गण्डकी । सामाजिक भावनामा ह्रास आइरहेको वर्तमान समाजमा यहाँको एक महिला समूह भने सामाजिक काममा देखाएको सक्रियता अरुका लागि पनि अनुकरणीय बनेको छ ।

‘एकले थुकी सुकी, सयले थुकी नदी’ भन्ने नेपाली समाजमा परापूर्वकालदेखि चलिआएको उखानलाई पोखरा महानगरपालिका–३३ भरतपोखरीको बरमा क्रियाशील सिलिङ्गे महिला चेतना समूहले चरितार्थ पारिदिएको छ ।

समूहको सक्रियतासँगै उसले देखाएको पारदर्शीताका कारण एकपछि अर्को काममा योजना सम्पन्न गर्न स्थानीयसँगै आसपासका गाउँ तथा विभिन्न व्यक्तिबाट आर्थिक सहयोग जुट्ने गरेको छ । सामाजिक जागरणसँगै प्राचीन सम्पदाको संरक्षणमा जोड दिएको समूहले पछिल्ला समयमा झण्डै दुई सयभन्दा बढी वर्ष पुराना मनियलडाँडाको चौतारो, हुडिकोटको चौतारो निर्माण गरिसकेको छ भने सिलिङ्गे चौतारो निर्माणको क्रममा छ ।

समूहकै सक्रियतामा मल्लकालीन समयदेखि अस्तित्वमा रहेको हुडिकोट देउराली मन्दिर निर्माण गरिएको छ भने मल्लकालीन कोटभैरव मन्दिर, हुडिकोटलगायतका स्थानमा समय समयमा सरसफाइकार्यलाई पनि निरन्तरता दिइएको सस्थाको सचिव सीता केसी महतले जानकारी दिनुभयो । समूहले हुडिकोट देउरालीमा वार्षिकरुपमा पूजासमेत गर्दै आएको छ ।

“स्थानीयको साथ र सहयोगमा समूहले विभिन्न योजनालाई सम्पन्न गर्दै आएको छ”, उहाँले भन्नुभयो, “विकास निर्माणसँगै सम्पदा संरक्षणमा स्थानीयले गरेको सहयोगका कारण हामीलाई थप हौसला मिलेको छ ।” समूहको सक्रियतामा दुई सय वर्ष पुरानो मनियलडाँडा नमूना चौतारो पुनःनिर्माण गर्दा स्थानीयवासीले रु १० हजार बराबरको जनश्रमदानसँगै रु ८० हजार ५७५ आर्थिक सहयोग गरेको समूहका अध्यक्ष कर्णकुमारी महतले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त चौतारो पुनःनिर्माणका लागि आर्थिक वर्ष २०७७/७८ बाट पोखरा महानगरपालिका–३३ को वडास्तरीय विकास बजेटअन्तर्गत रु एक लाख प्राप्त भएको थियो । कूल रु एक लाख ९० हजार ५७५ को लगातमा पुनःनिर्मित चौताराले इतिहासको संरक्षण गरेको बताउने स्थानीय यसले यस स्थानको गरिमा र महत्व अझै बढाएको बताउँछन् ।

समूहकै सक्रियतामा स्थानीय सहयोगबाट रु एक लाख ५५ हजार ५५५ को लागतमा हुडिकोटको चौतारा पुनःनिर्माण गरिएको अध्यक्ष महतले बताउनुभयो । त्यस्तै समूहले मनियलडाँडा–हुडिकोट सडकअन्तर्गत १०० मिटर नाला र ७० मिटर ग्राबेल गर्ने काम गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयबाट आव २०७८/७९ मा विनियोजित दुई लाख र जनसहभागिता रु ३० हजार र श्रमदान रु १५ हजार गरी रु दुई लाख ४५ हजारमा उक्त योजना सम्पन्न गरिएको उहाँले जानकारी दिनुभयो । समूहकै सक्रियतामा बर माझथरकै ठाडाबारीमा रु ५० हजारको लागतमा प्रतिक्षालय निर्माण गरिएको छ ।

समूहले सिलिङ्गे चौतारी निर्माणका लागि पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट आव २०७८/७९ का लागि विनियोजित रु एक लाख ५० हजारको सहयोगसँगै कूल रु दुई लाख २५ हजार लागत अनुमान गरिएको योजनालाई अघि बढाइरहेको र निर्माणकार्य अन्तिम चरणमा पुगेको अध्यक्ष महतले जानकारी दिनुभयो ।

सिलिङ्गेको बिरुवा खोज्दै समूह

चौताराकै नामबाट प्राचीनकालदेखि सिलिङ्गे भन्ने गरिएको उक्त स्थानमा प्राचीनकालमा सिलिङ्गेको बोट सहितको चौतारा रहेको र उक्त चौतारा मासिएपछि समूहले पुनःनिर्माण गर्न लागेको हो ।

“चौताराको निर्माण कार्यमा मन्त्रालयको सहयोगसँगै स्थानीय सहभागिता एवं चन्दा सहयोग आइरहेका कारण लगभग अन्तिम चरणमा पुगेको छ”, अध्यक्ष महतले भन्नुभयो, “चौतारामा सिलिङ्गेको बिरुवा नै लगाउने सोच राखिए पनि हालसम्म कहीँकतैबाट बिरुवा भने उपलब्ध हुन सकेको छैन ।”

सिलिङ्गेको बिरुवा धेरै ठाउँ तथा नर्सरीमा खोजे पनि कहीँकतैबाट उपलब्ध हुन नसकेको र कोही कसैबाट प्राप्त भएमा त्यो आफूहरूका लागि ठूलो सहयोग हुने बताउँदै उहाँले त्यसका लागि सम्बद्ध सबैसँग आह्वान गर्नुभएको छ। -रासस

प्रतिक्रिया दिनुहोस !