काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत शुक्रबार बिहानबाट सुरु भएको मतदानका क्रममा देशका विभिन्न मतदान केन्द्रमा तनावपूर्ण स्थिति सिर्जना भएको छ ।

केही केन्द्रमा तनावका कारण मतदान अझै सुरु हुने सकेको छैन भने केहीमा तनाब व्यवस्थापन गरी मतदान सुचारु समेत गरिएको छ ।

तनाव र अवराेधमा अहिलेसम्म कुनै अप्रिय घटना नभए पनि मतदान कार्यक्रम प्रभावित भएकाे छ ।

कहाँ कहाँ भए तनाव ?

सर्लाहीको धनकौलमा गोली चलेको छ । सर्लाहीको धनकौल गाउँपालिकास्थित पशुसेवा मतदान केन्द्रमा गोली चलेको हो ।

मतदानस्थल र प्रतिनिधि छनोटबारे दलहरुबीच विवाद बढेपछि ढुंगामुढा प्रहार हुन थालेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ६ राउण्ड हवाईफायर गरेको हो । फायरपछि मतदान रोकिएको छ ।

दोलखाको बैतेश्वर गाउँपालिकाको मतदान केन्द्रमा नेपाली कांग्रेसका कार्यकर्ताले केही घण्टा मतदान कार्यक्रम अवरोध गरे । पालिकाको वडा नम्बर १ र २ का मतदान स्थलमा नेपाली कांग्रेसका कार्यकर्ताले रातिदेखि नै अवरोध गरेका हुन् । उनीहरुले बुथ कब्जा गर्न खोजेपछि तनाब उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी गंगा पौडेलले जानकारी दिए । उनकाअनुसार मतदाता आउने बाटो अवरोध गरेका कांग्रेस कार्यकर्ताले मतदान केन्द्रमासमेत ढुंगामुडा गरेका छन् । उनीहरुले ढुंगामुडा प्रहार गरेर अन्य दलका कार्यकर्तालाई प्रवेश गर्न नै दिएका थिएनन् । वडा नं १ को गैरीमुढीको पुतलीकाठ मतदानस्थल र २ का मतदानस्थलमा पनि उनीहरूले अवरोध गरेका थिए ।

रामेछापको सुनापति र खाँडादेवी गाउँपालिकाको मतदान केन्द्रमा झडप भएको छ । एउटा पक्षले अर्कोपक्षलाई कुटपिट सुरु गरेपछि उक्त दुई मतदान केन्द्रमा झडप भएको हो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले २ राउन्ड हवाई फायरसमेत गर्नुपरेको छ ।

त्यस्तै, काभ्रेको चौंरीदेउराली गाउँपालिकास्थित एक मतदान केन्द्रमा तनावको स्थिति सिर्जना भएको छ । परिवारभित्रकै एक व्यक्तिको भोट अर्को व्यक्तिले हालेपछि विवाद सुरु भएको थियो ।

सिन्धुपाल्चोकको मेलम्ची–४ मा अशक्त र अपांगता भएका व्यक्तिहरुलाई आफन्तले नभई दलका प्रतिनिधिहरुले मतदान गर्न सघाएपछि तनाव सिर्जना भएको छ ।

यसैगरी पाँचपोखरी थाङपाल–२ को याङ्ग्री मतदान केन्द्रमा एउटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर छुटेको मतपत्र भेटिएपछि पनि भएको थियो ।

बाजुराको बुढीनन्दा नगरपालिकास्थित मतदान केन्द्रमा तनाव भएपछि हवाई फायर भएको छ ।

दुई पक्षबीच सामान्य विवादमा ढुंगा हानाहान भएपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरिएको थियो ।

दैलेखको ठाँटीकाँध गाउँपालिका–६ को मतदान स्थलमा दुई दलबीच विवाद भएपछि मतदान स्थगित भएको छ । ठाँटीकाँध–६ मालिका माविमा रहेको पाचला मतदान केन्द्र बाहिर एमाले र नेमकिपाका कार्यकताहरूबीच विवाद भएपछि मतदान स्थगित भएको हो ।

कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीको वडा समेत रहेको पाचलामा उक्त दलबीच विवाद भएपछि भीडलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गरेको थियो ।

जिल्ला प्रहरीका कार्यालय दैलेखका अनुसार हाललाई मतदान प्रक्रिया स्थगित गरिएको छ भने थप सुरक्षाका लागि जिल्लाबाट प्रहरी परिचालन गरिएको छ । हाल समस्या समाधान गरेर मतदान शुरु भएको छ ।

ओखलढुंगाको चम्पादेवी गाउँपालिका–९, मिश्र भन्ज्यांङको मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ ।

झडपका क्रममा स्थितिलाई नियन्त्रणमा लिन ९ राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गण्डकी गाउँपालिका–७ घ्याल्चोकको ज्ञानमार्ग मावि मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । हवाई फायर गरेर प्रहरीले स्थिति नियन्त्रणमा लिएपछि बल्ल मतान सुरु भएको छ ।

बाराको सिम्रौनगढ नगरपालिका–२ बैरिया मतदान केन्द्रमा दुई समूहबीच झडप भएको छ । नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) समर्थकबीच झडप भएको हो ।

प्रतिक्रिया दिनुहोस !