
चितवन । भरतपुर महानगरपालिका–१० का निवर्तमान वडा अध्यक्ष अरुणपीडित भण्डारीले यस पटक वडा सदस्यमा उमेदवारी दिएका थिए । नेकपा एमाले विभाजन भएपछि एकिकृत समाजवादीतिर लागेका भण्डारीले भरतपुर–१० को खुला सदस्यमा ६० मत मात्रै पाएका छन् ।
भरतपुर–१० को अध्यक्षमा पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका परमेश्वर खनाल निर्वाचित भएका छन् । गठबन्धनले मिलाएको भागभण्डा अनुसार भण्डारीले खुला वडा सदस्यमा उमेदवारी दिएका थिए ।
खुला वडा सदस्यमा कांग्रेसका रेशमराज थापा (२३२५) र एमालेका निरबहादुर लामा (१८५६) निर्वाचित भएका छन् । खुला सदस्यमा दुई जना मात्रै निर्वाचित हुने व्यवस्था छ । सदस्यका अरु उमेदवार एमालेका दधिराम देवकोटाले १८ सय १४, कांग्रेसका मित्रनिधी तिवारीले ११ सय ५० र माओवादीका शम्भुलाल पाख्रिनले ११ सय ३० मत ल्याए ।
निर्धारित समयभित्र पनि उमेदवारी फिर्ता नलिई एक्लै चुनावी प्रचारमा हिँडेका भण्डारीले मतदान हुनुभन्दा केहि दिनअघि मात्रै उमेदवारी फिर्ता लिएको बताएका थिए । गठबन्धनका दलले नै भण्डारीलाई वास्ता नगरेपछि भण्डारीले उमेदवारी फिर्ता लिएका हुन् ।
भण्डारीलाई संगै चुनावी प्रचार अभियानमा लैजाँदा उल्टो भोट काटिने डरले गठबन्धनका दलले उनलाई वास्ता नगरेका हुन् ।