गलेश्वर ।  म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटस्थित सरस्वती आधारभूत विद्यालयका शिक्षक÷शिक्षिका विद्यालयमा अध्ययनरत तीन असहाय र ११ अत्यन्त विपन्न परिवारका विद्यार्थीको अवस्था देखेर चिन्तित हुनुहुन्छ ।

अरुले दिएमात्र खान पाउने नभए विद्यालयले दिने दिवा खाजाको भरमा दिन बिताउन बाध्य कक्षा ३ मा अध्ययनरत बाबुआमाविहीन ११ वर्षीया अञ्जु परियार, साथीको घरमा आश्रय लिएका कक्षा ६ मा अध्ययनरत पुजन फगामी र बुबा आमा दुवैले अर्को विवाह गरेपछि एक्लो बनेकी कक्षा ४ मा अध्ययनरत सृष्टि विकको अवस्था अत्यन्त दयनीय रहेको विद्यालयले जनाएको छ ।

बगरफाँटको कोटखोलास्थित पर्ती जग्गामा सानो छाप्रो बनाएर बसेका अञ्जुका बुबा कलिराम परियारको मृत्यु भएको र आमाले अर्कैसँग विवाह गरी छोडेर गएपछि उनी असहाय अवस्थामा पुगेकी हुन् ।

त्यसैगरी म्याग्दीको मालिका गाउँपालिका–७ वाइन्दाफाँटका पुजनको अवस्था पनि मञ्जुको जस्तै रहेको छ । पुजनका बुबा रिम फगामीको २०७८ साल कात्तिकमा मृत्यु भएपछि उनकी आमाले अर्कैसँग बिहे गरेकी र पुजन अहिले साथीको घरमा आश्रय लिइरहेका विद्यालयका शिक्षिका घनदेवी घर्तीले जानकारी दिनुभयो ।

त्यस्तै कक्षा ४ मा अध्ययनरत सृष्टि पनि बुबा र आमा दुवैले अर्को विवाह गरेपछि आमा बुबा हुँदाहँुदै पनि असहाय बनेकी छन् । मङ्गला गाउँपालिकास्थित पूर्ण गाउँका बुबा सुनिल विक र आमा सविता विकले अर्को विवाह गरेर अलगअलग भएपछि छोरी सृष्टि असहाय अवस्थामा पुगेकी हुन् ।

यी तीन विद्यालयको असहाय प्रतिनिधि विद्यार्थी मात्र हुन् । विद्यालयमा अध्ययनरत करिब ७७ जना विद्यार्थीमध्ये १४ जना विद्यार्थीको अवस्था अञ्जु, पुजन र सृष्टिकोभन्दा कम नभएको विद्यालयका प्रधानाध्यापक छेमप्रसाद गर्बुजा पुनले बताउनुभयो । “विद्यालय आफैँ पनि समस्याग्रस्त छ, आन्तरिक स्रोत केही छैन । त्यसमाथि १४÷१५ जना असहाय र अतिविपन्न परिवारका विद्यार्थी छन् । उनीहरु कहिले भोकै विद्यालयमा आउँछन्, सर मिसले खानेकुरा किनेर खुवाउँछौँ, कहिले विद्यालयको दिवा खाजाको भरमा ती विद्यार्थीले दिन गुजार्न बाध्य हुन्छन्”, प्रअ पुनले भन्नुभयो, “उनीहरुको रुन्चे अनुहार र टिठलाग्दो पोशाक देख्दा साह्रै दुःख लाग्छ ।”

“बुबाको मृत्यु भएका, आमाले अर्कैसँग विवाह गरी गएका साथै आमा र बुबा दुवैको माया नपाएका विद्यार्थीलाई देख्दा कटक्क मन खान्छ”, शिक्षिका घर्तीले भन्नुभयो, “कोही मनकारी व्यक्तिले उनीहरुलाई आश्रय दिए वा पढाइलेखाइको खर्च व्यहोरी दिए उनीहरुको भविष्य बन्ने थियो र सहयोगीलाई पनि ठूलो पुण्य मिल्ने थियो ।”

विद्यालयमा अध्ययनरत यस्ता असहाय र अतिविपन्न बालबालिकालाई अध्यापनरत शिक्षक शिक्षिकाले बुबाआमाको जस्तै माया दिएर पढाइरहनुभएको स्थानीयले बताएका छन् । शिक्षक शिक्षिकाको माया र खाजा खाना पाइने लोभमा यी विद्यार्थी दैनिकरुपमा विद्यालयमा आउँछन् ।

अझै दुःखको कुरा त के छ भने कतै आश्रय नपाउँदा मञ्जुले विद्यालयको वरण्डामा नै सुतेर रात बिताउने गरेको मञ्जु स्वयंले बताइन् । दाइ मजदुरी गर्नुपर्ने कामले कहिले कहाँ कहिले कहाँ पुग्नुपर्ने र उनी एक्लै हुँदा भोकभोकै बस्नुपर्ने समस्या छ ।

“विद्यार्थी भोकै हुँदाको दिन विद्यालयका शिक्षक शिक्षिकाले आफूले खाजा नखाएर भए पनि खाजामा खर्च हुने रकम ती भोका विद्यार्थीलाई खानेकुरा किनेर खुवाउने गर्नुहुन्छ”, विद्यालयका एक अभिभावकले भन्नुभयो, “दुःखी, गरिब र असहायलाई देश विदेशमा रहेका मनकारी व्यक्तिले सहयोग गरेर त्यस्ता व्यक्तिको उद्धार भएको सुनिन्छ, यहाँका यी असहाय बालबालिकालाई पनि कसैले सहयोग गरिदिए कति धर्म हुँदो हो ।”

कक्षा ७ सम्म पढाइहुने सो विद्यालयमा अधिकांश विपन्न र दलित समुदायका विद्यार्थी अध्ययनरत छन् । अधिकांश अभिभावक दैनिक ज्याला मजदुरीमा जाने र छोराछोरीको हेरचाह र आवश्यकतालाई ध्यान दिन नसक्ने अवस्थामा रहेकाले विद्यालयलाई शैक्षिक क्रियाकलापका अतिरिक्त ती विद्यार्थीको सुरक्षा र संरक्षणको जिम्मेवारी पनि थपिँदा शिक्षक शिक्षिका थप समस्यामा पर्नुभएको हो ।

“सधैँभरि शिक्षक शिक्षिकालाई मात्र समस्यामा पार्ने होइन, अब समुदायले पनि केही जिम्मेवारी लिनुपर्छ”, बगरफाँट स्थायी घर भई हाल काठमाडौँ बस्नुहुने वरिष्ठ कृषि वैज्ञानिक डा टीकाबहादुर कार्कीले भन्नुभयो ।

अहिले तत्काल ती विद्यार्थीको व्यवस्थापनका लागि सहयोगी मन भएका व्यक्तिको खोजी गरेर सहयोग जुटाउने र त्यस्ता विद्यार्थीलाई राख्नका लागि समुदाय र सहयोगी व्यक्तिको पहलमा विद्यालयमा नै छात्रबासको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो ।

यी असहाय विद्यार्थीलाई सहयोग गर्न चाहनुहुने मनकारी व्यक्तिले ९८४७६४९८६३ वा ९८६९०२००६१ मा सम्पर्क गर्न सक्नुहुने विद्यालयले जनाएको छ ।-रासस

file pic

प्रतिक्रिया दिनुहोस !