काठमाडौँ ।  गत असारदेखि सञ्चालनमा आएको राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीले नेपालको ऊर्जा क्षेत्रमा रणनीतिक परिवर्तन गरिदियो । मुलुकको राष्ट्रिय प्रणालीमा एकैपटक ४५६ मेगावाट बिजुली थप हुँदा त्यसले उपलब्ध गराउने ऊर्जा र आर्थिक क्षेत्रमा परेको प्रभाव आफैँमा महत्वपूर्ण छ ।

स्वदेशी लगानीमा निर्माण सम्पन्न भएको आयोजना ऊर्जा सुरक्षाका हिसाबले पनि उत्तिकै प्रभावकारी मानिएको छ । सोही आयोजनासँग जोडिएको अर्को आयोजना तामाकोशी पाँचौँ पनि अब निर्माणमा जाने तयारीमा छ । माथिल्लो तामाकोशीको ‘टेलरेस’ सुरुङबाट निस्केको पानी प्रयोग गरेर १०० मेगावाट बराबर बिजुली उत्पादन गर्ने लक्ष्यका साथ अगाडि बढाइएको आयोजनाको सोमबार मात्रै सरकारले लगानी स्वीकृत गरेको छ । रु पाँच अर्ब माथि लगानी हुने आयोजनाको निर्णय लगानी बोर्डमार्फत हुनुपर्ने कानुनी बन्दोबस्ती छ ।

सोही प्रबन्धका कारण तामाकोशी पाँचौँका लागि रु १६ अर्ब ४५ करोड ९८ लाख बराबरको लगानी स्वीकृत गरिएको छ । तर, यो लगानी भने स्वदेशी नै हो । सो आयोजना पनि पूर्णरुपमा स्वदेशी लगानीमा नै निर्माण हुनेछ । माथिल्लो तामाकोशीको विद्युत् गृह रहेको ठाउँबाट टेलरेस सुरुङ हुँदै बाहिर निस्केको पानी प्रयोग गरेर निर्माण गर्न लागिएको आकर्षक आयोजना हो । तामाकोशी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत नसिबमान प्रधानका अनुसार आयोजना निर्माणमा जानुपूर्वका सबै काम भइरहेको छ । परामर्शदाता छनौटको काम अन्तिम चरणमा पुगेको छ । ऋण लगानीकर्ता कर्मचारी सञ्चय कोषसँग वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौताको पनि अन्तिम तयारी भइरहेको छ । आगामी असार मसान्तभित्रै सबै काम सकाउने योजनाका साथ काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

निर्माण व्यवसायी छनौटका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन लागिएको छ । नेपालको ऊर्जा क्षेत्रको विकासका लागि एकपछि अर्को लगानी गर्दै आएको कर्मचारी सञ्चय कोषले तामाकोशी पाँचौँमा रु १२ अर्ब बराबरको ऋण उपलब्ध गराउने भएको छ । रसुवागढी, माथिल्लो साञ्जेन, साञ्जेन र भोटेकोशीमा एकलौटी लगानी गरेको कोषले तामाकोशी पाँचौँमा भने एक्लै लगानी गर्न लागेको हो । लगानीसम्बन्धी त्रिपक्षीय समझदारीपत्रमा गत साउनमा हस्ताक्षर भएको थियो ।

कूल १०० मेगावाट क्षमताको सो आयोजना असाध्यै आकर्षक देखिएकाले कोषले लगानी गर्न लागेको हो । माथिल्लो तामाकोशीको क्यासकेड परियोजनाका रुपमा तामाकोशी पाँचौँ अगाडि बढाउन लागिएको हो । आयोजनाको कूल लगानीमध्ये रु १२ अर्ब कोषले उपलब्ध गराउँदा थप रु चार अर्ब भने प्राधिकरणले लगानी गर्नेछ । परियोजना सस्तो र आकर्षक भएकाले पनि आफूहरूले खुला हृदयका साथ लगानी गर्न लागेको कोषले यसअघि नै स्पष्ट पारिसकेको छ । माथिल्लो तामाकोशीको विद्युत् गृहमा बिजुली निकालेर निस्किएको पानीलाई उपयोग गरेर दोलखाको स्थानीय सुरीदोभान पु¥याइनेछ । आयोजनामा कूल आठ किलोमिटर लामो सुरुङ निर्माण हुनेछ ।

माथिल्लो तामाकोशी निर्माणका क्रममा नै केही संरचनासमेत तयार भएकाले आयोजनालाई थप सहज भएको प्रमुख कार्यकारी अधिकृत प्रधानको भनाइ छ । यसमा बाँध निर्माण गर्नुनपर्ने भएकाले पनि थप सहज भएको छ । माथिल्लो तामाकोशीको टेलरेस सुरुङलाई अर्को टनेलमा स्थानान्तरण गर्न मिल्ने गरी भूमिगत इन्टेक निर्माण भइसकेको छ । तामाकोशी पाँचौँमा २५ मेगावाट क्षमताका चार युनिट रहनेछ । आयोजनाको कूल लागतका आधारमा प्रतिमेगावाट लागत रु १६ करोड हाराहारीमा मात्रै पर्ने भएकाले पनि सस्तो मानिएको छ । आयोजनाका लागि पहुँचमार्ग निर्माण गर्नुपर्ने अवस्था छैन । माथिल्लो तामाकोशीको सबै संरचनासमेत प्रयोग गर्न सकिन्छ । त्यसकारण पनि व्यवस्थापन थप सरल छ ।

प्रसारण लाइनसमेत तम्तयारी हालतमा रहेको, लागत सस्तो पर्ने एवम् सबै विषयले सहज भएकाले कोषले ऋण उपलब्ध गराउन कुनै कन्जुस्याई नै गरेन । आयोजनाले वार्षिक रुपमा ५४० गिगावाट घण्टा ऊर्जा उत्पादन गर्नेछ । पूर्वऊर्जामन्त्री वर्षमान पुनले सो आयोजनालाई जनताको जलविद्युत् कार्यक्रममा समावेश गर्नुभएको थियो । आयोजनाले स्थानीय प्रभावित एवं आमसर्वसाधारणलाई साधारण शेयर बिक्री गर्नेछ ।

केही अघिसम्म सो आयोजना माथिल्लो तामाकोशीअन्तर्गत नै राख्नुपर्ने माग पनि उठेको थियो । तर, प्राधिकरणले छुट्टै कम्पनी स्थापना गरेर अगाडि बढाएको छ ।-रासस

प्रतिक्रिया दिनुहोस !