२०४७ सालमा कम्युनिष्ट राजनीति सुरु गरेकी विमला दुवाडीले चितवनको महिला अधिकारका क्षेत्रमा पनि करिब तीन दशक बिताइसकेकी छिन् । रत्ननगर नगरपालिकामा २०७४ सालमा उपप्रमुख पदमा विजयी भएर काम गरिसकेकी उनी अहिले नेकपा एमालेबाट नगरप्रमुख पदको उम्मेदवार छिन् । उनै दुवाडीसँग यहि बैशाख ३० गते हुने स्थानीय निर्वाचन र चुनावी प्रचारप्रसारको सेरोफेरोमा रहेर गरिएको कुराकानी :

आज त चुनावी प्रचार प्रसार गर्ने अन्तिम दिन, सबै नगरबासीकहाँ पुग्नुभयो ?
आज अन्तिम दिन हो । आज निर्वाचनको प्रचारप्रसार १० नम्बर वडा र १५ नम्बरमा पनि थियो । अन्तिम दिन भएकोले टिकौलीदेखि बेल्सीसम्म र्यालीसहित कोणसभा छ । सबै वडाहरुमा घरदैलोमा पनि पुग्यौँ । मैले साँचो कुरा बोल्नुपर्छ, सबै मतदाताकहाँ भने पुग्न सकिन । कतिपय ठाउँमा बाटोबाट हात हल्लाएको छु । कतिपय ठाउँमा फोन सम्पर्क गरेको छु । त्यसैले हरेक मतदातासँग क्षमा पनि मागेको छु ।
सबै मतदातासँग नपुगी आफ्ना एजेण्डा कसरी मतदाताकहाँ पुर्याउनुभएको छ त ?
हामीले कम्तिमा तीन पटकसम्म हरेक वडाका जनप्रतिनिधिका उम्मेदवारले सातै जनाको नाम फोटोसहित एजेण्डा घोषणापत्र लिएर प्रत्येक रत्ननगर बासीको घरमा पुगेका छौँ ।
विमला दुवाडीलाई मेयर पदमा रत्ननगरका मतदाताले किन भोट हाल्ने ?
मलाई २०७४ सालमा पनि उपप्रमुखमा मत दिएर जिताएर पठाउनुभएको हो । मैले उपमेयर भएर पाँच वर्ष काम गर्ने मौका पाएँ । चुनौती र अवसर दुबै पाएँ । अनुगमन समितिको सदस्य भएकोले म प्रत्येक घरघरमा पुगेको छु । कसको घर कहाँ छ भन्ने मलाई राम्रोसँग थाहा छ । पाँच वर्ष जुन काम गर्न उहाँहरुले पठाउनुभयो, मैले त्यो ठाउँमा बसेर पाँच वर्ष कुनै रंग नहेरीकन आफ्नो काम गरेँ । पाँच वर्ष कुनै रंग नदेखि काम गरेँ । मैले गुनासो लिएर आउनुहुने सबै नगरबासीको काम निष्पक्ष रुपमा काम गरेँ । त्यसैले पनि उहाँहरुले मलाई न्यायोचित व्यवहारको लागि पनि मत दिनुहुन्छ भन्ने विश्वास छ ।

तपाइँ उपप्रमुख भएर काम गर्दा केही अधुरा र गर्न बाँकी कामहरु प्रमुख भएपछि गर्छु भन्नुभएको थियो, नगरप्रमुख विजयी भएपछि तपाइँले गर्ने मुख्य कामहरु के के हुन् ?
हामीले निर्वाचित भएपछि हामीले गरेका काम छर्लड्ग छ । सडक पिच, स्तरोन्नती गर्यौँ । शिक्षामा ४ वटा प्राविधिक कलेज ल्याउन सफल भयौँ । कम मात्रै शुल्कमा पढ्ने व्यवस्था गर्यौँ । न्यून आए भएका व्यक्तिका लागि नगरपालिका संरक्षक बनेर पढ्ने व्यवस्था बनायौँ । छोरी बुहारी उच्च शिक्षा ल्यायौँ । स्वास्थ्यमा बकुलहर हेल्थ पोष्टलाई प्रदेश स्तरको अस्पताल बनाउन सफल भयौँ । अब एक सय शैयाको बनाउने तयारीमा छौँ । मातृशिशु अस्पतालको शिलान्यास गरिसकेका छौँ । मेरै पालामा त्यो अस्पताल बनाइसक्नुपर्ने छ । कृषिमा हामीले साझेदारीमा कृषि औजार, मोटर, बोरिङ वितरण गर्यौँ । करिब दुई सय वटाभन्दा बढी गाई पनि साझेदारीमा वितरण गर्यौँ । महिला दिदीबहिनीलाई महिला उद्यमशिलता कार्यक्रम ल्यायौँ । रत्ननगर चितवनको पर्यटकीय हव हो । पर्यटनलाई उकास्नु छ । प्रवद्र्धनात्मक क्रियाकाप अझै गर्नुपर्ने छ । अझ मैले गर्नुपर्ने थुप्रै कामहरु छ ।
तपाइँ उपप्रमुख भएर काम गरिसकेपछि प्रमुखको उम्मेदवार बन्नुभएको छ । रत्ननगरमा महिला प्रमुख बनिरहँदा यहाँका दिदीबहिनीले किन तपाईँलाई मतदान गर्ने ?
महिला भनेको आमा हो । धर्ती हो । उसले कहिल्यै कसैलाई पक्षपात गर्दिन । भनिन्छ नि, कोही धनी छ असाध्यै, कोही गरिब छ माग्ने, सक्दिन देख्न भन्छिन् सन्तान थरिथरिका । महिला मेयर भनेको आमा हो । मैले कहिल्यै कसैलाई काखा र पाखा गरिनँ । उहाँहरुले मेरो काम देखिसक्नुभएको छ । त्यसैले पनि मलाई महिला दिदीबहिनीले मत दिनुहुन्छ । मैले लामो समय यहि क्षेत्रमा रहेर महिला दिदीबहिनीको समस्या सुल्झाउन काम पनि गरेँ । महिलाका समस्या पनि मलाई एकएक थाहा छ । महिलालाई मात्रै हुने केही जटिल स्वास्थ्य समस्या छन्, जस्तो पाठेघर र स्तन क्यान्सर । यस्ता समस्या समाधान गर्न महिला कम्तिमा ६ महिनामा वडा वडामा पाठेघर र स्तन क्यान्सर जाँच गर्ने प्रबन्ध मिलाउँछु । महिलाका विशिष्टिकृत समस्या सुल्झाउन भूमिका खेल्ने भएकोले पनि उहाँहरुले मलाई मत दिनुहुन्छ भन्नेमा ढुक्क छु ।

यहाँ सुकुम्बासी लगायतका समस्या भएका व्यक्तिहरुलाई चाहिँ कसरी सम्बोधन गर्ने योजना बनाउनुभएको छ ?

२०७४ सालमा म उपप्रमुखको उम्मेदवार हुँदा म आफैले मेरो कार्यकालमा रातो पूर्जा दिलाउने जिम्मा मेरो भनेर बोलेको थिएँ । बिडम्बना भन्नुपर्छ, सरकार परिवर्तन भयो । आयोग विघटन भयो । २ ३ महिना आयोग रहेन । अमिन फिर्ता भए । नगरपालिकाले दुई जना अमिन लिएर जमिन नाम सक्यौँ । देशभरमा सबैभन्दा पहिले सुकुम्बासीको तथ्यांक लिने नगरपालिका पनि हाम्रो हो । हामीले विभिन्न संस्थासँग साझेदारी गरेर १६ सय लगभग तथ्यांक सुकुम्बासी र अव्यवस्थित गरि २६ सय लगभग सुकुम्बासी संख्या छ । अब मैले २०७४ सालमा बोलेको बाचा पूरा गर्नुछ । उहाँहरुलाई ढुक्क हुन अनुरोध गर्छु, मेरै पालामा रातो पूर्जा दिन्छु । उहाँहरुलाई रातो पूर्जा पाउन समस्या भयो भने उहाँहरुको अघि म लाग्छु ।
ड्ड पाँच दलीय गठबन्धनको अघि एमाले एक्लो दलको उम्मेदवार तपाईँ, ढुक्कसाथ नगरबासीको मत पाउँछु भनिरहनुभएको छ त ? पार्टी गठबन्धन भएको हो । जनता होइन । नगरवासी होइन । दलीय गठबन्धन उहाँहरुसँग छ, नगरबासी मसँग हुनुहुन्छ । पार्टीले भोट दिने होइन । नगरबासीले भोट दिने हो । म नगरबासीको मनभित्र बसेको छु । म हरेक नगरवासीको मनमा बसेको छु । मेरो साथमा बाआमा दाजुभाइ दिदीबहिनी भएपछि मलाई दलीय गठबन्धनको केही चिन्ता छैन ।

घरघर जाँदा मतदाताबाट कस्तो रेस्पोन्स पाइराख्नुभएको छ ?
म मतदाताको घरघर पुग्दा हाँसेर, खुसी भएर दौडेर आएर अँगालो मार्नुहुन्छ । मलाई मत नै नदिने मान्छेले त पक्कैपनि मलाई त्यति माया गर्नुहुन्न जस्तो लाग्छ मलाई । त्यहि पनि उहाँहरुले मलाई सद्भाव लेखाउनुभयो । जहाँ जहाँ पुग्छु सबैले देखाएको सद्भावले साँच्चिकै प्रतिपक्षले भोट पाउलान् र जस्तो लाग्छ । मैले पाँच वर्ष काम गरेर कम्तिमा माया बटुलिछु जस्तो हुन्छ । सम्पत्ति त मान्छेले कमाउँछ, गुमाउँछ तर मान्छेको मनभित्र बस्नु भनेको चाहिँ ठूलो कुरा हो । म सबैको मनभित्र छु । म मत पाउनेमा ढुक्क छु । फेरि पनि उहाँहरुलाई भन्न चाहन्छु, म आमा हुँ । मलाई मतदान गर्नुहोस् । तपाईहरुको भावना र चाहना अनुसार नै नगरमा अघि बढ्नेछु ।

प्रतिक्रिया दिनुहोस !