वासिंगटन । विश्व बैंकका प्रमुखले युक्रेनमा रुसले अतिक्रमण गरेपछि संसारभरि खानेकुरा, ऊर्जा र मलखादको भाउ चर्को रूपमा उकालो लागेका कारण विश्वव्यापी आर्थिक मन्दी हुने चेतावनी दिएका छन्।

विश्व बैंकका प्रमुख डेभिड मालपासले बुधवार अमेरिकामा आयोजित एक व्यापारिक समारोहमा बोल्दै “विश्वव्यापी आर्थिकमन्दी हुन नदिने अवस्था कसरी ल्याउने” भन्ने आकलन गर्न गाह्रो भएको बताएका छन्।

उनले चीनमा शृङ्खलाबद्ध रूपमा भइरहेको कोरोनाभाइरस लकडाउनले पनि आर्थिक वृद्धिको गति सुस्त हुने चिन्तामा बल पुर्‍याइरहेको टिप्पणी गरे।

विश्वको अर्थतन्त्र अब खुम्चिने जोखिममा रहेको भन्ने पछिल्ला चेतावनीयुक्त सन्देशहरूका क्रममा उनको यो टिप्पणी आएको छ।

“विश्वव्यापी कुल गार्हस्थ्य उत्पादनहरूलाई हेर्ने हो भने, अब आर्थिक मन्दीको अवस्था कसरी आउन नदिने हो भनेर अहिले विचार गर्दा त्यस्तो उपाय देख्न एकदमै गाह्रो छ,” मालपासले भने।

यद्यपि उनले त्यसबारे कुनै विशिष्ट तथ्याङ्कहरू प्रस्तुत भने गरेनन्।

कारक
“ऊर्जाको मूल्य दोबर हुनु नै आर्थिकमन्दीको अवस्था ल्याउने पर्याप्त कारक हो,” उनले भने।

गत महिना विश्व ब्याङ्कले उसको यो वर्षको विश्वव्यापी आर्थिक वृद्धिको अनुमानित सूचकाङ्कमा पूरा एक प्रतिशत बिन्दुले कटौती गर्दै ३.२% मा झारेको थियो।

कुल गार्हस्थ्य उत्पादन भनिने सूचकाङ्क देशहरूको आर्थिक वृद्धिको मापक हो।

त्यो देशहरूका अर्थतन्त्रको अवस्थामा कतिको सुधार वा कमजोरी देखिएको छ भनेर मापन गर्ने सबैभन्दा महत्त्वपूर्ण उपायमध्येको एक हो।

अर्थशास्त्रीहरू र केन्द्रीय ब्याङ्कहरूले यसलाई नजिकबाट निगरानी गर्ने गर्छन्। BBC

प्रतिक्रिया दिनुहोस !