चितवन । भरतपुर महानगरपालिका वडा नं. १० का वडा अध्यक्षका उमेदवार भक्तिप्रसाद गौतमले ढल निकास र फोहोर व्यवस्थापन आफ्नो पहिलो एजेण्डा रहेको बताएका छन् ।

नेकपा (एमाले) भरतपुर वडा नं. १० कमिटीको आयोजनामा चुनावी घरदैलो कार्यक्रमका क्रममा स्याउलीबजारमा गरिएको कोण सभामा बोल्दै उनले वडाको सामुहिक समस्यानै ढल निकास र फोहोर व्यवस्थापन भएको बताए ।  ‘मेरो विजय भएपछि पहिलो काम नै ढलसहितको कालोपत्रे हो’, उनले भने, ‘सेवाग्राहीलाई सहज र सरल तरिकाले कार्य सम्पादन गर्ने छु । गुनासो आउने काम हुने छैन ।’ सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर वृद्धि गरी निजी विद्यालयमा पढ्न जाने वाध्यता हटाउने उनले प्रतिवद्धता व्यक्त गरे ।

उनले विगतका नेतृत्वले गरेका कमजोरीलाइ लिएर वडावासीले कुनै गुनासो नगर्न आग्रह गरे । ‘तपाईको सेवकको रुपमा वडा अध्यक्ष भएर काम गर्नेछु’, उनले भने । स्थानीयको समस्या नै वडा कार्यालयको समस्याको रुपमा मनन् गरेर काम गर्ने उनले बताए । कार्यक्रममा वडा सदस्यहरु सूर्यवदना हमाल, निर्मा विश्वकर्मा, ददिराम देवकोटा, निरवहादुर लामा ‘अनिश’ले वडाको विकासमा आफ्नो योगदान रहने बताए ।

घरदैलो कार्यक्रममा नेकपा एमाले पूर्व प्रदेश कमिटी सदस्य सीता वस्याल, वडा इन्चार्ज विष्णु अधिकारी, महानगर कमिटी सदस्य मिनराज गौतम, वडा अध्यक्ष नहेन्द्र खड्का, उपाध्यक्ष चन्द्रलाल तामाङ, सचिव वद्रीप्रसाद खनाल, उपसचिव विज्ञान पौडेल, चिन्तामणि कडेल, शैक्षिक व्यक्तित्व भानु उपाध्याय, सामाजिक व्यक्ति केशव अधिकारी, शोभाखर अधिकारी, रामबाबु श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !