चितवन । भरतपुर महानगरपालिका–१७ स्थित गाँजीपुरमा स्वर्गीय मदन भण्डारी र जीवराज आश्रितप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

नेकपा (एमाले) का तत्कालिन महासचिव मदनकुमार भण्डारीको शव प्राप्त भएको ठाउँमा मदन भण्डारी स्मृति पार्क समितिले श्रद्धाञ्जली कार्यक्रम गरेको हो ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटीका सल्लाहकार एवम् मदन भण्डारी फाउण्डेसन चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईले दासढुंगादेखि गाँजीपुरसम्म एकीकृत विकासका लागि पहल गरिएको बताए । उनले यस क्षेत्रको समग्र विकास गर्न अवधारणा तयार गरिएको जानकारी दिँदै चिनियाँ अनुदानमा काम गर्न लागिएको बताए । उनले भने, ‘चिनिया अनुदानमा दासढुंगादेखि गाँजीपुरसम्मको समग्र विकासका लागि पहल भएको छ, तर वर्तमान सरकारले काम अघि बढ्न दिएको छैन ।’ सरकारी पहल नहुँदा अनुदानमा हुने काम रोकिएको उनको भनाइ छ ।

गाँजीपुरमा विभिन्न संरचना निर्माण गर्ने काम हुँदै आएको बताउँदै उनले स्थानीयस्तरबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गरे । भट्टराईले जननेता भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादको बाटोमा अघि बढ्दै जानुपर्ने बताए ।

मदन भण्डारी स्मृति पार्क समितिका अध्यक्ष गौरस तामाङको अध्यक्षतामा भएको कार्यक्रममा मदन स्मृति सामुदायिक वाचनालयका अध्यक्ष नारायण सुवेदी, नेकपा एमाले भरतपुर –१८ कमिटी अध्यक्ष कृष्णभक्त भट्टराई, नेकपा एमाले जिल्ला कमिटी सदस्य मेखबहादुर तामाङलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम विभिन्न वडाका प्रतिनिधि, एमाले महानगर कमिटीका सदस्य, पत्रकार, एमाले जनवर्गीय संगठनका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको कार्यक्रम एमाले महनगर कमिटी सदस्य एवम् मदन भण्डारी स्मृति पार्क समिति सदस्य टीएम गुरुङले सञ्चालन गरेका थिए ।
सो अवसरमा मदन भण्डारीको शव प्राप्त गर्ने चार जनालाई सम्मान गरिएको छ । सम्मानित हुनेमा स्थानीय किसान ठकुरी, हेमु थापा, श्याम थापामगर र टोकमान गुरुङ छन् ।

कार्यक्रममा गाँजीपुरमा रहेको मदन भण्डारीको शालिकमा माल्यार्पण गरिएको थियो । विसं २०५० साल जेठ ३ गते हालको भरतपुर महानगरपालिका वडा नं. २९ दासढुंगामा रहस्यमय जीप दुर्घटना हुँदा जननेता भण्डारी र कुशल संगठन आश्रितको निधन भएको थियो । आश्रितको पार्थिव शरीर दासढुंगामा र भण्डारी पार्थिव शरीरको जेठ ५ गते भरतपुर १७ गाँजीपुरमा फेला परेको थियो । उक्त क्षेत्रलाई ‘मदन भण्डारी स्मृति पार्क’ का नाममा पर्यटकीय रुपमा विकास गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस !