चितवन। नेपाली कांग्रेसबाट बिद्रोह गर्दै भरतपुर महानगरपालिकामा गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी दिनुभएका बरिष्ठ नेता जगन्नाथ पौडेलले गठबन्धन मेलम्ची र सुरुङमार्ग बनाउन हो कि श्रीमती र छोरी जिताउन ? भन्ने प्रश्न गर्नुभएको छ । चुनावी अभियानका क्रममा रामपुर टोलमा आयोजित कोणसभालाई सम्बोधन गर्दै पौडेलले यस्तो प्रश्न गर्नुभएको हो ।

नेता पौडेलको यो भनाई भरतपुरमा गठबन्धनबाट मेयरका उम्मेदवार बनाइएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री रेनु दाहाल र काठमाडौंमा मेयरका उम्मेदवार बनाइएका कांग्रेस नेता प्रकाशमान सिंहको श्रीमती सिर्जना सिंहतर्फ लक्षित रहेको छ । उहाँले आफूहरुको ज्यान जोखिममा रहेको भन्दै कुनै पनि बेला सांघातिक हमला हुन सक्ने पनि बताउनु भएको छ । आफूहरु ज्यानको परवाह नगरी कांग्रेस जोगाउन उभिएको र महानगरको मेयर बनेर तलबभत्ता नलिने प्रतिवद्धता पनि उहाँले गर्नुभयो । आफू पनि जेल जीवन बिताएर आएको भन्दै धम्कीबाट नडाराउने उदघोष पनि उहाँले गर्नुभयो ।

‘गठबन्धन मेलम्ची र सुरुङमार्ग बनाउन हो कि श्रीमती र छोरी जिताउन ?’ उहाँले भन्नुभयो, ‘आफ्नो पार्टीका कार्यकर्तालाई कारबाही गर्ने अनि अर्काको छोरी बोक्ने कस्तो पार्टी बनाउँदैछौं कांग्रेसलाई । गठबन्धन हाम्रो सरोकारको विषय होइन र हामीलाई सोधेर गरेको पनि होइन । जगन्नाथको उम्मेदवारीले देश नै दुर्घटनामा पर्छ, आकाश खस्छ जस्तो कुरा प्रधानमन्त्री भइसकेका नेताहरुले गरेको सुन्दा मलाई आत्मग्लानी भएको छ ।’

प्रतिक्रिया दिनुहोस !