काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार परिवर्तनको खेलमा एमाले नलागेको बताउनुभएको छ।उहाँले यतिबेला एमाले सरकार परिवर्तनका खेलमा नलागेको बताउनुभएको हो ।

‘यतिबेला नेकपा एमाले सरकार परिवर्तनको खेलमा छैन,’ उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति निर्माणको तयारीमा जुट्दैछौं।’फरक प्रसंगमा महासचिव पोखरेलले त्रिभुवन विश्वविद्यालयमा नेविसंघले तालाबन्दी गरेकोमा सरकारको ध्यान नपुगेको उल्लेख गर्नुभएको छ ।नेविसंघले असान्दर्भिक माग राखेर त्रिविको पदाधिकारीका कार्यकक्षमा ताला लगाएको आरोप उहाँको छ।

नेविसंघले गत माघ ७ गतेदेखि लगाएको ताला बुधबार नेकपा (क्रान्तिकारी) ले फुटाएपछि बिहीबार पुन: तालाबन्दी गरेको थियो।यसैबीच नेविसंघले नेपाल संस्कृत विश्वविद्यालय र अनुसन्धान केन्द्रमा पनि तालाबन्दी गरेको छ। ‘असान्दर्भिक माग राखेर सत्तापक्षका विद्यार्थी संगठनले विश्वविद्यालयहरूमा तालाबन्दी गरेको लामो समय भयो,’ उहाँले भन्नुभएको छ, ‘सरकार थाह नपाएझैँ चीरनिद्रामा छ। झकझक्याउ।’

प्रतिक्रिया दिनुहोस !