चितवन । कार्यालयको बोर्ड झिक्ने क्रममा विद्युत सर्ट भई आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । भरतपुर महानगरपालिका वडा नं. १० स्थित शिखर इन्स्युरेन्स कम्पनीको शाखा कार्यालयमा कार्यरत सकुन्तला पौडेल सुवेदीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरी अधिकारीका अनुसार आज दिउँसो १ः१५ बजेको समयमा कार्यालयको बाहिरपट्टी झुण्डाएको फ्लेक्स बोर्ड झिक्ने क्रममा उक्त घटना भएको हो । घटनामा परी भरतपुर महानगरपालिका वडा नं. १० कटहर चोक बस्ने अन्दाजी ३६ वर्षिया सुवेदीको मृत्यु भएको हो ।

सोही कार्यालयमा कार्यरत भरतपुर महानगरपालिका वडा नं. ७ निवासी अन्दाजी २२ वर्षिय तरुण थापा घाईते हुनु भएको प्रहरीले जनाएको छ । उहाँको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ ।

प्रहरीका अनुसार बोर्ड झिक्ने क्रममा अचानक विद्युत सर्ट भई आगलागी भएको थियो । उक्त आगो भरतपुर महानगरको मदकल, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमका १ः४० बजे पूर्ण नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । आगलागीबाट कार्यालयका कागजातहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस !