चितवन । तत्कालिन प्रधानमन्त्री केपी ओलीले भरतपुरलाई ‘स्मार्ट सिटी’ बनाउने योजनाको सूचीबाट हटाएको भन्ने हल्ला निराधार पुष्टि भएको छ । चुनाव नजिकिँदै जाँदा ओलीले भरतपुरलाई स्मार्ट सिटी बनाउने योजनाको सूचीबाट हटाएको भनि भ्रम छर्ने प्रयास भइरहेको छ ।
तर, तथ्य भने त्यस्तो छैन । चालु आर्थिक वर्षको बजेटमा तत्कालिन ओली सरकारले भरतपुुरको स्मार्ट सिटीको बजेट काटेको भनेर गरिएको हल्ला तथ्य र आधारहिन भएको पुष्टि भएको छ । जनताको बीचमा यहीँ कुरालाई उठाएर विपक्षी गठबन्धनका कार्यकर्ताले भ्रम छर्न खोजिएको देखिन्छ ।

त्यसबेला नै भरतपुरलाई स्मार्ट सिटी बनाउने योजनाको सूचीबाट हटाएको भनेर केही सञ्चारमाध्यममा समाचार आएपछि शहरी विकास मन्त्रालयले एक विज्ञप्ती नै जारी गरेर भरतपुरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने योजना नहटाएको जनाएको थियो ।
मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भरतपुरसहित बाराको निजगढ, गोरखाको पालुङ्टार, कैलालीको टिकापुरलाई स्मार्ट सिटीको सूचीबाट हटाएको भन्ने कुरा कपोल्कल्पित भएको उल्लेख गरिएको छ । मन्त्रालयले यस्ता सम्बेनशील विषयमा भ्रम सिर्जना हुने गरी समाचार प्रकाशन नगर्न र आधिकारिक पदाधिकारीबाट बुझ्न विज्ञप्तीमार्फत सचेत गराएको थियो ।

केपी ओली सरकारकै पालामा नारायणगढ-गोन्द्राङ ६ लेन सडकका लागि बजेट विनियोजन गरेर अहिले धमाधम काम भैरहेको छ । यस्तैं, एमाले नेतृत्वमा रहेको जिल्ला समन्वय समितिको सहजीकरणमा जग्गा उपलब्ध गराई केपी ओली सरकारकै पालामा विनियोजित लागतमा अहिले भरतपुरमा आधुनिक सिटी हल बनिरहेको छ । तत्कालिन प्रधानमन्त्री केपी ओली यी आयोजनाको शिलान्यास गर्न भरतपुर आउँदा भरतपुर महानगरको निवर्तमान मेयर रेनु दाहालले बहिष्कार गरेकी थिइन् ।

केन्द्रीय सरकारको बजेटबाट भरतपुर महानगरको देवघाट क्षेत्रमा शव गृह, विभिन्न लिंक रोड र रिङरोड बनिरहेका छन् । केन्द्रीय सरकारबाट प्राप्त विकासका बजेट र काम उनले आफूले गरेको भनेर जनतामा भ्रम छर्ने काम निरन्तर गर्दै आएको एमालेका नेताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस !