काठमाण्डाै ।  मानसिक सन्तुलन गुमाएका एक व्यक्ति प्रसारण लाइनको टावर हुँदै तारमा पुगेपछि ६० मेगावाट क्षमताको त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाबाट उत्पादन बन्द भएको छ ।

नुवाकोटको ककनी नगरपालिका – ७ मा प्रसारण लाइनको तारमा मानसिक सन्तुलन गुमाएका एक व्यक्ति चढेपछि बिहान १० बजेदेखि आयोजना बन्द गरिएको विद्युत् प्राधिकरणका सुरेश बहादुर भट्टराईले  जानकारी दिनुभयो ।

‘ती व्यक्ति बिहान ९ बजेतिर टावरमा चढेको स्थानीयले देखेपछि हल्ला भयो, हामीले आयोजनाको उत्पादन बन्द गर्यौँ, दिउँसाेदेखि त उनी तारमै यताउता गरिरहेका छन्, उनी त्यहाँबाट नझरेसम्म आयोजना सञ्चालन हुँदैन’ भट्टराईले भन्नुभयो ।

आयोजनाबाट पूर्ण क्षमतामा बिजुली उत्पादन भइरहेको छ । त्रिशूली थ्री ‘ए’ बन्द हुँदा अहिले प्राधिकरणलाई विद्युत् व्यवस्थापनमा समस्या परेको छ । देशका केही ठाउँमा लोडसेडिङ गरिएको र भारतबाट आयात बढाइएको भट्टराईले जानकारी दिनुभयो ।

‘केही ठाउँमा लोडसेडिङ भइरहेको छ, केही ठाउँको लागि भारतबाट आयात बढाएका छौँ, एकजना मान्छेले गर्दा देशभरकै विद्युत् व्यवस्थापनमा गाह्रो पर्यो’ भट्टराईले भन्नुभयो । तारमा पुगेका व्यक्ति यताउता गरिरहेका छन्, उनलाई भुइँमा झार्न प्रहरीले अनेक कोसिस गर्दा पनि सफल भएको छैन ।

प्रतिक्रिया दिनुहोस !