प्रतिमा कुमाल, चितवन । ‘कुमाल जातिको पहिचान, संस्कार र संस्कृति’ नामक पुस्तक बजारमा आएको छ ।

कुमाल समुदायको विस्तृत परिचय दिने उद्देश्यले लेखक तथा नेपाल राष्ट्रिय कुमाल समाज सुधार समितिका उपाध्यक्ष रामसिंह कुमालले यस पुस्तक लेखेका हुन् ।

चितवनमा रहेका कुमालहरुलाई अध्ययन क्षेत्र बनाई लेखिएको यस पुस्तकमा २५२ पुष्ठ रहेका छन् । पुस्तकमा कुमाल जातिको परिचय, जन्मेदेखि मृत्युसम्मको संस्कार, सँस्कृतिबारे यस पुस्तकको माध्यमबाट जानकारी दिइएको छ ।

पुस्तकमा उल्लेख भए अनुसार कुमाल समुदायले जन्म संस्कारमा बच्चा जन्मेको ३, ५ वा ७ दिन पछि न्वारन गर्छन् । त्यसपछि भाँत खुवाई, छेवँर र छाँद फुकाउने गरिन्छ । यस समुदायमा प्रेम तथा भागी विवाह बढी प्रचलनमा रहेको छ । यसरी विवाह गरेका जोडीलाई भित्र्याउने, टिका दिने संस्कार छ । पूर्वीय समुदायमा भने मागी विवाहलाई बढी मान्यता दिइन्छ । साथै विवाहमा मागल गीत गाउने, चिराग बाल्ने, दुलाहा दुलहीलाई जमिन टेकाउन नहुने, अबिर खेल्ने, जन्ती आएकाहरुको हात धोइदिने चलन रहेको छ ।

यस्तै दुलही भित्रयाउँदा ढोकामा कुखुराको भाले र पोथी सँगै काट्ने, बाटो छेक्ने, गोडा धुने, दुलाहा दुलहीले घरमा जाँदा सिंगो सुपारी मुखमा राख्नुपर्ने लगायत गरिन्छ ।

यस समुदायले वर्षमा ११ वटा चाडपर्वहरु मनाउने गर्छन् । जसभित्र ३९वटा पर्व पर्छ । जसमा वैशाख पूर्णिमा, साउने सङ्क्रान्ति, श्रीकृष्ण जन्माष्टमी, सोह्र श्राद्ध, तीज, दसैँ, तिहार, एकादशी, माघे सङ्क्रान्ति, फागु पूर्णिमा, चैते दसैँ लगायत रहेका छन् । उनीहरुले १२ वटा बार्ना र पूजाहरु गर्छन् । यस समुदायका पेसा, पोसाक लगायत विस्तृत रुपमा यस पुस्तकमा लेखिएको छ ।

संस्कृति संरक्षणको लागि यस पुस्तकले मुख्य भूमिका खेल्ने लेखकको भनाइ छ । यसले कुमाल समुदायको मौलिकता देखाउन सक्ने उनको विश्वास छ । आफ्नो भाषा, धर्म, संस्कार, संस्कृति हराउँदै गएको अवस्थामा यस विषयमा कलम चलाउनु जातीय पहिचानलाई जिवन्त राख्नु रहेको उनले जीकिर गरे । साथै उनले सम्पूर्ण कुमाल समुदायका अग्रज व्यक्ति तथा यूवाहरुलाई आफ्नो पहिचानको लागि हातमा हात राखि अगाडि बढ्न आग्रह गरेका छन् ।

यस्तै यस पुस्तकमा लेखक कुमालले कुमाल भाषा, आफ्नै भाषाको प्रचलित गीत पनि समावेश गरेका छन् । चितवनमा कुमाल समुदायको जनसंख्या ९ हजार ३०२ रहेको छ । नवलपरासी, गुल्मी, गोर्खा, पाल्पा, धादिङ, पर्सा अर्घाखाँची, लमजुङ, कास्कीलगायतको जिल्लामा पनि कुमाल समुदायको बसोबास रहेको छ ।

प्रतिक्रिया दिनुहोस !