चितवन । खैरहनी नगरपालिकाको नगर प्रमुखमा स्वतन्त्रतर्फबाट उमेदवारी दिएका विकास डल्लाकोटीले उमेदवारी फिर्ता भएको घोषणा गरेका छन्। नेकपा एमालेका उमेदवारलाई समर्थन गर्ने प्रतिवद्धतासहित उमेदवारी फिर्ता गरेको घोषणा गरेका हुन्।

डल्लाकोटी नेकपा एमालेकै युवा नेता हुन्। युवा संघका केन्द्रीय सदस्यसमेत रहेका डल्लाकोटीले नगर प्रमुख पदमा दिएको उमेदवारी फिर्ताको घोषणा गर्दै एमालेका उमेदवार लालमणि चौधरीलाई समर्थन गर्ने बताए। आफ्नो केही असमझदारी रहेकोमा नेताहरुसँगको छलफल पश्चात् उमेदवारी फिर्ता लिएको उनको भनाइ छ।

छलफलपछि नेकपा एमाले केन्द्रीय सदस्य जेएन थपलियाले युवा नेता डल्लाकोटीले उमेदवारी फिर्ता लिएर एमालेलाई सहयोग गर्ने निर्णय गर्नु स्वागतयोग्य भएको बताए। यसले पार्टीलाई थप मजबुद बनाएको उनको भनाइ छ। तर, नेकपा एमालेले भने पार्टीको निर्देशनविपरीत उमेदवारी दिएको भन्दै कारवाही गरिसकेको छ।

उमेदवारी फिर्ताको घोषणा कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य थपलियासहित जिल्ला कमिटी उपाध्यक्ष कमल पाठक, क्षेत्रीय सचिव भरत भण्डारी, बुद्धिजीवी भीष्मराज पाठकलगायतको उपस्थिती थियो।

प्रतिक्रिया दिनुहोस !