बागलुङ । राजेन्द्र विक पेशाले सवारी चालक हुनुहुन्छ । जिपमा यात्रु बोकेर गन्तव्यतिर हुइँकिनु उहाँको दैनिकी हो । अपर्झट्को बिदा या यात्रु नपाइँदा भने विकलाई पनि फुर्सद मिल्छ । एकै दिनलाई भए पनि नियमित कामबाट उहाँ उम्कन पाउनुहुन्छ ।

विक अहिले ३३ वर्षको हुनुभयो । फुर्सदमा जहान परिवारलाई समय दिनुहुन्छ । घरधन्दामा सघाउँनुहुन्छ । यसबाहेक उहाँको एउटा पुरानो सौख छ, माछा मार्ने । समय निक्ल्यो कि, खोला धाइहाल्नुहुन्छ उहाँ । उहाँ १०–११ वर्षको उमेरदेखि नै खोला आउजाउ गर्नुहुन्थ्यो । माछा मार्न, पौडी खेल्न र बालुवा झिक्न साथीहरूसहित विक खोलामा पुग्नुहुन्थ्यो ।

गलकोट नगरपालिका–९ मल्मस्थित उहाँको पुख्र्यौली घरछेउ भएर दरमखोला बग्छ । असला माछाले देशदेशावर चिनाएको दरमखोलामा विकका बुवा रतनले जाल खेल्नुहुन्थ्यो । माछा मारेरै उहाँले परिवारको गुजारा धान्नुहुन्थ्यो । पछि राजेन्द्रले पनि बुवाबाट जाल हान्न सिक्नुभयो ।

“घरमा बुवाको जाल थियो, त्यसैबाट मैले पनि खोलामा जाल खेल्न सिके”, उहाँ विगततिर फर्कनुभयो, “सानो छँदा हत्केला खेलेर पनि माछा छोपिन्थ्यो, भुक थाप्ने चलन पनि थियो ।” माछा मारेर बेचेको पैसाले आफूलाई चाहिने कापीकलम किन्ने गरेको राजेन्द्रले सम्झिनुभयो ।

सानैदेखि खोला छेउछाउ खुलेहुर्केको भएर पनि होला उहाँलाई अहिले पनि समय मिल्दा दरमखोला पुग्न मन लागिहाल्छ । “मसँग आफ्नै जाल छ, फुर्सदमा अहिले पनि माछा मार्न जान्छु, तर पहिलेझैँ माछा पनि छैनन्, खोला पनि दूषित हुँदै गएको छ, त्यो देख्दा मन खिन्न हुन्छ”, विकले भन्नुभयो, “अहिले त माछा लुक्ने कुरमा डाइपर, प्लाष्टिक, लुगाफाटाका टुक्रा र सिसा भेटिन्छन् ।”

उहाँले आफूहरू सानोमा खोला छिर्दा जुन ढुङ्गाको कुरमा हात छिराए पनि माछा हात लाग्ने गरेको सुनाउनुभयो । अहिले भने स्थिति त्यस्तो छैन । दिनभर खोला चहारेर जाल हान्दा पनि माछा जालमा पर्दैनन् । माछा लुक्ने कुरमा फोहर भेटिने गरेको दुःखेसो पोखेर विकले मान्छेकै कारण माछा सङ्कटमा परेको दृष्टान्त राख्नुभयो ।

मानिसले मरेका कुखुरासमेत खोलामा मिल्काउने गरेको उहाँले सुनाउनुभयो । चिसो, सफा र बगिरहेको पानी मन पराउने असला माछा हराउँदै जानुमा मुख्य कारण खोला दूषित हुनुरहेको विकको तर्क छ । उहाँको भनाइमा स्थानीय गोम रानाले पनि ‘सही’ थप्नुभयो । “असला माछाको मुख्य आहारा भनेको लेउ हो, अहिले ढुङ्गामा लेउ होइन, हिलो र फोहर जमेको भेटिन्छ”, रानाले भन्नुभयो, “जथाभावी गिट्टी, बालुवा झिक्ने, फोहर त्यहीँ फ्याँक्ने, खोला मासेर संरचना बनाउने गर्दा माछाको बासस्थान खल्बलिन पुग्यो, दूषित पानीले पनि माछालाई हुर्कन, बढ्न दिएन ।”

सहरोन्मुख गलकोटमा आवादी बढेसँगै आसपासका खोलानाला फोहोर र दुर्गन्धित हुँदै गएका छन् । अनियन्त्रित नदीजन्य पदार्थको उत्खननका कारण माछालगायत जलचर सङ्कटमा परेको छ ।

जलारीकै रुपमा लामो अनुभव बटुल्नुभएका रानाले दरमखोलाको असला माछा लोपोन्मुख अवस्थामा रहेको उल्लेख गर्नुभयो । “विषादी हाल्ने, पासो थाप्ने र करेन्ट लगाउँदा पनि असला माछा घट्दै गएको छ”, उहाँले भन्नुभयो, “कुनै दिन दरमखोलाबाट असला माछा हराएर जान सक्ने खतरा छ ।”

स्थानीय तवरबाट माछाको अवैध शिकारलाई नियन्त्रण गर्न खोजिए पनि लुकिछिपी माछा मार्ने गरिएको रानाले बताउनुभयो । उहाँले जाल खेल्दा पहिलेझैँ माछा पर्न छाडेको सुनाउनुभयो । “दरमखोलाको असला माछा मारेरै जीवन निर्वाह गर्ने परिवार थुप्रै थिए, अहिले माछाबाटै जीविका धान्छु भन्ने कोही पनि छैनन्, फाट्टफुट्ट गर्ने मात्र छन्”, रानाले भन्नुभयो ।

कुनै समय गलकोट–९ बाँस्खोला, गल्याङ–७ को बामिया, आँगाखेत–९ को काँडेबासलगायत दरमखोला आसपासका दर्जनौँ परिवार माछामा आश्रित थिए । असला माछा कम पाइन थालेपछि मूल्य पनि अकाशिएको छ । एक किलो आलो असला माछा (आन्द्राभुँडी फालेको) रु ११ सयसम्म बिक्री हुने गरेको छ । सुकुटी पारेकोलाई प्रतिकिलो रु १० हजारसम्म भन्छन् । होटल, रेष्टराँमा त अझ महँगो पर्छ ।

त्यही असला माछा जसलाई रानाले आफू सानो छँदा प्रतिकिलो रु ४० सम्ममा बिक्री गर्नुभएको थियो । त्यसबेला माछा जति भने पनि पाइन्थ्यो, भाउ सस्तो थियो । अहिले असला माछा पाउनै कठिन छ, भाउ भने छोइनसक्नु छ । माछा मारेर परिवारको आयआर्जनमा सघाउँदै आउनुभएका गलकोट–७ मल्म बामियाका सचित्र गुरुङले दरमखोलाको असला माछा लोप हुँदै गएको बताउनुभयो ।

“खोलामा अहिले माछा नै छैन, केही वर्ष माछा मार्न रोक लगाउने हो भने संरक्षण हुनसक्छ”, उहाँले भन्नुभयो, “मान्छेकै लापरवाहीका कारण दरमखोलाको असला माछा सङ्कटमा परेको हो ।” गुरुङसँगै बामियाका युवा अहिले पनि जाल खलेर माछा मार्छन् । कतिपय परिवारको मुख्य कमाइको स्रोतमा माछा नै पर्छ । दरमखोलाछेउ कृत्रिम तलाउमा ‘रेम्बो ट्राउट’सँगै असला माछाको व्यावसायिक पालन गर्दै आउनुभएका हुम थापाले असला माछालाई मासिनबाट जोगाउन स्थानीयस्तरमा सचेतना जगाउनुपर्ने बताउनुभयो ।

“विष प्रयोग गर्ने, करेन्ट लगाएर माछा मार्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ, यसमा नगर र स्थानीय प्रशासनले कडाइ गर्नुपर्छ”, थापाले भन्नुभयो, “खासगरी खोला आसपासमा रहेका बस्ती र त्यहाँका युवाहरूलाई असला माछा संरक्षणको कुरा बुझाउनुपर्छ ।”

मनपरी हिसाबले शिकार हुने र खोलानालाको पर्यावरण पनि बिगँ्रदै गएमा रैथाने जातको असला माछा सधैँका लागि हराएर जाने उहाँको भनाइ छ । दरमखोला मात्रै नभएर यहाँका बडिगाड, ठेउलेलगायतका खोलानालामा पनि असला माछा सङ्कटमा छ । रेष्टुराँ व्यवसायीसमेत रहनुभएका थापाले दरमखोलाको असला माछा ‘ब्राण्ड’जस्तो बनिसकेको बताउनुभयो । होटल, रेष्टुराँमा पनि असला माछाको परिकार ग्राहकको रोजाइमा पर्ने गरेको छ । दरखोलाको असला माछा विदेशमा समेत कोशेलीका रुपमा जान्छ ।

सुकुटी पारिएको माछालाई महँगोमा किनेर भए पनि बाहिर रहेका आफन्तलाई पठाउने चलन छ । व्यवसायीले पनि विदेशमा कोशेली पठाउनेलाई लक्षित गरी माछाको सुकुटी बनाउँछन् । पोखरा, काठमाडौँजस्ता सहरमा पनि दरमखोलाको असला माछा पुग्छ । आलो माछालाई हप्तौँसम्म आगोमा सेकाएर सुकुटी बनाइन्छ ।

भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाले नदीनाला एवं प्राकृतिक जलाशयहरूमा माछा उत्पादन बढाउन स्याङ्जाको मिर्मिमा रहेको मत्स्य विकास केन्द्रमार्फत काम भइरहेको बताउनुभयो । “केन्द्रले नदीनालामा माछाका भुराहरू छाड्ने, खोला आसपासका बासिन्दालाई माछापालन व्यवसायका लागि सहायता गर्नेलगायतका काम गर्छ, बागलुङमा पनि हामी मिलेर काम गर्दैछौँ”, उहाँले भन्नुभयो ।

गलकोट नगरप्रमुख भरत शर्मा गरैले दरमखोलामा हुने गरेको माछाको अवैध सिकारलाई नियन्त्रण गरिने प्रतिबद्धता जनाउनुभयो । उहाँले स्थानीयसँग मिलेर रैथाने जातका माछाको संरक्षण योजना बनाइने बताउनुभयो । “माछा मार्न खोलामा विष हाल्ने, करेन्ट लाउने, पासा थाप्ने जस्ता गतिविधि रोक्न प्रहरीलाई पनि निगरानी र कडाइ गर्न भन्छौँ”, उहाँले भन्नुभयो, “तटीय क्षेत्रमा बसोबास गर्ने, जो वर्षौँदेखि माछाको व्यवसायसँग जोडिनुभएको छ, उहाँहरू पनि संवेदनशील हुनुप¥यो, खोलामा जथाभावी गर्न दिनुभएन ।”

केही वर्षअघि माछा मार्ने जलारी र स्थानीय सरोकारवाला पक्षको निर्णयबाट खोलामा बम हान्न, विष हाल्न र विद्युतीय शक्ति लगाएर माछा मार्न प्रतिबन्ध लगाइएपनि त्यो धेरै समय टिकेन । स्थानीय प्रशासनले पनि माछाको अनाधिकृत सिकारलाई रोक्न सकेन । असला माछाले वनस्पतिजन्य सुक्ष्म जीव लेउ, पानीमा बस्ने जीव गङ्गटा, झिँगे माछा, शङ्खे किरा, जलीय झारपात र किरा–फट्याङ्ग्राको आहारा गर्ने मत्स्य विज्ञहरू बताउँछन् ।

खोलानालाको पानी दूषित भएमा असला माछालाई रोग लाग्ने गरेको उनीहरूको भनाइ छ । असला माछा उच्च तथा पहाडी भेगका नदीनाला र तालतलैयामा पाइन्छ । १० देखि १५ डिग्री तापक्रममा यो माछा बाँच्छ । असला स्वादिलो माछामा गनिन्छ । यसको शरीर कत्लाले ढाकिएको हुन्छ । असलाले चिसो र बग्ने पानी मन पराउँछ । यो माछाको १७ प्रजातिमध्ये नेपालमा नौ प्रजाति रहेको बताइन्छ । असला माछाले कात्तिक–मङ्सिर र माघ–फागुनमा प्रजनन गर्छ ।

मनिसलाई चाहिने प्रोटिनको भरपर्दो र सर्वोत्तम स्रोतका रुपमा असला माछालाई लिइन्छ । नेपालमा ६०० देखि तीन हजार ५०० मिटरको उचाइसम्म असला माछा पाइन्छ । स्वादिष्ट र गुणकारी असला माछालाई सङ्कटबाट नजोगाउने हो भने गायक वसन्त थापा र गायिका निता पुनमगरको गीतमा मात्र सीमित नबन्ला भन्न सकिन्न ।
‘माछा मिठो असला दरमखोलाको
ओ… मायाले सुनेनौ र बो’लाको, किन टोलाको…!’-रासस

प्रतिक्रिया दिनुहोस !