चितवन । निर्वाचन आचारसंहिता–२०७८ को ठाडै उल्लघंन गर्दै भरतपुरमा भूमिको निस्सा बाँडिएको छ । नेकपा (माओवादी केन्द्र) निकटका भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का र जिल्ला अध्यक्ष बद्री तिमिल्सिनाले आज (शुक्रबार) सुकुम्बासी तथा भूमिहिनलाई भूमिको निस्सा बाँडेका हुन् ।

निर्वाचन आचारसंहिता विपरित मतदातालाई प्रत्यक्ष प्रभावित पार्न उनीहरुले भरतपुर–११ गणेशस्थानमा भूमिको निस्सा बाँडेका हुन् । जिल्ला निर्वाचन कार्यालय भरतपुरका प्रमुख भीमसेन कार्कीले आचारसंहिता विपरित मतदातालाई प्रभावित पार्न भूमिको निस्सा बाँड्न नपाइने बताए । उजुरी आए कारबाही गर्न सकिने उनले जानकारी दिए ।

‘निर्वाचनको बेलामा भूमिहिन सुकुमबासीलाई भूमिको निस्सा बाँड्न पाइदैन’, उनले भने, ‘हाम्रो कार्यालयमा उजुरी आयो भने हामीले सम्बन्धितलाई स्पष्टिकरण सोध्छौँ । आवश्यक परे थप कारबाही पनि हुनसक्छ ।’

भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले भूमिहिनलाई निस्सा बाँडेको सगौरव स्वीकार गरे । लालपुर्जा बाँड्दा मात्रै आचारसंहिता लाग्ने तर भूमिको निस्सा बाँड्दा आचारसंहिता नलाग्ने उनले दाबी गरे । ‘मैले बाँड्न सुरुवात गरेर हिँडेको हो । कति जनालाई बाँडे थाहा भएन’, उनले भने, ‘मैले लालपुर्जा बाँड्न पाउँदिन । निस्सा बाँड्ने काम, जग्गा नाप्ने काम भइराख्ने रहेछ ।’

फेसबुकमा आज एक स्टाटस राख्दै उनले भूमिहिन सुकुमबासीले मेयरमा रेणु दाहाल र उपमेयरमा चित्रसेन अधिकारीलाई विजयी गराउन प्रतिबद्धता जनाएको बताएका छन् । मतदातालाई प्रभावित पार्न निस्सा बाँडिएको कार्यक्रममा साझा उमेदवारलाई जिताउने प्रतिबद्धता आएको उनले दाबी गरेका छन् ।

मतदाता प्रभावित पार्न भूमिको निस्सा बाँड्ने व्यक्तिहरु विरुद्ध अधिवक्ता सुनिता अधिकारीले उजुरी हाल्ने तयारी गरेकी छन् । उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उजुरी हाल्न लागेको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस !