चितवन । कालिका नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार विनोद रेग्मीले आफू र आफ्नो टिम जीतको नजिक पुगिसकेको बताएका छन् ।

नेकपा एमालले कालिकाको पदमपुरमा आयोजना गरेको बृहत जनसभालाई सम्बोधन गर्दै एमाले मेयरका उम्मेदवार रेग्मीले आज हजारौ कालिकावासी मोटरसाइकल ¥याली र सभामा उपस्थित भई एमालेको शक्ति प्रदर्शन गरेका र जनलहर देखाइदिएको बताएका छन् । एमालेको नेतृत्वले नगरको विकासमा गरेको योगदानको चर्चा गर्दै रेग्मीले अधुरा काम पूरा गर्ने र समुन्नत, भ्रष्टाचारमूक्त समृद्ध कालिका बनाउन नगरवासीले आफूलाई रोज्ने बताए ।

कालिका नगरपालिका वडा नं. ६ को अध्यक्ष भएर ५ वर्षको अनुभव बटुलेको बताउँदै रेग्मीले ५ वर्षमा वडामा गरेको विकासले आफू कालिकावासीको मनमुटुमा बस्न सफल भएको बताए । कालिकाको हरेक व्यक्ति र हरेक टोलमा आफूलाई नगरवासीले चिन्ने र आफूले पनि चिनेको बताउँदै रेग्मीले अपरिचित र नयाँ अनुहारलाई भन्दा ३ दशकदेखि हरेक दिन जनताको सुखदुःखमा हिडेको व्यक्तिलाई जनताले चुन्ने भएकाले आफू जीतको नजिक पुगेको उनको भनाइ थियो ।

कालिकाको भूगोल र माटोसँग परिचित भएको कारण नगरको समृद्धिका लागि सूर्यमा मतदान गरी म र मेरो टिमलाई कालिकावासीले विजयी गराउन आतुर रहेको समेत उनको भनाइ थियो ।

सो कार्यक्रममा उपमेयरका उम्मेदवार विमला लामा, एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल), केन्द्रीय सदस्य देवी ज्ञवाली, जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।पदमपुरमा आयोजित बृहत जनसभा अगाडि सयौको सङ्ख्यामा कालिका नगर क्षेत्रमा मोटरसाइकल ¥याली समेत भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस !