चितवनको कालिका नगरपालिकामा नेकपा एमालेबाट नगर प्रमुखका उम्मेदवार विनोद रेग्मी आफु विजयी हुनेमा ढुक्कछन् । यसअघि कालिका नगरपालिका वडा नम्बर–६ का वडाध्यक्षसमेत रहेका रेग्मी विभिन्न सामाजिक संघसंस्थामा क्रियाशील छन् । २५ वर्षदेखि कालिका नगरपालिकामा क्रियाशिल रुपमा राजनैतिक र सामाजिक कर्ममा सहभागी हुँदै आएका रेग्मी कालिकाको चिरपरिचित व्यक्ती हुन । कालिकाको भुगोल र कालिका नगरवासीमा चिरपरिचित रेग्मीको राजनैतिक जिवन सामाजिक कर्म यही कालिका नगरमै वितेको छ । उम्मेदवारी पछिको अवस्था र कालिका नगरपालिकाको भावी विकासको योजनाका बारेमा रेग्मीसँग गरिएको कुराकानी

१) तपाईको पृष्ठभुमी के हो ?

२०४७ सालमा पञ्चकन्या मावि अध्ययन गर्ने क्रममा अनेरास्ववियुको प्रारम्भिक कमिटीको अध्यक्ष भएँ । २०५० सालमा प्रजातान्त्रीक राष्टिय युवा संघको चितवन जिल्ला सदस्य भएर तत्कालिन अवस्थामा स्थापना भएको पिपुल्स भोलेन्टियरको चितवन अध्यक्ष समेत भएँ । नेकपा एमाले जिल्ला कमिटि चितवनमा २०५७ साल देखि लगातार छैटौँ कार्यकाल सम्म जिल्ला सदस्य भएर काम गर्दै आएको छु ।

एमालेको जिल्ला कमिटिको सदस्यसंगै जिल्लामा विभिन्न विभागहरुमा पार्टीको तर्फबाट जिम्मेवारी लिएर कुशलता पुर्वक आफ्नो कार्य गरेको छु । जिल्ला वन समन्वय समिति, गैर सरकारी संस्था,सहकारी लगायत क्षेत्रमा पार्टीको तर्फबाट प्रतिनिधित्व गर्दै दिइएको जिम्वेवारी पुरा गर्दै आएको छु ।

२) तपाईको उम्मेदवारी किन ?

२०७२ सालमा साविकको पदमपुर,जुटपानी,शिद्धी,शक्तीखोर चारवटा गाविस समावेशगरी कालिका नगरपालिका स्थापना गर्ने क्रममा मेरो पनि महत्वपुर्ण भुमिका रहेको छ । नेकपा एमाले चितवनको तर्फबाट पार्टीको प्रतिनिधीको रुपमा यस कालिका नगरपालिकामा मैले सर्वदलिय नगरप्रतिनिधीको रुपमा सहभागिता जनाएर महत्वपुर्ण काम गरेको छु ।

२०७४ सलामा भएको स्थानिय तहको निर्वाचनमा मैले नगरप्रमुखको अपेक्षा राखेको थिएँ । तर, त्यस समयमा एमालेका आफु भन्दा सिनियर खुमनारयण श्रेष्ठले रहर गरेपछि सौहार्दपुर्ण बातावरणमा श्रेष्ठलाई समर्थन गरेको हो । तत्कालीन अवस्थामा मेयरको टिकट नपाएपछि कालिका नगरपालिकाको वडा नम्वर ६ को वडा अध्यक्षको उम्मेदवार बनेर निर्वाचित भएर काम गरेको छु ।

२०७४ सलामा भएको निर्वाचनमा वडा अध्यक्षमा सर्वाधिक मत ल्याएर विजयी भएको थिएँ । अन्य ५ दलको मत र रेग्मीले प्राप्त गरेको मतमा मैले प्राप्त गरेको मत नै धेरै थियो । कालिका नगरपालिका भित्र रहेका वडाहरु मध्य सवैभन्दा धेरै जनसंख्या रहेको वडा नम्वर ६ को अध्यक्षमा निर्वाचीत र सफल वडा अध्यक्षको पहिचान बनाएको छु । विगत २५ बर्ष कालिकामा दिएको योगदानले नै मेरो उम्मेदवारी हो ।

३ )तपाईको एजेन्डा के के हुन ?

ठुला र महत्वकाक्षी योजना बनाएको छैन । गर्नसक्ने कामका योजना बनाएको छु कालिका नगर क्षेत्रको भौतिक पूर्वाधारको विकास, चेपाङको जीवनस्तरमा परिवर्तन, पक्की सडक, शिक्षा र स्वास्थ्यमा सुधार, विपत्तिबाट कालिकालाई जोगाउने योजनाहरु नै छन् ।

कालिकामा भएको एउटा कलेज बन्द छ, त्यसलाई खुलाउने मेरो एजेन्डाभित्र पर्छ । खोलाहरु कुलो भएका छन्, त्यसलाई सुधार गर्ने मेरो योजना छ । विपन्न नागरिकहरुको जीवनमा परिवर्तन ल्याउनुछ, रोजगारीको व्यवस्था गर्नुछ । स्वास्थ्य क्षेत्रमा बिमालगायत, औषधोपचारको व्यवस्था गर्न लाग्नेछु ।

नगर क्षेत्रका कृषि पर्यटन शिक्षा स्वास्थ्य र रोजगारी उद्यमका बिषयलाई प्रथामिकतामा राखेको छु । नगरपालिकाबाट प्रभाह हुने सेवा सुविधा सहजरुपमा वितरण हुने बातावरण बनाउन लाग्नेछु ।

४) तपाईको विजयको आधार के हो ?

आफुले २५ बर्ष लगातार कालिकाको भुगोलमा बसेर राजनैतिक र सामाजिक काममै मात्र निरन्तर क्रियाशिल रहेको । आफ्नो बानी सिधा बोल्ने र प्रष्ट विचार राख्ने निष्पक्ष व्यवहार देखाउने स्वभाव भएको ।

धेरै जनसंख्या र मतदाता भएको वडा नम्वर ६ मा वडा अध्यक्ष भएर ५ बर्ष काम गरि सफल वडा अध्यक्ष भएको । स्थानीय पालिकाको काम गर्ने तरीका र शैलीका बारेमा अनुभव हासिल गरिसकेको । कालिका नगरपालिकामा कार्यबाहक मेयर भएर पटक पटक काम गरीसकेका र नगरको नेतृत्व गर्न सक्ने पहिचान बनएको । नगर भित्र आफुलाई आफैँले चिनाउदै हिड्न नपर्नु, र अरु कसैले चिनाइदिराख्नु नपर्ने गरी विगतदेखि नै यही भुगोलमा क्रियाशिल काम गरेको । कालिका नगरपालिका स्थापना कालमा महत्वपुर्ण भुमिका खेलेको ब्यक्ती हुनु र सर्बदलिय समितिमा एमालेको तर्फबाट प्रतिनिधित्व गरेर महत्वपूर्ण छलफलहरुमा नेतृत्वदायी भुमिका निर्भाह गरेको ।

कालिकामै जन्मेको,कालिकामै हुर्केको र आफ्नो जिवन विशुद्ध राजनैतिक र सामाजिक काममा कालिका नगरको लागि नै लगाएको ।आफनो पाटी एमाले बाहेकाका पार्टीका कार्यकर्ता र सुभेच्छुकको सद्भाव प्राप्त भएको । निर्बाचनको क्रममा भैरहेको भेटघाट र घरदैलो कार्यक्रममा स्वस्फूर्त रुपमा जनताको सहभागिता बढ्दै जानू ।

कालिका नगरपालिकामा एमाले एक ढिक्का रहनु र नगरको पार्टी नेतृत्वको एकता समन्वय र सहकार्य महत्वपुर्ण भएको । एमालेका केन्द्रिय उपाध्यक्ष एबम पुर्ब अर्थ मन्त्री सुरेन्द्र पाण्डेसङको सम्बन्ध राम्रो भएको र नेता पाण्डेको कालिकामा खास चासो रहनु । एमालेकै केन्द्रीय उपाध्यक्ष राम बहादुर थापा बादलको समेत चासो रहनु, संघीय संसद कृष्णभक्त पोखरेलको कालिकामा सहभागीता बढ्नु ।

कालीका नगरक्षेत्रका हरेक उमेर समुहका व्यक्तीहरुको आशिर्वाद प्राप्त भएको र बिषेशगरी युबा पुस्ताको आफु प्रतिको आकर्षण बढेको ।

५) तपाईलाई थप केही भन्नु छ ?

मैले पाँच वर्ष वडाध्यक्ष भएर काम गरेको छु । विभिन्न सामाजिक संघसंस्थामा बसेर खेलेको भूमिका पनि उच्च र सबैका लागि प्रशंसायोग्य नै छ । म राजनीतिज्ञ हुँ, किसानी गर्दै आएको मान्छे हुँ । मेरो कुनै ठेक्कापट्टाको काम होइन, किसानी काम हो । किसानको दुःख–पीडा कस्तो हुन्छ त्यो मलाई थाहा छ । मेरो २५ वर्षको राजनीतिक इतिहासमा मैले तल्लो तहमा बसेर काम गर्दै अहिले यहाँसम्म आएको छु । कालिकाको भूगोल चिनेको छु, यहाँको माटोमा घुलमिल भएको छु । यहाँको चेपाङको पीडा मलाई थाहा छ । सबैसँग घुलेर काम गरेको छु । म मेयर भएपछि सबैभन्दा पहिलो काम कालिका नगरपालिकाको समग्र विकासको गुरूयोजना बनाउँछु । विज्ञसहितको टोलीबाट रायसल्लाह लिएर बनाइएको गुरूयोजनालाई सम्पन्न गर्न कटिबद्ध भएर लाग्छु । मेयर भएपछि मेरो दोस्रो काम सेवाग्राहीलाई चुस्तदुरूस्त ठाउँका ठाउँ सेवा प्रदान गर्ने हुन्छ । सेवा लिनका लागि नागरिकले कुनै हैरानी खेप्न नपर्ने गरी सेवाको व्यवस्थापन गर्नेछु । नागरिकलाई सेवा प्रदान गर्नका लागि देशकै नमुना नगरपालिका बनाउँछु ।

प्रतिक्रिया दिनुहोस !