चितवन । स्थानीय तह निर्वाचनको मतपरिणामअनुसार चितवनमा नेकपा (एमाले) पहिलो दल बनेको छ ।

जिल्लाका सात स्थानीय तहका तीन प्रमुख, चार उपप्रमुख र ३६ वडाध्यक्ष जित्दै एमाले पहिलो दल बनेको हो ।

पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य गरी कुल ५०४ जनप्रतिनिधिमध्ये एमालेका मात्रै २४२ जना निर्वाचित भएका छन् ।

जिल्लाका ७ वटै पालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाबीच तालमेल भएको थियो ।

नेकपा एमालेले भरतपुर महानगरपालिका र माडी नगरपालिकामा राप्रपासँग तालमेल गरेको थियो ।

दलगत रूपमा हेर्दा एमाले एक्लैले धेरै पालिका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष जितेको छ ।

वडा अध्यक्ष भने धेरै गुमाएको छ । अघिल्लोपटक ५७ वडा जितेको एमालेसँग अहिले ३६ वडाध्यक्ष मात्रै छन् । एमालेले भरतपुरमा ६ रत्ननगरका ५, खैरहनीका ७, राप्तीका ८, कालिकाका ४, इच्छाकामनाका ५ र माडीको एक गरी ३६ वडा जितेको छ ।

त्यस्तै, चितवनको खैरहनी नगरपालिकामा माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाका कुनै पनि पदका उम्मेदवार निर्वाचित हुन सकेनन् ।

कांग्रेसका २७, एमालेका ४० जना जनप्रतिनिधिले जित्दा माओवादी, एकीकृत समाजवादी र राप्रपाबाट एक जना सदस्यले पनि जित्न सकेनन् ।

सो नगरपालिमा ६७ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । माओवादी केन्द्र र कांग्रेसबीच गठबन्धन भएर माओवादी केन्द्रकी लक्ष्मी ढकालले उपमेयरमा उम्मेदवार बनेकी थिइन् ।

यस्तै राप्ती नगरपालिकामा माओवादीका १ र एकीकृत समाजवादीका २ जना जनप्रतिनिधि मात्रै निर्वाचित हुँदा एमालेबाट ४६ र कांग्रेसबाट १७ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।

कालिका नगरपालिका र रत्ननगर नगरपालिकाबाट माओवादीका ५/५ जना जनप्रतिनिधिले मात्रै जितेका छन् । एकीकृत समाजवादीले इच्छाकामना, कालिका, रत्ननगर नगरपालिकामा एक सिट पनि जित्न सकेन ।

जिल्ला समन्वय समितिमा बराबरी मत

अघिल्लोपटक माओवादीको समेत सहयोगमा जिल्ला समन्वय समिति जितेको एमालेका लागि यसपटक भने चुनौती थपिएको छ ।

जिल्लाका सात पालिकामा १४ जना प्रमुख र उपप्रमुखमा एमालेबाट ७ जना र पाँच दलीय गठबन्धनबाट ७ जना निर्वाचित भएका छन् ।

जिसस प्रमुख र उपप्रमुखको निर्वाचनमा पालिका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्षले मतदान गर्छन् ।

अहिलेको पाँच दलीय गठबन्धनमा कुनै फेरबदल नआए जिससको निर्वाचनमा गोलाप्रथा हुने पक्का भएको छ ।

 

प्रतिक्रिया दिनुहोस !