काठमाडौं । नेपाली कांग्रेसबाट बागी उम्मेदवार भएकाहरूले सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाप्रति आक्रोश पोख्नुभएको छ । देउवा पार्टीको नीति, सिद्धान्त र विपीको आदर्शबाट च्युत भएको भन्दै बागी उम्मेदवारले कडा आक्रोश पोखेका हुन ।

यस्तो टिप्पणी गर्नेमध्ये एक हुनुहुन्छ –जगन्नाथ पौडेल । चितवनको भरतपुर महानगरपालिकामा बागी उम्मेदवार बन्नुभएको छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत पौडेलले भन्नुभएको छ, ‘भरतपुर निवासी कांग्रेसीजन हामी सबै विपीको आदर्श र सिद्धान्तमा अडिग छौं । हाम्रो जीत सत्ताका निमित्त सौदाबाजी गर्ने र आफ्नो नीति र सिद्धान्त तिलाञ्जली दिने नेतृत्वको प्रवृत्तिप्रति गतिलो झापड हुनेछ ।’

देउवाले उनलाई पटक पटक बागी उम्मेदवारी फिर्ता लिन दबाब दिनुभएको थियो । गृहमन्त्री बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठलाई सम्झाइ बुझाइसहित आश्वासन दिन पौडेलकै घर चितवन पठाए पनि फकिनु भएन । बागी उम्मेदवारी फिर्ता लिनुभएन । नलिएपछि उहाँलाई शुक्रबार नै कांग्रेसले साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरेको छ ।

देउवाप्रति आक्रोशित हुने अर्का बागी उम्मेदवार हुनुहुन्छ विमल कार्की । पोखरा महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनेका कार्कीले देउवाले कांग्रेसीजनको भावनालाई कदर नगरेर गलत ढंगले निर्वाचनमा तालमेल गरेको बताउनु भएको छ । उहाँले देउवाले गरेको गल्तीको भागिदार नहुने पनि बताउनु भयो । बागी उम्मेदवारी फिर्ता नलिएपछि उहाँ पनि कारबाहीमा पर्नुभएको छ ।

सभापति देउवाले बिहीबार बागी उम्मेदवारी फिर्ता लिन अपिल जारी गर्नुभएको थियो । अपिलमै देउवाले फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिनुभएको थियो । शुक्रबार बिहान पनि पार्टी केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै फिर्ता लिन आग्रह गरेको थियो । धेरै ठाउँमा नलिए पनि प्रमुख दुई महानगरपालिकामा बागी उम्मेदवारी दिएका पौडेल र कार्कीले भने फिर्ता लिनुभएन ।

प्रतिक्रिया दिनुहोस !