चितवन । चितवनको राप्ती नगरपालिकामा एमालेले बृहत चुनावी आमसभा गर्ने भएको छ । राप्ती-४ स्थित शिवपुरी क्लबको खेलमैदानमा राप्ती नगरस्तरीय आमसभा गर्ने तयारी गरिएको नेकपा एमाले राप्ती नगर कमिटी अध्यक्ष पूर्ण बहादुर थापाले जानकारी दिए । “केन्द्रीय कमिटीका नेताहरुद्वारा सम्बोधन हुने गरि व्यापक आमसभा गर्ने तयारी गरिएको छ ।” उनले बताए ।

उनका अनुसार केन्द्रीय उपाध्यक्ष राम बहादुर थापाको प्रमुख आतिथ्यमा आमसभा गरिनेछ । यसका साथै केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डे, स्थायी कमिटी सदस्य सीता पौडेल, केन्द्रीय कमिटी सदस्य प्रभा बराल लगायतको विशेष उपस्थिति रहनेछ ।

एमालेले विभिन्न वडा र टोलमा विभिन्न चुनावी कोणसभा भने गरिरहेको छ । एमालेले १३ वटै वडामा घरदैलो कार्यक्रम पनि सम्पन्न गरिसकेको छ । एमालेको तर्फबाट राप्तीको मेयरमा गोविन्दप्रसाद कँडेल रहेका छन् भने उपमेयरमा मेनुका पाठक रहेकी छन् ।

आमसभा बिहान ११ बजेबाट सुरु हुनेछ । आमसभामा नगरभित्रका हजारौं नेता तथा कार्यकर्ताको उपस्थिति रहने पनि अध्यक्ष थापाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस !