चितवन । भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलको उम्मेदवारी कायम हुने भएको छ।

निर्वाचन आयोगले उम्मदेवारी फिर्ता लिन दिएको शुक्रबार साँझ पाँच बजेसम्मको समयमा उनले उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेका हुन्।

पार्टी सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका धेरै नेताहरूको दबाबका बाबजुद् पौडेल आफ्नो अडानलाई यथावत् राखेका हुन्। उनको उम्मेदवारी फिर्ता गर्न गृहमन्त्री बालकृष्ण खाणले करिब ४० घन्टा भरतपुर बसेर कसरत गरेका थिए। उनीसँगै राज्यमन्त्री उमेश श्रेष्ठ पनि पौडेललाई फकाउन देउवाका प्रतिनिधिक‍ो रूपमा खटेका थिए। तर पौडेलले सबै नेतालाई आफू फर्कन नसक्ने अवस्थामा पुगिसकेको जवाफ दिएका थिए।

पूर्व सांसद जगन्नाथ पौडेलले सयौं कांग्रेस कार्यकर्ताको साथमा मूख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गरेका थिए।

उनलाई उम्मेद्वार बन्न पूर्व सभापति कृष्णलाल सापकोटाले प्रस्ताव र महासमिति सदस्य मिना खरेलले समर्थन गरेका थिए।

भरतपुर महानगरको मेयर पद माओवादी केन्द्रलाई दिने निर्णय गठबन्धनमा भएपछि जिल्लाका नेता कार्यकर्ताहरुले विरोध गर्दै आएका छन्। गठबन्धनबाट माओवादीकी रेनु दाहाल भरतपुरको मेयरको उम्मेद्वार बनेकी छन्। उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी उम्मेद्वार छन्।

प्रतिक्रिया दिनुहोस !