काठमाडौँ ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कलाकारलाई सरकारले सहयोग गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय जनसङ्गीत कलाकार सङ्घले आज आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले सरकारले कलाकारका समस्या पहिचान गरेर समाधान गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले मुलुकलाई अगाडि बढ्न सजिलो नभएको सुनाउँदै भन्नुभयो, “हामीजस्तो स्वाभिमान र स्वाधिनता भएको देशलाई अगाडि बढ्ने कुरामा विभिन्न व्यवधान खडा हुने गरेका छन् ।” आजको २१औँ शताब्दी बलको शताब्दी नभएर बुद्धिको शताब्दी भएको बताउँदै उहाँले न्याय र सत्यविपरीत राष्ट्रमाथि दुष्प्रभाव पर्न दिन नहुने उल्लेख गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो, “डराएर, धम्क्याएर, छक्याएर वा फकाएर कुनै पनि हिसाबले हाम्रो राष्ट्रियतामाथि प्रहार गर्न पाइँदैन ।”

पूर्वप्रधानमन्त्री ओलीले देशको हकको अधिकार, सार्वभौमसत्ता, स्वाभिमान र स्वतन्त्रताको रक्षाका निम्ति सबैलाई अगाडि उभिन आग्रह गर्नुभयो । उहाँले देशलाई माया गर्न सबैलाई आग्रह गर्नुभयो । नेता ओलीले नेपालकै चिकित्सकले मिर्गौला प्रत्यारोपण गरेर ब्युँझिदा मुलुकमा हामीले केही प्रगति गरेका छौँ भनेर आनन्द लागेको बताउनुभयो । उहाँले १२ वर्षअघि नेपालमा मिर्गौला प्रत्यारोपण सुरु नभएकाले भारतको नयाँ दिल्लीमा जानुपरेको बताउनुभयो । “बाह्र वर्षपछि नेपाल आफ्नै देशमा मिर्गाैला फेर्न पाएँ । त्यसले मलाई बेग्लै आनन्द अनुभूति भयो”, उहाँले भन्नुभयो ।-रासस

प्रतिक्रिया दिनुहोस !