सिन्धुली । जिल्लाको तीनपाटन गाउँपालिका–१ नक्कलेमा भएको बलेरो दुर्घटनामा तीनजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।

घाइतेहरुको उद्धार गरी वेलघारी स्वास्थ्य चौकीमा लगिएकामा त्यहाँ उपचार हुन नसकेपछि सिन्धुली अस्पतालमा ल्याइएको छ ।

सातजना घाइतेमध्ये कर्णबहादुर विक, तुल्सिराम पहाडी र चालक राजु खत्रीलाई थप उपचारका लागि सिन्धुली अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए । अन्य घाइतेको बेलघारी स्वास्थ्य चौकीमा उपचार भइरहेको र उनीहरूको पनि सिन्धुली अस्पताल ल्याउने तयारी भइरहेको लामाले जानकारी दिए ।

दुर्घटनामा तिनपाटन गाउँपालिका–९ आम्बोटेका अन्दाजी ५२ वर्षीय रामजी भण्डारी, कमलामाई नगरपालिका–७ घर भएकी रूपा मगर र काले भनिने तीर्थ परियारको घटनास्थलमा नै मृत्यु भएको उनले जानकारी दिए ।

बलेरोमा हालसम्म सातजना घाइते र तीन मृतक गरी १० जना सवार रहेको उनले जानकारी दिए । सडकबाट तल खोल्सामा गाडी खसेको र गाडीमुनि मानिस थिचिएको छ कि उनले भने । दुर्घटनास्थलबाट गाडी निकाल्न नसकिएको उनको भनाइ छ ।

सिन्धुलीबाढीबाट तीनपाटन गाउँपालिकाको चकमकेतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ०७५६ नंको सिङ्गलक्याप पिकअप बलेरो दुर्घटना भएको थियो । उकालोमा ब्रेक फेल भएर दुर्घटना भएको आशङ्का प्रहरीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस !