चितवन । नारायणगढमा डोकामा राखेर फलफूल बेच्दै आउनुभएकी शुष्मा उपरकोटीलाई अहिले पहिलाको जस्तो सास्ती छैन । ढुक्कका साथ सडक किनारम फलफूल बेच्न पाउनुभएको छ ।

‘सडकमा डोकैमा राखेर फलफूल डुलाउन लागेको पाँच वर्ष पुग्यो । यो अवधिमा महानगर प्रहरीले दैनिक लखेट्ने गरेको थियो । कति फलफूल जफत ग¥यो, पाँच/छ पटक त ढक तराजु समेत लग्यो’ सहिदचोकमा फलफूल बैच्दै गर्दा भेटिनुभएकी शुष्माले निधारको पसिना सलले पुछ्दै भन्नुभयो, ‘दुई महिना भयो नगरप्रहरीले लखेटेको छैन ।’

चितवनको नारायणगढमा फुटपाथ व्यवसायी भरिन थालेका छन् । पहिले फुटपाथ व्यवसायी देख्न साथ हटाउने गरेको महानगरले अहिले कडाई नगर्दा व्यवसायी भरिन थालेका हुन् । सहिदचोकमा डोकामा नै फलफूल राखेर बेच्दै आउनुभएकी तारा देवकोटा आजभोलि नगरप्रहरीले नलखेट्दा अचम्मित हुनुहुन्छ । ‘हामीलाई नगरप्रहरीले देख्ना साथ लखेट्थ्यो । यसरी नै व्यापार गर्न कहाँ पाइन्थ्यो र ? दुई महिना जति भयो नगरप्रहरीले देखेर पनि नदेखेजस्तै गर्छ,’ देवकोटाले भन्नुभयो, ‘यसरी नै हामीलाई गरिखाने वातावरण महानगरले मिलाउनुपर्छ ।’
नारायणगढको पुलचोक, सहिदचोक, लायन्सचोक, चौबिसकोठी लगायतका स्थानका सडक छेउमै तरकारी, फलफूल, कपडालगायतका व्यवसायी भरिन थालेका छन् । तर, महानगर प्रहरी भने मौन छ । नारायणगढ र सहिदचोकको बीचको फुटपाथमा कपडाको व्यापार गर्दै आउनुभएकी अस्मिता श्रेष्ठ चुनाव आएपछि प्रहरीले केही नगरेको बताउनुहुन्छ ।

‘अहिले त चुनाव छ । कसैले केही गरेका छैनन् । चुनाव पछि लखेट्ने होलान्,’ उहाँले भन्नुभयो, ‘भोटका लागि हामीलाई फकाएका होलान् ।’ अस्मिताले ठेलामा व्यापार गर्न लागेको १५ वर्ष पुग्यो । उहाँले दीर्घकालीनरुपमा व्यापार गर्ने वातावरण मिलाउन समेत आग्रह गर्नुभएको छ । फुटपाथमा व्यापार भरिन थालेपछि बटुवालाई समेत असहज हुँदै आएको छ ।

‘हिँड्ने ठाउँमा कपडा, जुत्ता, फलफूल, तरकारीका पसल छन्’ गैँडाकोटदेखि सपिङ गर्न आउनुभएका बाबुराम अधिकारीले भन्नुभयो, ‘दुई तीन ठाउँमा त लड्न पुगेँ ।’ उहाँले स्मार्ट सिटी भनेपनि महानगरले बजारलाई व्यवस्थित गर्न नसकेको बताउनुभयो । भरतपुर महानगरले फुटपाथ व्यवस्थापन गर्नेगरि चार वर्षअघि नारायणगढस्थित बालकुमारी कन्या माविको दक्षिणतर्फ स्वरोजगार सस्तो बजार खोलेको थियो ।
तर, १७० स्टल रहेको त्यहाँ व्यापार हुन नसकेको भन्दै व्यवसायहरु सडकमै आउने गर्दछन् । फुटपाथमा पाँच वर्षदेखि व्यापार गर्दै आउनुभएकी हरिमाया तामाङ फलफूल र तरकारी बिक्रीका लागि उचित ठाउँको व्यवस्थापन गर्न महानगरलाई आग्रह गर्नुहुन्छ ।

‘महानगरले हामीलाई व्यवस्थापन गर्छौँ भन्यो । अहिलेसम्म गरेको छैन’, तामाङले भन्नुभयो, ‘फलफूल मान्छेले देखेपछि किन्ने वस्तु हो । हामीलाई मान्छेको चहलपहल हुने ठाउँमा व्यापार गर्न दिनुप¥यो ।’ पटक पटक लखेट्नुभन्दा दीर्घकालीन व्यवस्थापन गर्न उहाँले अनुरोध गर्नुभयो ।

फुटपाथ व्यवसायीको व्यवस्थापन गर्न कठिन छ । केही व्यक्तिलाई व्यवस्थापन गरेपनि फेरि थपिने गरेका छन् । भरतपुर नारायणगढ क्षेत्रमा करिब ५०० को हाराहारीले ठेलामा व्यापार गर्ने गरेका छन् । उनीहरुले सडकमा व्यापार गर्दा सटर लिएर व्यापार गर्नेहरुलाई समस्या भएको व्यवसायीहरु बताउँछन् ।

‘हामीले यहाँ महँगो मूल्य तिरेर व्यापार गर्नुपरेको छ । हाम्रै अगाडि अव्यवस्थित रुपमा निःशुल्क व्यापार गरिरहेका छन्,’ सहिदचोकमा कपडा व्यापार गर्दै आउनुभएक शिव श्रेष्ठले भन्नुभयो, ‘यो ‘अव्यवस्थितलाई रोक्ने सरकार खै ?’ उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले फुटपाथलाई व्यवस्थापन गर्न महानगरलाई अनुरोध गरेको बताउनुभयो । ‘हामीले महानगरलाई भनिरहेका छौँ । चुनाव आएर होला । पहलभएको छैन,’ उहाँले भन्नुभयो, ‘हामी बजारलाई व्यवस्थापन गर्न पटक पटक भन्ने गरेका छौँ ।’

प्रतिक्रिया दिनुहोस !