चितवन । भरतपुर महानगरमा राजनीतिक दलहरु स्थानीय निर्वाचनको लागि मत माग्दै घरदैलोमा छन् । स्थानीय निर्वाचन भन्ने बित्तिकै मतदाता तथा नेताहरु सबैलाई पाँच वर्ष अगाडिको दुःखद् घटनाको याद आउँछ । अघिल्लो निर्वाचनमा जस्तो गणनाको क्रममा मतपत्र च्यात्ने काम नहोस् भन्ने यसपटक मतदाताको अपेक्षा रहेको छ ।

भरतपुर महानगरपालिका–२१ पार्वतीपुर कान्छीचोकका राधाकृष्ण घिमिरे अहिले पनि भरतपुरको मतपत्र काण्ड झल्झली सम्झन्छन् । उनी भन्छन्, ‘ त्यस प्रकारको बितण्डा यसपटकको निर्वाचनमा हुनुहुँदैन । कसैले फेरि हाम्रो अमूल्य मतलाई चबाउने वा च्यात्ने गर्‍यो भने त्यस्तो प्रवृत्तिले हाम्रो लोकतन्त्रलाई डुबाउँछ ।’ उनले बाक्सा तोडफोड, च्यात्ने र चबाउने काम यसपटक हुँदैन भन्ने आशा व्यक्त गरे ।

त्यसैगरी भरतपुर महानगरपालिका–२ क्षेत्रपुरका गणेश गुरुङले यदि मतदानमा दलहरुले धाँधली गरे भने आफ्नो अमूल्य मत खेर जाने बताए । उनले भने, ‘ त्यस्तो कदापी गर्नु हुँदैन । यस्ता गलत संस्कार र प्रवृत्ति दोहोरिएमा दलहरुको बाँकी रहेको प्रतिष्ठा झनै गिर्न जान्छ ।’ उनले भरतपुरको मतपत्र प्रकरणले त्यस कार्यमा संलग्न दलसहित सबै चितवनबासीका शीर झुक्ने गरेको बताए ।

त्यसैगरी भरतपुर महानगरपालिका–१ रामनगरका मतदाता मोहन पोखरेलले सत्ता गठबन्धनले त्यस्ता हर्कत फेरि पनि दोहोर्‍याउन सक्ने भएकोले सचेत हुनुपर्ने बताए । उनले भने, ‘ निर्वाचनको समयमा जसरी पनि जित्नको लागि जे पनि हुन सक्छ । त्यस्ता गलत प्रवृत्तिलाई फेरि दोहोरिन दिनु हुँदैन ।’ उनले पटकपटक त्यस्ता काण्ड दोहोरिनु भनेको लोकतान्त्रिक प्रणालीमाथि नै धज्जी उडाउनु भएको बताए । उनले पहिले त्यस कार्यमा संलग्न दलहरुलाई अहिले त्यस्तो आँट आउनै नसक्ने बताए ।

भरतपुर महानगरपालिका–११ बसेनीका युवराज पौडेलले कतिपय दलहरुले अहिले स्थानीय तहमा जसरी पनि चुनाव जिताउँछौं भनेर घमण्ड गर्न थालेको भन्दै अब कुनै पनि हालतमा आफूहरुको मत च्यातिन नहुने विचार व्यक्त गरे । उनले भने, ‘ लोकतन्त्रको मेरुदण्ड भनेकै आवधिक निर्वाचन हो । निर्वाचनमा हुने हार र जितलाई सबै दलले सम्मान गर्नुपर्छ । यदि पराजित हुने नै अवस्था आए पनि मतपत्र च्यात्ने, बाकस साट्ने वा अन्य धाँधली गरेर जित्ने प्रयास गर्नु हुँदैन ।’ अहिले पनि माओवादी केन्द्रलाई अघिल्लो निर्वाचनमा मतपत्र त्यातेको दोष लागिरहेकोले दलको प्रतिष्ठा धेरै गिरेको विचार राखे । उनले भने, ‘अब यस्ता काम गर्ने प्रयास कसैले गर्नु हुँदैन ।’

गत स्थानीय निर्वाचनको अन्तिम चरणमा भरतपुर महानगरको मेयरको मतगणनामा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवाली नेकपा माओवादी केन्द्रकी उम्मेदवारभन्दा अघि थिए । माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्डकी छोरी रेनु दाहाल केही मतअन्तरले पछाडि थिइन् । त्यस समय पनि नेपाली कांग्रेस र माओवादी केन्द्रको बीचमा तालमेल थियो ।

२०७४ जेठमा भरतपुरको कबर्ड हलमा वडा नम्बर १९ को मतगणना चलिरहँदा मेयरकी उम्मेदवार रेनु दाहालले हार्ने अवस्था देखिएपछि माओवादी केन्द्र निकट नेता तथा कार्यकर्ताहरुले मतगणना स्थलमा प्रवेश गरेर मतपत्र च्यातेका थिए । त्यो घटना घटेपछि सर्वोच्च अदालतले भरतपुर वडा नम्बर १९ मा पुनः चुनाव गराउने निर्णय दिएपछि भएको दोस्रो निर्वाचनमा रेनु दाहाल विजयी भएकी थिइन् । तर, यो घटनाले माओवादीको नियत र नैतिकतामाथि गम्भीर प्रश्न उठाइदिएको मतदाताहरु बताउँछन् । आज फेरि स्थानीय तहको निर्वाचनमा भरतपुरका मतदाताहरुले त्यस घटनालाई सम्झने गर्छन् ।

प्रतिक्रिया दिनुहोस !