चितवन ।  तीनदशक भन्दाबढी समय सौराहाका होटल व्यवस्थापनमा बिताउनुभएका रामहरि देवकोटा कोभिडसँगै विस्थापित हुनुभएको छ । सौराहामा ३२ वर्षसम्म विभिन्न होटलको व्यवस्थापन हेर्नुभएका उहाँ कोभिडले होटल बन्द भएपछि पेशा नै छाडेर गाउँ फर्कन बाध्य हुनुभएको हो ।विसं २०४७ मा बाघमारा वाइल्डलाइफ रिसोर्टबाट व्यवस्थापनको काम थाल्नुभएका देवकोटा सोही होटलमा २० वर्ष, रोयल टाइगर र होटल जङ्गल क्राउनमा पाँच/पाँच वर्ष व्यवस्थापकको भूमिकामा रहनुभयो ।

कोभिड बढेसँगै युनिक वाइल्ड रिसोर्टबाट ३२ वर्षको अनुभव अन्त्य गर्दै आफ्नै गाउँ गोरखामा फर्किएर कृषि काम थाल्नुभएका उहाँ भन्नुहुन्छ, “अहिले म गोरखाको पालुङ्टारमा भँैसी, बाख्रा र खेतीपातीमै भुलिरहेको छु ।” देवकोटाजस्तै धेरैको रोजगारी कोभिडले खोसेको थियो । लामो समयसम्म अनुभव बटुलेका दक्षजनशक्ति विस्थापित हुँदा अहिले होटल सञ्चालनमा कठिनाइ भएको छ ।

क्षेत्रीय होटल सङ्घका जिल्लाअध्यक्ष दीपक भट्टराई ४० प्रतिशत दक्ष जनशक्ति कोभिडसँगै विस्थापित भएको बताउनुहुन्छ । कतिपय विदेशिएका छन् भने कतिपय स्वरोजगारीमा लागेका छन् । उहाँ भन्नुहुन्छ, “काम गर्ने दक्षजनशक्ति पाउनै मुस्किल भयो ।” अनुभवी कुक, वेटर, हाउस किपिङ, म्यानेजर, मालीजस्ता महत्वपूर्ण पदका कर्मचारी र मजदुर नपाउँदा होटल सञ्चालनमा नै कठिन भएको अध्यक्ष भटृराईको भनाइ छ । विभिन्न देशबाट आउने पर्यटकका लागि त्यसैअनुसारको खाना खुवाउनुपर्ने हुन्छ । भाषा पनि बुझ्नुपर्ने हुनाले सामान्य कर्मचारीलाई काम गर्न होटलमा कठिन हुन्छ ।

सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरे धेरैले पेशा नै परिवर्तन गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “आवश्यकताअनुसार जनशक्ति पाउनै मुस्किल छ ।” धेरैले स्वरोजगारका काम थालेका छन् । कतिपय कृषिमा लागेका छन् । गल्फ र अन्य देश जानेको सङ्ख्या पनि ठूलै रहेको घिमिरेको भनाइ छ । सौराहाको स्थानीय एक विद्यालयमा सिटिइभिटीको डिप्लोमास्तरको होटल म्यानेजमेन्टको पढाइ हुँदै आएको छ । केही होटलले त्यही जनशक्तिबाट काम चलाएका छन् । सङ्घकै पहलमा कुक, वेटर, वेट्रेस, हाउस किपिङको पनि तालिम दिन लागिएको छ । सबैभन्दा ठूलो समस्या कुकको भएको व्यवसायीहरु बताउँछन् । पूर्णरुपमा काम जानेका जनशक्ति पाउन नै कठिन हुने गरेको सबैको गुनासो छ ।

सङ्घका महासचिव गुणराज थपलिया राम्रो जनशक्तिलाई जति रकम दिन्छुभन्दा पनि पाउन कठिन भएको बताउनुहुन्छ । बीचको समयमा फेरि कोभिड आउँछ कि भन्ने डरमा व्यवसायी रहेका थिए । अबका दिनमा होटल चल्छ भन्नेमा सबै पुगेका छन् । उहाँ भन्नुहुन्छ, “काम गर्ने जनशक्ति हराए । खोज्दा पनि पाउन मुस्किल भयो ।” पहिले होटलमा काम गर्नेहरु दुई वर्षसम्म बेरोजगार हुँदा फरक फरक पेशामा लागिसकेकाले फर्कन तयार नभएको महासचिव थपलियाको भनाइ छ ।

सौराहामा १२० होटल सङ्घमा दर्ता भएका छन् । ती होटलमा छ हजार ५०० भन्दाबढी बेड छन् । त्यहाँ पाँच हजार ५०० मजदुरले काम गर्दथे । अहिले झण्डै आधा हाराहारीले होटल धानिरहेका छन् । क्रमशः पर्यटक बढ्ने अपेक्षा गरिएको छ । यतिबेला दैनिक ४०० हाराहारी पर्यटक थपिने गरेको सङ्घको अनुमान छ । कोभिडभन्दा अघि यो सङ्ख्या दुई हजार हाराहारी थियो । व्यवसायीहरु अब क्रमशः पर्यटक बढ्नेमा विश्वस्थ छन् ।चितवन राष्ट्रिय निकुञ्जभित्र र मध्यवर्ती सामुदायिक वनमा दुर्लभ वन्यजन्तु र समुदायमा थारु संस्कृतिमा रमाउन पर्यटक आउने गर्दछन् । सौराहाका होटलमा ती पर्यटकका लागि अधिकांश स्थानीय मजदुर कर्मचारीलाई रोजगारी दिने गरिएकाले कम पारिश्रमिकमा काम लगाउन सकिने गरिएको थियो । स्थानीयवासीलाई घरपायक हुँदा कम तलबमा काम गर्दा पनि समस्या हुँदैनथ्यो ।-रासस

प्रतिक्रिया दिनुहोस !