काठमाडौं ।  नेत्र विक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपाका चार नेताले पार्टीबाट राजीनामा दिएका छन्। बिहीबार एक संयुक्त विज्ञप्ति जारी गरेर पोलिटब्युरो सदस्य ओमप्रकाश पुनसहित चार जना नेताले राजीनामा दिएको घोषणा गरेका हुन्।

पुनसहित केन्द्रीय सल्लाहकार शंकरबहादुर खड्का, महाकाली इन्चार्ज दलबहादुर धामी र विशेष कमिटी सदस्य रमेश परियारले राजीनामा दिएका छन्। विज्ञप्तिमा भनिएको छ,‘हामी कमरेड किरण देखि कमरेड विप्लवको नेतृत्वमा पार्टी निर्माण तथा पुनर्निर्माण सँगसँगै यहाँसम्म आएको कुरा सर्वविदितै छ। अहिले पनि हामी सोही पार्टीको नीति र निर्णयमा पार्टीले दिएको जिम्मेवारीमा कटिबद्ध भएर नै आएका छौं । तर अब हामी अहिलेको बदलिँदो विश्व राजनीति र राष्ट्रिय राजनीतिलाई मध्यनजर गरी अबको राजनीतिक धारा र बाटो बदल्ने निर्णयमा पुगेका छौं।’

माओवादी धारलाई एकीकृत र ध्रुवीकृत गर्ने वस्तुगत आवश्यकता महसुस गरी त्यसकै प्रयास स्वरूप पार्टीबाट अलग भएको जारी विज्ञप्तिमा उल्लेख छ।‘नेपाल कम्युनिष्ट आन्दोलन, त्यसमा पनि महान जनयुद्धको जगमा खडाभइ हाल विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत र ध्रुवीकृत गर्ने व्यक्तिगत र सामूहिक पहलमा अधि बढ्नुपर्ने वस्तुगत आवश्यकतालाई महसुस गरी त्यसकै प्रयास स्वरूप हामीले आजकै मिति देखि कमरेड विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीबाट अलग हुने निर्णय गरेका छौं,’ विज्ञप्तिमा भनिएको छ।

विभाजन नभई एकतावद्ध र एकीकृत कम्युनिष्ट पार्टी निर्माणको दिशामा एकाकार हुन समेत उनीहरुले आह्वान गरेका छन्।

प्रतिक्रिया दिनुहोस !