दाङ ।  सत्ता गठबन्धनलाई पराजित गर्दै तुलसीपुर उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । प्रमुखमा टीकाराम खड्का ३ हजार ६ सय ९१ मतान्तरले विजयी भएका छन् । खड्काले ३१ हजार ४ सय ८ मत प्राप्त गरेका छन् भने उनका निकतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका गेहेन्द्र गिरीले २७ हजार ७ सय १७ मत प्राप्त गरेका छन् ।

खड्का एमाले पूर्व जिल्लाअध्यक्ष हुन् । उनी किसान नेताका रूपमा परिचित छन् । लामो समयदेखि राजनीतिमा क्रियाशील रही पहिलोपटक निर्वाचनमा होमिने अवसर पाएका हुन् । कांग्रेस केन्द्रीय सदस्य गिरी २०७४ को निर्वाचनमा पनि प्रमुखमा प्रतिस्पर्धा गरी पराजित भएका थिए । ०७४ मा एमालेका घनश्याम पाण्डे २२ हजार ८ हजार ५७ मतका साथ विजयी भएका थिए भने गिरीले १८ हजार ९ सय ३ मत प्राप्त गरेका थिए ।

उपप्रमुखमा एमालेकी स्यानी चौधरी ९ हजार ५ सय ३२ मतान्तरका साथ विजयी भएकी छिन् । चौधरीले ३० हजार ५ सय ९७ मत प्राप्त गरेकी छिन् भने उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका जोगबहादुर रानाले २१ हजार ६५ मत प्राप्त गरेका छन् । चौधरी तुलसीपुरमा दिदी घर संस्था सञ्चालन गरी असहाय बालबालिकाको संरक्षण गर्दै आएकी छिन् । उनी पहिलोपटक निर्वाचनमा होमिएर निर्वाचित भएकी छिन् । पराजित राना समाजवादीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज हुन् । निर्वाचनमा पराजय भोगेपछि उनले पार्टीको पदबाट राजीनामा दिएका छन् ।

एमालेले तुलसीपुरमा २, ३, ६, ८, १०, ११, १३, १५, १८ र १९ नम्बर वडा जितेको छ । कांग्रेसले ५, ७, ९, १४, १७ र माओवादी केन्द्रले १, ४ र १२ नम्बर वडा जितेको छ । १६ नम्बर वडा भने स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

तुलसीपुरको मतपरिणाम आएसँगै जिल्लाको निर्वाचन सकिएको छ । जिल्लाका १० स्थानीय तहमध्ये एमालेले घोराही र तुलसीपुर उपमहानगरपालिकामा प्रमुख, उपप्रमुखसहित बहुमत वडा जितेको छ । कांग्रेसले लमही नगरपालिकाका साथै बबई, दंगिशरण, शान्तिनगर र राजपुर गाउँपालिका प्रमुख र उपप्रमुख जितेको छ । माओवादी केन्द्रले बंगलाचुली, राप्ती र गढवा गाउँपालिकामा अध्यक्ष जितेको छ । कांग्रेसले बंगलाचुली र गढवा गाउँपालिकामा उपाध्यक्ष जितेको छ । एमालेले राप्ती गाउँपालिकामा उपाध्यक्ष जितेको छ ।

२०७४ मा एमालेले दुई उपमहानगरपालिका र एक नगरपालिका र चार गाउँपालिका जितेको थियो । कांग्रेसले तीन गाउँपालिका जितेको थियो भने माओवादी केन्द्रले एक गाउँपालिका मात्रै जितेको थियो । अहिले एमालेले चार पालिका गुमाएको छ भने कांग्रेस र माओवादी केन्द्रले दुई/दुई पालिका बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस !