
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ३० गते सम्पन्न हुने स्थानीय निर्वाचनमा निर्धक्क भई मतदान गर्न सबै दिदीबहिनी तथा दाजुभाइमा आह्वान गर्नुभएको छ ।
शुक्रवार देशभर स्थानीय तहको निर्वाचन हुन गइरहेको पूर्व सन्ध्यामा आज दिनुभएको सन्देशमा राष्ट्रपति भण्डारीले निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव भएको हुनाले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा हरेक नागरिकले आफ्नो मताधिकार प्रयोग गर्ने वातावरण निर्माण गर्नु हामी सबैको दायित्व भएको बताउनुभएको छ ।
समाज र राष्ट्रका विकासका मुद्दाहरूलाई जनताको घरदैलोसम्म पुर्याउने विशेष अवसरका रूपमा निर्वाचनलाई ग्रहण गर्नुपर्ने बताउनुहुँदै उहाँले लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष नै ‘जनताले निर्वाचित गरेका प्रतिनिधिबाट मुलुकको शासन सञ्चालन हुनु हो’ भन्नुभएको छ ।
उहाँले आवधिक निर्वाचनले जनतामा निहित सार्वभौमसत्तालाई औपचारिक रूपले अभिव्यक्त गर्दै राज्य शक्तिको वास्तविक स्रोत जनतामा रहेको सत्यलाई व्यवहारमा प्रकट गर्ने सन्देशमा उल्लेख गर्नुभएको छ ।