरन्तर अनुगमन गरेका हुन्छौँ । विद्यार्थीको मात्रै नभई शिक्षककोसमेत निरन्तर मूल्याङ्कन हुने भएकाले हामी सफल भएका छौँ”, प्रअ केशवचरण बताउनुहुन्छ ।

सरकारले सहयोग गरेको खण्डमा प्रारम्भिक बाल शिक्षापछि एलकेजी, युकेजीको कक्षा पनि सञ्चालन गर्ने सोच छ विद्यालयको । विसं २००८ मा स्थापना भएको विद्यालय २०३७ सालदेखि निमावि, २०४३ सालदेखि मावि र २०७४ देखि कक्षा १२ चलाएको हो ।

विसं २०७६ को चैतदेखि विद्यालयको नेतृत्व समाल्नुभएका केशवचरणको सोच छ, विद्यालयलाई अझै अब्बल बनाउने । विद्यालय व्यवस्थापन समितिले पनि विद्यालयमा शिक्षाको सुधारकाबाहेक अरु विषयमा चासो राख्दैन । सरकारले शिक्षकका लागि तलब भत्ताको व्यवस्था गरे पनि अन्य भौतिक पूर्वाधारका लागि बजेट उपलब्ध नगराइदिँदा त्यसको व्यवस्थापनमा ध्यानु दिनुपरेको उहाँको भनाइ छ ।

एउटै विद्यालयमा दाजुभाइ नै प्रअ र सहायक प्रअका रुपमा रहनुभएका केशवचरण र विजयचरणले रासससँग भन्नुभयो, “सरकारी विद्यालय पनि यस्तो बन्छ र बनाउन सकिन्छ भन्ने मानक हामी स्थापित गर्छौँ, हामीलाई खुला हृदयका साथ सहयोग होस् ।” सार्वजनिक शिक्षामा केही गराँै भन्ने आभास उहाँहरु दुवैको आँखामा देख्न सकिन्थ्यो । भक्तपुरका पुराना राजनीतिज्ञ एवं समाजसेवी कृष्णचरण श्रेष्ठका जेठा छोरा हुनुहुन्छ केशवचरण र माइला छोरा हुनुहुन्छ विजयचरण ।

सोही विद्यालयमा बिहानको सत्रमा अर्कै नाममा अर्को विद्यालय पनि सञ्चालन छ । उमेरले ८७ वर्ष लागे पनि कृष्णचरण आफँै पनि बिहान अर्थशास्त्र पढाउन पुग्नुुहुन्छ । छोराहरुले गणेश माविलाई गणेश मावि जस्तो बनाएका पितालाई पनि सन्तोष छ । सार्वजनिक शिक्षा राज्यको दायित्व हो । तर राज्यले राम्ररी हेर्न नसकेकामा उहाँको गुनासो छ । विद्यालय सञ्चालन गर्ने व्यवस्थापन समिति, त्यहाँ कार्यरत शिक्षक तथा कर्मचारी मात्रै इमान्दार हुने हो भने धेरै सुधार गर्न गर्न सकिने र हुने उहाँको दृढ विश्वास छ । कृष्णचरण भन्नुहुन्छ, “अन्यत्र पढ्ने र पढाउनेभन्दा राजनीति बढी हुँदा शैक्षिकस्तर हरेक वर्ष खस्कँदै गयो ।” अधिकांश विद्यालय अगाडि बढ्न नसक्नुको पछाडि व्यवस्थापन समितिले अनावश्यक हस्तक्षेप गर्नु पनि रहेको उहाँको भनाइ छ ।

जिल्लाकै नमूना विद्यालयका रुपमा स्थापित भएको सो विद्यालय जस्तै अरु विद्यालयलाई पनि बनाउने दायित्व त्यहीँका अभिभावक, शिक्षक र सरकारको हो । सरकारी विद्यालयको शैक्षिकस्तर हरेक वर्ष खस्किरहेका बेला गणेश माविले देखाएको उदाहरण अरु विद्यालयका लागिसमेत प्ररेणाको स्रोत बन्न सक्छ ।-रासस

प्रतिक्रिया दिनुहोस !