गलेश्वर ।  म्याग्दी र कालीगण्डकी नदी कटानका कारण उच्च जोखिममा रहेका म्याग्दीका तीन बस्ती संरक्षणका लागि बर्खा लागिसक्दा पनि तटबन्धनको काम सुरुआत हुन सकेको छैन । तटबन्धन थालनी नहुँदा सम्भावित जोखिमका कारण स्थानीयवासी त्रसित बनेका छन् ।

म्याग्दी नदीको कटानका कारण उच्च जोखिममा रहेको बेनी नगरपालिका–४ मा पर्ने सिंगा तातोपानी, बेनी नगरपालिका–२ को बगरफाँट र कालीगण्डकी नदीको कटानका कारण उच्च जोखिममा रहेको उत्तरी म्याग्दीको भुरुङ तातोपानी बस्ती संरक्षणका लागि अझैसम्म पनि काम सुरु नभएपछि स्थानीयवासी त्रसित बनेका हुन् ।

म्याग्दी नदीमा आएको बाढीको कटानले बेनी नगरपालिका–४ स्थित उपल्लो तातोपानी बजार उच्च जोखिममा परेका छन् । साथै खेतीयोग्य जमिन पनि नष्ट भएको छ । बाढीले बेनी–४ को मसार, तातोपानीको उपल्लो बजार र सरस्वती मावि पनि उच्च जोखिममा परेका स्थानीय व्यवसायी वीरेन्द्रमान शाक्यले बताउनुभयो ।

नदीको कटानका कारण स्थानीयवासीको करिब १६ रोपनी बढी खेतीयोग्य जमिन बगाएको छ । नदीले धार परिवर्तन गरेर बस्ती कटान गर्न थालेपछि स्थानीयवासी त्रासमा बस्न बाध्य भएको स्थानीयवासीको गुनासो छ । गत वर्ष भएको अविरल वर्षाका कारण म्याग्दी नदीमा आएको बाढीको कटानले विद्यालयको खाजाघरसमेत बगाएको थियो । विद्यालयको चारकोठे भवन र शौचालय उच्च जोखिममा परेका छन् भने त्यस नजिकै रहेका बस्ती र आमा समूहको भवनसमेत जोखिममा छन् ।

बर्सात कारण नदी कटानको जोखिम नरोकिएकाले त्रासमा पठनपाठन सञ्चालन गर्नुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक सुरत बानियाँले बताउनुभयो । उहाँले बस्ती र विद्यालय संरक्षणका लागि वडा कार्यालय तथा नगरपालिकालाई जानकारी गराएपछि डिपिआरको काम भए पनि बस्ती संरक्षणको काम भने अझै सुरु हुन नसकेको बताउनुभयो ।

बेनी –४ का निवर्तमान वडाध्यक्ष गोविन्दप्रसाद पौडेलका अनुसार बाढीको कटानले उच्च जोखिममा रहेका मसार बस्तीका १४ घरमध्ये आठ घर विस्थापित भएका छन् । विस्थापित परिवारलाई आफन्तकोमा स्थानान्तरण गरिएको छ ।

यसैगरी कालीगण्डकी नदीको कटानले उत्तरी म्याग्दीको भुरुङ–तातोपानी बजार पनि उच्च जोखिममा छ । मुस्ताङ जाने र फर्कने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकस्थल, प्राकृतिक तातोपानीको कुण्ड र बजार रहेको तातोपानी संरक्षणका लागि नदी किनारमा निर्माण भएको पक्की पर्खाल बाढीले भत्काएपछि जोखिम बढेको स्थानीयवासीले बताएका छन् ।

रोकथामको काम प्रभावकारी नहुँदा कालीगण्डकीले निरन्तर बस्तीतर्फ कटान गरिरहेको स्थानीय श्यामबहादुर रानाले बताउनुभयो ।

यसैगरी म्याग्दी नदी कटानका कारण उच्च जोखिममा रहेको बेनी –२ बगरफाँट र बेनी नगरपालिक–३ दुधेखोलामा पनि नियन्त्रणको काम अझै सुरुआत नहुँदा स्थानीयवासी चिन्तित भएका छन् । कालीगण्डकी नदी कटानका कारण जोखिममा परेको बेनी बजार संरक्षणको काम सुरु भएको छ तर, म्याग्दी नदी कटानको जोखिममा रहेका ठाउँको संरक्षणमा सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयवासीले गुनासो गरेका छन् ।

“बर्खा लाइसक्यो, तर बस्ती संरक्षणको काम भने अझै सुरु भएको छैन, यो वर्खा कसरी कटाउने हो त्रासमा छौँ”, बगरफाँटका डिलबहादुर घर्तीले बताउनुभयो । शिरानमा विशाल भिरबाट खस्ने पहिरो र पुछारमा म्याग्दी नदीको तीव्र कटानका कारण बेनी–२ बगरफाँट गाउँ उच्च जोखिममा पर्दै जान थालेको छ । विसं २०५७ देखि सो नदीले कटान गर्न सुरु गरेको बगरफाँटमा रहेका २०० घरधुरी वर्षाका समयमा गाउँको शिरानबाट खस्ने पहिरो र गाउँको पुछारमा उर्लिदै बग्ने म्याग्दी नदीको कटानबाट बर्सेनि त्रसित हुने गरेका छन् ।

जिल्ला नदीको कटान नियन्त्रणका लागि बर्सेनि नदी किनारमा ग्याबिन जाली भर्ने गरिएको भए पनि वर्षामा ढुङ्गा र लेदोसहित उर्लिएर आउने नदीको तीव्र गतिका कारण नियन्त्रण हुन नसकेको स्थानीयवासीले बताएका छन् । सो नदीको कटानका कारण बगरफाँटको १५० रोपनी क्षेत्रफलभन्दा बढी खेतीयोग्य जमिन नास भइसकेको र नदी कटानको समस्या अझै विकराल बन्दै गएको स्थानीय नारायण कार्कीले बताउनुभयो । उहाँका अनुसार बेनी–३ को तारोखेतबाट बगेर बगरफाँटको शिरानमा अवस्थित विशाल पहरो हुँदै आउने पहिरो नियन्त्रण सम्भव नभए पनि नदी कटान नियन्त्रण गर्नसके केही मात्रामा भए पनि गाउँ सुरक्षित हुन्छ ।पहिरो र नदी कटानका कारण सुन्दरबस्ती र कृषिउपजका लागि उर्बर फाँट रहेको बगरफाँट बर्सेनि साँघुरिँदै जान थालेको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस !