काठमाडौँ ।  अमेरिकाको ओहायो शहर निवासी गीतकार गोपाल लोहारले नयाँ साङ्गीतिक सौगात ‘तिम्रै नाम होस्’ सार्वजनिक गर्नुभएको छ । यस गीतलाई वरिष्ठ सङ्गीतकार वसन्त सापकोटाले सङ्गीतबद्ध गर्नुभएको हो । गीतलाई सञ्जीव बराइलीले सङ्गीत संयोजन गर्नुभएको हो ।

गीतमा लोकप्रिय गायक राजेश पायल राई र चर्चित गायिका अस्मिता अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ । म्युजिक भिडियोमा गायक राई र नायिका केकी अधिकारीको अभिनय रहेको छ । सुदीप बरालले छायाङ्कन गरेको भिडियोलाई अर्जुन जिसीले सम्पादन गर्नुभएको हो ।

‘फूल सरी फुले पनि हो, काँडा सरी बिझे पनि हो, जिन्दगी यो मेरो तिम्रै लागि हो’, ‘यो मायाले ढाके पनि हो, पिरती यो मेरो तिम्रै लागि हो’, ‘तिमी मेरो सपना हौँ, तिमी मेरो चाहना हौँ’, ‘तिमी मेरो आँखामा छौँ, जिन्दगी यो मेरो तिम्रै नाम होस्’ लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ ।

भीमा लोहार निर्मात्री रहेको भिडियोलाई कविराज गहतराजको निर्देशनमा तयार पारिएको हो । गोलो प्रोडक्शनको आधिकारिक च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो । यसअघि गीतकार लोहारको शब्दमा समावेश ‘किन मायामा’, ‘एकै छिन’, ‘राधा पियारी’ लगायत दर्जनौँ म्युजिक भिडियो साङ्गीतिक बजारमा सार्वजनिक भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस !