काभ्रे ।  काभ्रेको रोशी गाउँपालिका–११, बढुवेशीमा भारतीय पर्यटक बोकेको गाडी र सिन्धुलीबाट काठमाडौं जाँदै गरेको जिप ठोक्किँदा एक बालकसहित ५ जनाको मृत्यु भएको छ ।

भारतीय पर्यटक बोकको यूपी५८टी ८१८१ नम्बरको मिनी बस गाडी र काठमाडौं जाँदै गरेको ना १ ज ४२१० नम्बरको जिप एकापसमा ठक्कर खाँदा ५ जना नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी हरि खतिवडाले जानकारी दिए ।

दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका ६ रामपुरका ३० वर्षका बिक्रम श्रेष्ठ, खाडादेवी गाउँपालिका ३ रामेछापकी सम्झना भुसाल, उनका ६ वर्षीय छोरा संगीत भुसाल, सुनकोशी गाउँपालिका १ सिन्धुलीका ४४ वर्षीया प्रमिला नेपाली, सुमोका चालक कमलामाई नगरपालिका ४ सिन्धुलीका हरिवहादुर बल रहेका छन् । दुर्घटनामा घाइते भएका १९ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !