कर्णाली ।  राष्ट्रपति विद्यादेवी भण्डारीले सुर्खेतको प्रमुख पर्यटकीयस्थल कांक्रेविहारको अवलोकन गर्नुभएको छ । अनौपचारिक भ्रमणको सिलसिलामा सुर्खेतमा रहनुभएकी उहाँले आज अपराह्न वीरेन्द्रनगर ९ स्थित कांक्रेविहारको अवलोकन गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले कर्णाली प्रदेशमा पर्यटनको अथाह सम्भावना रहेको र कांक्रेविहारजस्ता ऐतिहासिक सम्पदाको प्रवद्र्धन गर्न जरुरी रहेको धारणा राख्नुभयो । साथै उहाँले कांक्रेविहारको ऐतिहासिकता, निर्माण प्रक्रिया, व्यवस्थापनबारे जिज्ञासा राख्नुभएको थियो । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले राष्ट्रपतिको सुर्खेत बसाइँका क्रममा आफूहरूले कांक्रेविहार अवलोकन गराएर स्वागत गरेको बताउनुभयो । अवलोकनपश्चात राष्ट्रपतिलाई नगरपालिकाको तर्फबाट प्रमुख ढकालले सुर्खेतका पर्यटकीयस्थलहरू समेटिएको मायाको चिनो हस्तान्तरण गर्नुभयो । राष्ट्रपति भण्डारीलाई कांक्रेविहार परिसरमा कर्णाली प्रदेशसभाका सदस्य, वीरेन्द्रनगर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले स्वागत गरेका थिए ।

राष्ट्रपतिका स्वकीय पे्रस सचिव सोम राईले कांक्रेविहारको सांस्कृतिक, ऐतिहासिक, पुरातात्विकपक्षको प्रवद्र्धन गर्ने उद्देश्यले अवलोकन भ्रमण गरेको बताउँदै भन्नुभयो, “यस्ता ठाउँहरूको प्रवद्र्धन गर्न, स्वच्छता कायम राख्न र वातावरण संरक्षणलाई प्राथमिकतामा राख्न राष्ट्रपतिले विशेष चासो राख्दै आउनुभएको छ ।” राष्ट्रपति भण्डारी बुधबार बिहान सुदूरपश्चिमको प्रसिद्ध धार्मिकस्थल बडिमालिका जाने कार्यक्रमरहेको छ । उहाँ आज सुर्खेतस्थित नेपाली सेनाको पश्चिम कमाण्ड हेडक्वाटर निमारेमा बस्नुहुनेछ ।-रासस

प्रतिक्रिया दिनुहोस !