चितवन । सुजिता भण्डारीको मृत्युसम्बन्धमा आत्महत्या दुरूत्साहन मुद्दा खेपेका सचिन भनिने सुकदेव भण्डारीले अभियोगबाट सफाइ पाएका छन् । न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले बिहीबार सफाइ हुने फैसला सुनाएको हो ।

राप्ती–३ की २३ वर्षीया सुजिताको आत्महत्या दुरूत्साहनका कारण मृत्यु भएको भनी चितवन प्रहरीमा जाहेरी परेको थियो । घटनाको दोषी आफ्नै ठूलाबुबाको छोरा सचिनलाई बनाई सुजिताकी आमाले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

गत असार २२ गते सुजिताकी आमा अम्बिकाले जिल्ला प्रहरी कार्यालय चितवनमा हत्या भनी नाम किटान नगरी जाहेरी दिएकोमा पछि नामै किटान गरी आत्महत्या दुरूत्साहन गरेको भनी जाहेरी दिएकी हुन् । आत्महत्या दुरूत्साहन मुद्दा लागेका सचिन भण्डारीसँग चितवन अदालतले साउन ३२ गते ५० हजार धरौटी माग गरेको थियो । धरौटी बुझाउन नसकेर उनी कारागार चलान भएका थिए । अहिले पनि उनी भरतपुर कारागारमा रहेको जेलर कमल आचार्यले जानकारी दिए ।

काठमाडौँमा रहँदा बस्दा दाजुबहिनीबीच गहिरो प्रेम सम्बन्ध रहेको र बहिनीले असार ९ गते बिहे गर्न भनेकोमा आफूले हुन्न भनेको सचिनले अदालतमा गरेको बयानमा उल्लेख छ । ‘हामीबीच प्रेम सम्बन्ध हो, तर हाडनाताको सम्बन्धमा बिहे गर्न हुन्न भनेँ, उनले मर्छु भनिन् । मैले जेसुकै गर भनेँ, पछि थाहा भयो, उनी विष सेवन गरेर मरिछन्’, सचिनले बयानमा भनेका छन् । मृतककी दिदीले उनीहरुबीचको प्रेम सम्बन्धबारे परिवारलाई थाहा नभएको बताएकी छन् ।

दिदीको घर जान्छु भनी हिँडेकी सुजिता भण्डारी काठमाडौँ गई केही समय दिदीकोमा बसी सचिनले कोठा खोजी बोलाएपश्चात् दुवैजना सँगै बसेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको थियो । आत्महत्या दुरूत्साहन आरोपमा पारिवारिक नातागोता अर्थात् मृतकको ठूलोबुबाको छोरा झापा जिल्लाका सुकदेव (सचिन) भण्डारीलाई प्रहरीले मुद्दा चलाएको थियो ।

घटनाको पृष्ठभूमि

मलाई कोही अपरिचित मानिसहरुले आँखामा केही छर्की सुँघाई सौराहातर्फ लगेका छन् भनेर असार ११ गते आफ्नो मोबाइलबाट फोन तथा एसएमएस गरी जानकारी गराएकी भन्दै परिवारले अपहरण भएको भनी खोज्न आग्रह गरेका थिए । असार २० गते राप्ती नगरपालिका वडा नं–३ कै ब्रह्मस्थान सामुदायिक वनस्थित आँपगैरी खोल्सामा सुजिताको शव भेटिएको थियो ।

पोस्ट मार्टम रिपोर्टबाट हत्या नभएको भनी तथ्य सार्वजनिक भएपछि भिसेरा परीक्षण गरिएको थियो । स्थानीय र परिवारले अपहरणपश्चात् हत्या भनी केही दिन सडक जाम गरेर आन्दोलन नै गरेका थिए । तत्पश्चात् जिल्ला प्रशासनले दुईदिनसम्म त्यस क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको थियो । प्रहरी र स्थानीयबीच झडप भएको केही राउन्ड अश्रुग्यास प्रहरीले प्रहार गरेको थियो ।

परिवारको आग्रहपछि शिक्षण अस्पताल काठमाडौँ लगेर पोस्ट मार्टम गरिएको थियो । रिपोर्टबाट कारण नखुलेपछि थप कारण पत्ता लगाउन भिसेरा परीक्षण गरिएको थियो ।

रिपोर्टमा उल्लेख भएअनुसार मृत्युको कारणका सम्बन्धमा भण्डारीको मृत्यु विषादीकै सेवनबाट भएको हुन सक्ने प्रबल सम्भावना रहेको हाम्रो राय छ भनी फरेन्सिक मेडिसिन विभागका उपप्राध्यापक डा. गोपालकुमार चौधरीले बताएका थिए ।
आफैँले आफैँमा गराइएका चोटहरु मृतकको शरीरमा भएको, उक्त चोटहरु देब्रे हात तथा दाहिने खुट्टामा रहेको र यी चोटहरु सामान्यतया आत्महत्या गर्ने नियत भएका व्यक्तिमा पाइने चोटहरु हुन् भनी कारणमा खुलाइएको छ ।

घटनास्थलबाट बरामद बोतल परीक्षणका क्रममा भेटिएको विषादी जसको सेवनपछि शरीरमा परिवर्तितरुपमा परिणत भई छोटो समयमा नै विलय हुने र डिकम्पोजिनले समेत शरीरमा भएको विषादीलाई ह्रास गर्ने भएकाले भिसेरा परीक्षणमा विषादी नदेखिएको रिपोर्टमा उल्लेख छ । echitwanpost

प्रतिक्रिया दिनुहोस !