चितवन । नेकपा एमाले चितवनले प्रहरी प्रशासनसँग सम्पूर्ण नागरिकको सुरक्षाको सुनिश्चितता गर्न माग गरेको छ । नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले विज्ञप्ति जारी गरी चितवनमा वैशाख २४ गते र २५ गते घटेको दुई घटनाले शान्ति सुरक्षाको सुनिश्चितता हुन नसकेको बताउँदै शान्ति सुरक्षाको विषयमा सम्वेदनशील हुन र सबै नागरिकको जीउधनको सुरक्षा गर्न प्रहरी प्रशासनासमक्ष जोडदार माग गरेका छन् ।

वैशाख २४ गते खैरहनी ६ बस्ने राष्ट्रिय युवा संघ खैरहनीका उपाध्यक्ष कुमार थापामगरलाई खुकुरी प्रहार गरी घाइते बनाइएको छ । यसैगरी वैशाख २५ गते राति भरतपुर–७ कृष्णपुर खेलमैदान अगाडि भरतपुर–१२ बस्ने अनिल परियारमाथि सांघातिक हमला गरी हत्या भएको छ । एमाले चितवनले निर्वाचनको मुखैमा यस प्रकारका घटना घटनु र सरकारी पक्षले शान्ति सुरक्षाको सुनिश्चितता गर्न नसक्नु सरकारको गैरजिम्मेवारीपन भएको बताएको छ ।

‘दुवै घटनाका दोषीलाई तत्काल पक्राउ गरी कानुनबमोजिम कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौँ’ एमालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ । नेकपा एमाले सबै प्रकारको हिंसा र अपराधजन्य कार्यको विरुद्धमा रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस !