चितवन । आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । यस निर्वाचनमा महिलाहरुलाई उम्मेदवार बनाएर अवसर दिनेमा नेकपा एमाले पहिलो पार्टी भएको छ । एमालेबाट यस्तै उम्मेदवारको अवसर पाउने महिला हुन्, कालिकाकी बिमला तामाङ । आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि चितवनको कालिका नगरपालिकाको उपमेयरमा बिमलाले उम्मेदवारी दिएकी छन् । अहिले घरदैलो र आफ्नो चुनावी सभामा व्यस्त बिमलाको योजना आफ्नो नगरमा समतामूलक समाजको निर्माण गरी नगरको विकास गर्नु रहेको छ ।

बागमती प्रदेश चितवन जिल्लाको पूर्वी उत्तर भागमा अवस्थित यस नगरपालिका साविकका चार गाविसहरु शक्तिखोर, सिद्धि, पदमपुर र जुटपानी मिलाइ २०७४ जेष्ठ ७ गते क्षेत्र विस्तार गरी कालिका नगरपालिका बनाइएको हो । यस नगरपालिकामा ११ वटा वडा छन् । पहाडी भूभाग वडा नं १० र ११ मा आदीबासी चेपाङ समुदायको बसोवास रहेको छ । यस नगरपालिकाको अन्य समथर भुभागहरु शहरीकरणतर्फ उन्मुख हुन थालेका छन् । यसैले पनि जनजाती समुदायकी र त्यसमाथि बिमलाकोउम्मेदवारीले कालिकामा उत्साह थपिदिएको छ ।

बिमलासँग कालिका नगरपालिकामा रहेर विभिन्न संघसंस्थाहरु सफलता पूर्वक हाँकेको अनुभव छ । योग्य र प्रभाव राख्न सक्ने उम्मेद्वारका रुपमा उनलाई लिईन्छ । मिसन र भिजन दुवै भएकी बिमला विशेष गरेर कालिकाका आम महिला दिदी बहिनीहरु माझमा परिचित छन् । महिलाहरुको क्षमता विकास, न्याय र महिलाहरुलाई आर्थिक रुपमा बलियो बनाउन सहकारी मार्फत उनले खेलेको भूमिका अतुलनिय छ ।
२०३५ साल मंसिर १५ गते तत्कालिन शक्तिखोर गाविसको जुटपानीमा बुवा टेक बहादुर तामाङ्ग र आमा आईतीमाया तामाङ्गको कोखबाट जन्म भएको हो, बिमला तामाङ्गको । सानैबाट निडर र हक्की स्वभावकी बिमलामा केही गर्नुपर्छ भन्ने सोँच आउने गर्दथ्यो ।

उनी बाल्यकाल सम्झदै भन्छिन्, ‘विभिन्न आरोह र अवरोहका बीचमा बाल्यकाल र युवा अवस्था बित्यो । सधै नेकपा एमालेलाई संकटमा सतिसाल भएर उभिएँ । आज पार्टीले उपमेयरको लागि मैदानमा खडा गर्दैगर्दा जनताको माझमा गएर प्रत्यक्ष सेवा गर्नेअवसर पाउँछु भन्नेमा पूर्ण विश्वस्त छु ।’

बिमला भन्छिन्, ‘तामाङ्ग समुदाय आफैमा पछाडि परेको समुदाय हो । तर म भने बच्चाबाट नै निडर थिएँ । माईतमा आमा बुवाको साथ पाएँभने विवाह पश्चात श्रीमानले साना–साना नानीबाबु रेखदेख गरेर बस्ने र म बाहिर हिड्ने वातावरण बन्यो । मलाई घर परिवारबाट सधै साथ सहयोग रहेको छ । यसैले पनि आफ्नो अभियानमा हिँड्न मलाई सजिलो भएको हो ।’

माओवादी जनयुद्धको समयमा होस् वा २०६२÷६३ को जनआन्दोजनको समयमा हरेक परिस्थितिहरुलाई दृढ आत्मविश्वासका साथ मुकाविला गरेर उनी अगाडि बढिरहेकी छन् । बिमला घरमा साना लालाबालालाई छोडेर महिला दिदीबहिनीहरुको हक हितमा तल्लिन हुन्छिन् । आफ्नो विगत सम्झदै उनले भनिन्, ‘पारालिगल कमिटी शक्तिखोरको अध्यक्ष हुँदा कैयाँैहिंसामा परेका महिलाहरुलाई न्याय दिन सफल भएँ । अन्तरजातीय विवाह गरेका जोडीहरुलाई प्रोत्साहन गरियो ।

अहिले पनि उनीहरु खुसी देख्दा त्यसै मन खुसी भएर आउँछ । उतिबेला माओवादीको घर घरमा दादागिरी र ज्यादती हुन्थ्यो, कहिले एक्लै त कहिले सामुहिक रुपमा प्रतिकार गर्न गईन्थ्यो ।’

नेकपा एमाले कालिका नगरपालिकाको सह–ईन्चार्ज बिमलासँग पार्टीको विभिन्न पदमा रहेर काम गरेको अनुभव छ । त्यसैगरी उनले विभिन्न संघसंस्थाहरु हाँकेर महिलाहरुले पनि गर्न सक्छन् भन्ने उदाहरण पेश गरेकी छन् । नेकपा एमालेको वडा कमिटी, नगर कमिटी, क्षेत्रीय कमिटी हुँदै जिल्ला कमिटीसम्म पुगेकी बिमलाले अनेमसंघमा रहेर दिदीबहिनीहरुसँग सामुहिक रुपमा काम गरेकी छन् । उनी भन्छिन्, ‘महिलाको मुद्धाले छोईहाल्छ । कोही अन्यायमा परेको देख्न सक्दिन । न्यायको लागि अझैपनि ज्यान दिन पनि तयार छु ।’ उनी अहिले अखिल नेपाल महिला संघको जिल्ला सचिवाय सदस्य हुन् । त्यसैगरी बागमती प्रदेशको दुग्ध बिकास वोर्डको सदस्य, जुटपानी सामुदायिक वनको सह–सचिव भएर काम गरेको अनुभव उनीसँग छ ।

महिलालाई न्यायका साथसाथै आर्थिक रुपमा बलियो बनाउन पनि उनको महत्वपूर्ण भूमिका रहेको छ । प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाको उपाध्यक्ष बिमला शक्तिखोरमा रहेका दिदी बहिनीहरुलाई समुहमा राख्दै थोरै भएपनि बचत गर्ने बानिको बिकास गराउन सफल भएकी छन् । बिमलाले शुरु गरेको त्यही सानो समुह अहिले प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी मार्फत अगाडि बढेको छ ।

महिलाहरुले आफुलाई आवश्यक पर्ने ऋण लिने र बचत गर्ने बानिको बिकास गराउन उनी महिनामा एक दिन समूह–समूहमा दिदीबहिनीहरुलाई भेला गराएर बचत गराउदै आएकी छन् । करिब सात सय दिदी बहिनीहरुलाई प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी शक्तिखोर सेवा केन्द्रमा आवद्ध गराउदै आर्थिक रुपमा बलियो बनाउन उनको महत्वपूर्ण भूमिका रहेको छ । उनी समूहमा महिलाहरु भेला गराएर उनीहरुको दुःख सुख सुन्दै आर्थिक र निर्णय क्षेत्रमा महिला सहभागिता गराउन तल्लीन हुन्छिन् ।

उपमेयरको उम्मेद्धवार हुदै गर्दा उनको मुख्य एजेन्डा ‘सबैलाई सबै ठाउँमा समान सहभागिता र अवसर’ भन्ने रहेको छ । हरेक क्षेत्रमा महिला पुरुष साथ साथ रहनका लागि महिलाहरुको निर्णायक क्षमता बढाउने उनको पहिलो प्राथमिकतामा परेको छ । महिलाहरुको आवाज बुलन्द पार्न कुनै कमी नराख्ने उनी बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस !