तनहुँ ।  तनहुँको व्यास नगरपालिका–७ र म्याग्दे गाउँपालिका–६ जोड्ने साँघेखेलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । नेपाल सरकार र म्याग्दे गाउँपालिकाको कूल रु ४३ लाख १० हजार ६१ को लागतमा उक्त पुल निर्माण गरिएको हो । नेपाल सरकारको ८५ प्रतिशत र म्याग्दे गाउँपालिकाको आन्तरिक स्रोतबाट १५ प्रतिशत बजेट विनियोजन भएसँगै निर्माण थालिएको खोला लामेरह पानी घट्टा झोलुङ्गे पुल निर्माण समितिका अध्यक्ष रेखबहादुर थापाले जानकारी दिनुभयो ।

विसं ०७८ चैत १३ गते सुरु गरी विसं ०७९ असार १५ भित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएकामा निर्माण कार्य अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । सठसठ्ठी मिटर लामो पुल निर्माणपछि दुई पालिकाका करिब पाँचसय मानिसहरु प्रत्यक्ष लाभान्वित हुने गैरसरकारी संस्था समन्वय समिति जिल्ला शाखाका झोलुङ्गे पुल कार्यक्रम संयोजक राजेश्वर हड्खलेले जानकारी दिनुभयो । गैरसरकारी संस्था समन्वय समितिले पुल निर्माणका लागि परामर्श र प्राविधिक सहयोगको भूमिका निर्वाह गर्दै आएको उहाँले बताउनुभयो । उक्त स्थानमा पुल नहुँदा बर्सेनि मानवीय क्षतिसमेत हुँदै आएकाले विगत लामो समयदेखि पुल निर्माणका लागि स्थानीयवासीले माग गर्दै आएका थिए । पुल निर्माणपश्चात् म्याग्दे गाउँपालिका–६ सर्वालाङ्गका बासिन्दाले एक घण्टा हिँड्नुपर्नेमा बाध्यता अन्त्य हुनाका साथै छोटो दूरीमा आवतजावत गर्न पाउने भएका छन् ।

क्यान्सर पीडितको उपचाराार्थ आर्थिक सङ्कलन

तनहुँ उद्योग वाणिज्य सङ्घको सक्रियतामा बिमलनगर बजार इकाइ समितिका सभापति क्यान्सरका बिरामी बरुण भट्टराईको उपचाराार्थ रकम सङ्कलन गरिएको छ । सङ्घको नवौँ कार्यसमिति बैठकको निर्णयले क्यान्सरका बिरामी भट्टराईको उपचारका लागि सहयोग जुटाउने उद्देश्यले रु एक लाख २५ हजार सङ्कलन गरेको हो ।

सङ्घका कार्यसमिति सदस्य एवं कर्मचारीहरुद्वारा रु ६० हजार ५०५, सङ्घमा आबद्ध भएका सातवटा बजार इकाइ र महिला उद्यमी विकास समितिद्वारा रु पाँच हजारका दरले रु ४० हजार र तनहुँ उद्योग वाणिज्य सङ्घका तर्फबाट रु २५ हजार गरी उक्त रकम सङ्कलन भएको हो । रकम सङ्कलन भइसकेकाले छिट्टै बिरामीका परिवारलाई हस्तान्तरण गर्ने योजना रहेको सङ्घकी कार्यकारी सचिव सीता गुरुङले जानकारी दिनुभयो । इकाइका सभापति भट्टराईको घुँडामा समस्या भएपछि शल्यक्रिया गर्दा निको नभएकाले पुनः जचाउन जाँदा क्यान्सर भएको पत्ता लागेको पारिवारिक स्रोतले जनाएको छ ।

त्यसैगरी उक्त बैठकले सङ्घको सभाकक्ष बाहिरको शौचालयलाई सार्वजनिक शौचालयका रुपमा प्रयोग गर्न पाउने निर्णयसमेत गरेको सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !