चितवन ।  कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू)मा स्नातक तह अन्तिम वर्षमा अध्ययनरत एक सय विद्यार्थी इजरायल जाने भएका छन् । एएफयू र इजरायलको रामत नेगभ इन्टरनेस्नल ट्रेडिङ सेन्टरको सहकार्यमा यहाँका विद्यार्थी पठाउन लागिएको हो ।

विश्वबिद्यालयले छनोट समिति बनाएर इजरायल जाने विद्यार्थी छनोट गरेको हो । विश्वविद्यालयका योजना निर्देशक एवं छनोट समितिका सदस्य सचिव डा शिवचन्द्र ढकालका अनुसार एग्रिकल्चर वर्क–स्टडी कार्यक्रमअन्तर्गत इजरायल जानका लागि विद्यार्थी छनोट भएका हुन् । विद्यार्थीलाई इजरायल पठाउन विश्वविद्यालयका सङ्काय तथा आङ्गिक क्याम्पसमा अध्ययनरत विद्यार्थीबाट आवेदन माग गरिएको थियो ।

ढकालका अनुसार कार्यक्रममा सहभागी हुन २७३ जना विद्यार्थीले आवेदन दिएका थिए । त्यसमध्ये १६८ जना विद्यार्थी गोलाप्रथाको माध्यमबाट अन्तर्वार्ताका लागि छनोट भएका थिए ।

तीमध्ये अन्तवार्तामा सहभागी १२५ जनाबाट एक सय छनोट गरी २५ जनालाई बैकल्पिकमा राखिएको छ । नेपालका लागि इजरायलका राजदूत हनान गोडर र इजरायलका लागि नेपालका राजदूत डा कान्ता रिजालको उपस्थितिमा विद्यार्थीको अन्तर्वार्ता लिइएको थियो ।

ती विद्यार्थी ११ महिना इजरायल बस्ने छन् । त्यहाँ रहँदा पाँच दिन काम, एक दिन अध्ययन र एक दिन बिदा पाउने गरी सम्झौता भएको छ । काम गरेबापत एक जना विद्यार्थीले रु १२ लाख हाराहारी रकमसँगै प्रविधि र सिप लिएर आउने विश्वविद्यालयको अपेक्षा रहेको छ ।

विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यप्रसाद रेग्मीका अनुसार त्यहाँ सिकेको सीप र रकम लिएर फर्कने विद्यार्थी यहाँ आएपछि एकल र समूहगत रुपमा काम गर्न सक्नेछन् । स्नातक अन्तिम वर्षको परीक्षा दिएर जाने ती विद्यार्थीले फर्किएपछि मात्र विश्वविद्यालयबाट शैक्षिक प्रमाणपत्र पाउने छन् । विद्यार्थी त्यहाँ नबसुन् भन्नका लागि शैक्षिक प्रमाणपत्र विश्वविद्यालयले रोकेर राख्न लागेको हो ।

कृषि शिक्षातर्फ आकर्षण घट्न नपाओस् भन्नका लागि यो कार्यक्रम अघि बढाइएको उहाँ बताउनुहुन्छ । पहिलो पटक विश्वविद्यालयले यो कार्यक्रम गर्न लागेको हो । साउनको अन्तिम सातासम्ममा विद्यार्थी जाने गरि तयारी गरिएको छ ।-रासस

प्रतिक्रिया दिनुहोस !