चितवन । चितवनमा  पेट्रोलियम पदार्थको मूल्यवृद्धि, एसपिपी सम्झौता, रासायनिक मलको अभाव लगायतको विरोधमा नेकपा एमालेका भातृ संगठन अनेरास्ववियु र राष्ट्रिय युवा संघले  प्रदर्शन गरेका छन्।

भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पस अगाडि पूर्व–पश्चिम राजमार्गमा उनीहरूले विरोध प्रदर्शन गरेका हुन्। राजमार्ग अवरूद्ध गरेर उनीहरूले सरकारविरूद्ध नाराबाजी गरेका थिए। युवा तथा विद्यार्थीहरूले प्रधानमन्त्री र अर्थमन्त्रीको पुत्ला जलाएका थिए।

उनीहरूले पेट्रोलिय पदार्थको मूल्यवृद्धिको निर्णय फिर्ता लिन, महँगी नियन्त्रण गर्न, किसानलाई पर्याप्त रासायनिक मल उपलब्ध गराउन, बलात्कारीलाई सजाय दिन, एसपिपी सम्झौता खारेज गर्न, अर्थ मन्त्रालयको सिसिटिभी फुटेज सार्वजनिक गर्न माग गरिएका प्लेकार्ड बोकेका थिए। उनीहरूले करिब आधा घण्टा पूर्व–पश्चिम राजमार्ग बन्द गरे।

विरोध प्रदर्शनका क्रममा युवा संघका नेता अस्मिन घिमिरे कोरा कपडा लगाएर राजमार्गमा बसेका थिए। ‘मैले जनताका समस्या केही पनि नदेख्ने सरकार मृतसरह छ भनेर सांकेतिक रूपमा कोरा कपडा लगाएर विरोध गरेको हुँ,’ उनले भने।

अनेरास्ववियुका केन्द्रीय सदस्य प्रकाश आचार्यले सरकारले जनतालाई मर्का पर्नेगरी गरेका निर्णयहरू फिर्ता नलिँदासम्म आन्दोलन जारी रहने बताए।

प्रतिक्रिया दिनुहोस !