बागमती ।  बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफ्नो नेतृत्वमा प्रदेशलाई समृद्ध बनाउने सन्दर्भमा उल्लेख्य कामहरु भइरहेको बताउनुभएको छ ।

बागमती प्रदेशसभाको दशौँ अधिवेशन बैठकलाई आज सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले हेटौँडा अस्पतालमा नै मिर्गौला प्रत्यारोपण सुरु गर्ने गरी सरकारले काम गरिरहेको बताउनुभयो । यसका लागि धर्मभक्त माथेमा मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरसँग सहकार्य भइरहेको उहाँले उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री पाण्डेले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौँडा अस्पताललाई छुट्याएर दुवैको संस्थागत विकासका लागि प्रदेश सरकारले काम गरिरहेको बताउनु्भयो । उहाँले हेटौँडा अस्पताललाई कम्तीमा ३०० बेड क्षमताको अस्पतालको रुपमा विकास गर्ने गरी काम भइरहेको उल्लेख गर्नुभयो । त्यस्तै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानकै लागि केन्द्र सरकारबाट स्वीकृति लिएर हेटौँडामा साढे १२ बिघा जमिनको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै यातायात क्षेत्रको सुधारका लागि ट्रायल सेन्टरको स्थापना, त्यसको पूर्ण सञ्चालन तथा त्यहाँ कार्यरत कर्मचारीलाई प्रोत्साहन गरी सवारी चालक प्रमाणपत्र दिने सन्दर्भमा उल्लेख्य काम भइरहेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । उहाँले सार्वजनिक सवारी साधनमा विद्युतीय भाडा तिर्ने प्रविधि लागू गर्न प्रदेश सरकारले कार्यविधि पास गरिसकेको बताउनुभयो

सरकारले भैँसे–भीमफेदी सडक विस्तारका सन्दर्भमा देखिएको समस्या समाधानका लागि क्षतिपूर्ति निर्धारणसम्बन्धी कार्यविधि पारित गरी स्थानीयलाई क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था मिलाएको र उनीहरुले चाँडै क्षतिपूर्ति पाउने मुख्यमन्त्री पाण्डेको भनाइ छ । अहिले सडक विस्तारको काम भइरहेको छ । उहाँले प्रदेशमा किताबखाना स्थापना गरिएको बताउनुभयो ।

त्यस्तै पूर्वमुख्यमन्त्री एवं नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनले सत्ताको दुरुपयोग गरेको आरोप लगाउनुभयो । उहाँले देशभर उच्च मूल्यवृद्धि भएकामा चिन्ता व्यक्त गर्नुभयो । जनताको दैनिकीमा समस्या सिर्जना भएको उल्लेख गर्दै उहाँले सङ्घीय सरकारले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले स्थानीय तह निर्वाचनमा गठबन्धनको पक्षमा स्थानीय तहको निर्वाचनको समयमा देखिएको माहोलबाट डराएर एमालेले जो भेट्यो त्यहीसँग चुनावी तालमेल गरेको आरोप लगाउनुभयो ।

बैठकमा विवेकशील साझाका संसदीय दलका नेता रमेश पौड्याल र नेपाल ममजुर किसान पार्टीका सुरेन्द्र गोसाईँ, राप्रपाकी रीना गुरुङलगायतले प्रदेश सरकारले जनताको भावनाअनुरुप काम गर्न नसकेको आरोप लगाउनुभयो । उहाँहरुले शीर्ष दलहरुबाटै जनभावनालाई उपेक्षा गर्ने कार्य भइरहेको भन्दै सच्चिएर अघि बढ्न सुझावसमेत दिनुभयो ।

बागमती प्रदेशसभामा पाँच अध्यादेश पेश

बागमती प्रदेशसभामा आज पाँच अध्यादेश पेश भएको छ । आजदेखि सुरु भएको प्रदेशसभाको दशौँ अधिवेशनको पहिलो बैठकमा प्रदेश सरकारका तर्फबाट पाँच अध्यादेश पेश भएको हो ।

सरकार सञ्चालनका क्रममा अत्यावश्यक ऐनलाई अध्यादेशमार्फत ल्याएका कारण सदनमा पेश गरिएको हो । प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनालले विभुषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश र स्वास्थ्यमन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश सभामा पेश गर्नुभएको हो ।

त्यसैगरी, युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले प्रदेश युवा परिषद् ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश पेश गर्नुभयो । त्यस्तै प्रदेश निजामती सेवा अध्यादेश, २०७८ र स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश, २०७८ संसद्मा पेश गरिएको छ । आजै बसेको दोस्रो बैठकमा अर्थमन्त्री शालिकराम जम्मकट्टेलले आगामी आर्थिक वर्षको प्रि बजेटसमेत पेश गर्नुभएको थियो । सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक जेठ १४ गते बिहान ११ गते बस्ने गरी आजको बैठक स्थगित गर्नुभयो ।-रासस

प्रतिक्रिया दिनुहोस !