चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १० मा गठबन्धन भित्रै किचलो भएपछि नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) का उम्मेदवार मात्रै घरदैलोमा हिँडेका छन् ।

नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) ले नेकपा (एकीकृत समाजवादी) बाट वडा सदस्यमा उम्मेदवारी दिएका निवर्तमान वडा अध्यक्ष तथा नेकपा (एकीकृत समाजवादी) का जिल्ला उपाध्यक्ष अरुण पीडित भण्डारीको नाम टीममा राख्न नमानेपछि गठबन्धनबीच भाँडभैलो भएको हो ।

गठबन्धन नमिलेपछि काँग्रेस र नेकपा (माओवादी केन्द्र) का चार जना मात्रै वडाका उम्मेदवार आइतबारदेखि घरदैलोमा हिँडेका छन् । गठबन्धन दलबाट अध्यक्षका उम्मेदवार परमेश्वर खनाल, सदस्य सम्भुलाल पाख्रिन नेपाली काँग्रेसका उम्मेदवार हुन् भने रेशमराज थापा र पार्वती परियार नेकपा (माओवादी केन्द्र) का उम्मेदवार हुन् । वडा सदस्य पदका उम्मेदवार तथा नेकपा (एकीकृत समाजवादी) जिल्ला उपाध्यक्ष अरुण पीडित भण्डारीले गठबन्धन पार्टीले आफ्नो पार्टीले गरेको निर्णय स्वीकार नगरेका कारण गठबन्धन नमिलेको बताए ।

उनले भने, ‘हाम्रो उम्मेदवारको निर्णय हामीले गर्ने हो । सहमती अनुसार पार्टीले मलाई वडा सदस्यको उम्मेदवार बनाउने निर्णय गर्यो, तर उहाँहरुलाई स्वीकार भएन । आफ्नो पार्टीको उम्मेदवारको निर्णय गर्ने जिम्मा त हाम्रै पार्टीलाई हुन्छ नि !’
गठबन्धनमा भाँडभैलो भएपछि नेकपा (एकीकृत समाजवादी)ले अध्यक्ष सहित दुई वडा सदस्यको उम्मेदवारी कायम राखेका छन् । भने, राष्ट्रिय जनमोर्चाले यसअघि नै गठबन्धनबाट बाहिर रहेको विज्ञप्तीमार्फत जनाइसकेको छ ।

गठबन्धनमा भाँडभैलो हुँदा भरतपुर वडा नम्बर १० मा नेकपा एमालेका उम्मेदवार भक्तिप्रसाद गौतमसहितको टीम थप बलियो भएका नेकपा एमालेका नेताहरुको दाबी छ । नेकपा एमाले वडा नम्बर १० को पाँच नम्बर क्षेत्रका निर्वाचन प्रचार संयोजक रामबाबु श्रेष्ठले गठबन्धनमा विवाद हुँदा आफूहरुलाई अन्य दलका कार्यकर्ताबाट समेच सुभेच्छा आएको बताए ।

प्रतिक्रिया दिनुहोस !