बुटवल ।  प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको जनलहरलाई देखेर विपक्षी दलहरु आत्तिएको बताएका छन् । बुटवलमा शनिबार चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धनको तागतबाट डराएकाहरुले विभिन्न भ्रम छरेको बताउँदै त्यस्तो भ्रमका पछाडि नलाग्न आग्रह गरे ।

‘कांग्रेस नेतृत्वको गठबन्धनको सरकारले मात्रै सुकुम्बासी, अव्यवस्थित बसोबास, गरिबीलगायतको समस्या समाधान गर्छ,’ उनले भने, ‘र, तपाईंको ठाउँमा एमालेले यतिका वर्ष जितेर केही गरेन ।’ उनले विपन्न र सुकुम्बासीहरु सधैं भोट बैंक हुने कि आफ्नो समस्या सधैंका लागि समाधान गर्न आफ्नो भोट प्रयोग गर्ने भन्नेबारे सोच्नुपर्ने बताए ।

सभापति देउवाले कांग्रेसलगायत गठबन्धनका नेता कार्यकर्तालाई हौसला दिन र विकासको प्रतिबद्धता जनाउन आफू बुटवल आएको बताए । गठबन्धनले जिते ५ वर्षमा देखिनेगरी विकास गर्ने उनले जनाए । उनले आफ्नो ठाउँ र देशको विकास र सुशासनका लागि पनि गठबन्धनलाई भोट दिन आग्रह गरे । ‘गठबन्धन संविधान र लोकतन्त्रको संरक्षणका लागि बनेको हो । विकास र निकासको राष्ट्रिय आवश्यकता हो,’ उनले भने, ‘त्यसैले यसपालि गठबन्धनका सबै उम्मेदवारलाई जिताउनुस् ।’

प्रधानमन्त्री देउवाले मुलुकको आर्थिक विकासका लागि एमसीसी लगायतका सम्झौता गरेर परिवर्तनको सुरुवात गरेको बताए । ‘एमसीसी बिना ब्याजको अनुदान हो विकासको काम गर्न एमसीसी ल्याएका हौं,’ उनले भने, ‘ब्याजसहितको ऋण दिन त भिएना, कोरिया, जापानलगायत पनि तयार छन् । तर, लिन सक्दैनौं ।’

प्रतिक्रिया दिनुहोस !